बागलुङ/तिहार भित्रिएपछि बागलुङ बजारमा देउसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा भैलो खेल्न थालेका छन् । देउसाीभैलोले दिउसो देखि राती सम्म बजार गुञ्जेको छ ।
परम्परा, सस्कृति र इतिहास झल्कने गरी नृत्य सहित भैलो खेलिनुपर्नेमा अहिले भने हिन्दी गीत संगीतमा देउसी खेल्ने र नाच्नेहरु बढी छन् । बजार भित्र खेलीएका देउसीमा डाइनामिक डास्स गु्रप, राईजिङ गु्रप, देउराली आमा समूह, नेपाल मगर संघ सहितका विभिन्न संस्थाले पनि भैलो खेलेका छन् । देउराली आमा समूहले मगर संस्कृति सँग मिल्ने पोशाक लगाएका थिए । उनीहरुले सोही प्रकृतिका गीत र पञ्चेबाजा पनि गाएका थिए ।
नेपाल मगर संघले केही सँस्कृतिक गीत संगीत गाइएका थिए । सोरठी लगायतका नृत्य देखाइएको थियो भने बाँकीमा अधिकांस भैलोमा हिन्दी र नेपाली भाषाका भएपनि तिहार भन्दा फरक शैलीका गीत गाएका थिए । नृत्यमा मिक्स गरिएका गीतसंगीत बजाइएको छ ।
प्रशासनले सडक नै ढाक्ने गरी देउसी भैलो नखेल्न आग्रह गरेकोले यो पटक एउटा कुना च्यापेर कार्यक्रम गरेको देखिएको छ । छिटफुट रुपमा सडक नै ढाकेर कार्यक्रम गरिएको छ । छिटफुट गीतमा मौलीक परंपरागत नृत्य पनि देखाइएको छ । तिहारको रुपमा भैलो भट्याउने काम भने अधिकांस समूहले गरेका छैनन् । बरु सिधै गीत गाएर समूहलाई आकर्षित गरेको भने देखिएको थियो ।
तर यी सबै क्रियाकलाप भन्दा बाहिर सबै समूहले पैसा संकलन गर्ने मुल लक्ष्य राखेको देखिएको छ । देउसीभैलोको क्रियाकलाप चलिरहेको समयमा कापीकलम र रसिद बोकेका युवाहरु पसल र सडकमा हिडेका छन् । ,उनीहरुले रकम माग्न थालेपछि पसल गर्नेहरुले दिनभरमा धेरै समूह आउने गरेको बताए । ‘व्यवसाय छैन, रसिद बोकेका साथीहरु आउनु हुन्छ’ ती व्यवसायीले भने, ‘थोरै दिंदा उहाँहरु सन्तुष्ट नभएजस्तो लाग्छ ।’ युवा पुस्ताले चाहे अनुसारको गीत गाएपनि तिहारलाई भने कला र संस्कृतिको पहिचानको रुपमा लिनुपर्ने सुझाव समेत दिएका छन् । रसिद लिएकाहरुले पनि सार्वजनिक काम वा हितको लागि रकम संकलन गरेको भने बोलेका छैनन् ।
मादल, मुजुरा र खैजेरी बजाएर गाउने गीतलाई क्यासेट बजाइएकोमा स्थानीय धेरै सन्तुष्ट छैनन् । ‘परम्परागत गीत र मौलीक बाजा बजाएर नाच्ने हो भने धेरै राम्रो हुन्थ्यो’ बानपा २ की हरिमाया खत्रीले भनिन्, ‘हामीले नबुझ्ने गीत र डेक लगाएर नाच्ने भन्दा बाउबाजेको संस्कार धान्ने गीत गाउन सिकाउने बनाउनुपर्छ ।’ गीत संगीत सिकाउने समूहले पनि मौलीक गीतसंगीतलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।





