बागलुङ/सामान्य ज्ञानमा झोलुंगे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ । तर पछिल्लो एक दशक यता बागलुङमा कति झोलुंगे पुल छन् भन्ने तथ्यांक समेत छैन ।
तथ्यांक नभएको मात्र हैन, कैयौं झोलुंगे पुल मर्मत अभावमा लोप भैसकेका छन् । कतिपय जीर्ण छन् । पछिल्लो समय अग्ला पुल बनाउने चलनले खोलामै झरेर उकालो चढ्नुपर्ने दर्जनौं पुलको अस्तित्वनै मेटिएको हो ।
सडक संजाल बिस्तारपछि बनेका पक्की पुलले पनि झोलुंगे पुलको अस्तित्व मेटाएको हो । सदरमुकाम बागलुङ बजारदेखि तित्याङ जोड्ने अग्लो झोलुंगे पुल बनेपछि यस अघिको पुलको अस्तित्व नै मेटिएको छ । पछिल्लो १० बर्षदेखि यो पुलमा यात्रा गर्ने कोही छैनन् । मर्मत पनि नभएपछि लठ्ठा मात्रै बाँकी छ । खोलामै पुगेर उकालो हिड्नुपर्ने भएपछि उक्त पुलमा कोही जा“दैनन् ।
काठेखोला गाउ“पालिकाको वडा नंं २ र ६ जोड्ने झोलुंगे पुलपनि अस्तित्व विहिन भैसक्यो । लोकमार्गमा पुल बनेपछि झोलुंगे पुलतर्फ जाने बाटो समेत मेटियो । बागलुङकै जैमिनी नगरपालिका वडा नंं १ र २ जोड्ने पुल समेत चल्न छाडेको हो । पछिल्लो समय ती झोलुंगे पुलको तथ्यांक राख्ने काम र संरक्षण दुवै हुन सकेको छैन ।
तत्कालिन गलकोटे राजा भरतबम मल्लले १ सय बर्ष अघि दरमखोलामा झोलुंगे पुल बनाएको इतिहास छ । राजाको अगुवाइमा बनेकोले यो पुलको नाम ‘राजाको पुल’ भनेर चिनिन्छ । गलकोटको हरिचौर जिल्लाको प्रशासनिक केन्द्र पनि भएकोले दरमखोलामा उक्त पुल बनाइएको जानकारहरु बताउँछन् ।
गलकोट नगरपालिका ५ का तुलसी निउरेका अनुसार जनतालाई आउजाउ गराउनकालागि त्यतिबेला बाबियो बाटेर पुल बनाइएको बताए । त्यसपछि बागलुङकै विश्वकर्माले बनाएका सा“ङलाले यो पुल मर्मत गरियो । त्यो पुल जीर्ण भएपछि पुरानै मोडलमा ‘राजाको पुल’ संरक्षण गरेर राखिएको छ । संरक्षण गरिएको त्यही एउटा पुल मात्रै भएको वडा अध्यक्ष पवन हमालले बताए ।
जिल्ला समन्वय समिति र तत्कालिन जिल्ला बिकास समितिको तथ्यांक अनुसार २०७४ अघि बागलुङमा ४ सय ९५ सय वटा झोलुंगे पुल थिए । त्यसपछि बनेका पुलको एकीकृत तथ्यांक छैन । नयाँ पुल बन्दै जाँदा अधिकांस जीर्ण बन्दै गएका छन् । पैदल मार्गहरु पुरिंदै गएको र सडक मार्ग खोल्नेक्रमले पुराना झोलुंगे पुलहरु लोप हुन थालेको अनुगमनको क्रममा भेटेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । कतिपय स्थानमा मर्मत गर्न सुझाव दिएको थापाको भनाइ छ ।
कतिपय पुराना झोलुंगे पुल बागलुङकै राङखानी र खुंखानीका विश्वकर्माले बनाएका सा“ङलाले बनाइएको हो । स्थानीय तहले ती विश्वकर्मा र उत्खनन् गर्ने छन्तयालको खोजी समेत गरेका छैनन् । तमानखोला वडा नंं ५ र ६ जोड्ने पुलले दुवै वडाबासीलाई सहज बनाएको छ । तर यस अघिको साँङ्ले पुल भने लोप भयो । अग्लो पुल बन्दा स्थानीयले बिद्यालय, स्वास्थ्य चौकी र पालिका पुग्ने बाटो छोटो भएको बताए । ‘नर्जाखानीका बालबालिका खुंखानी पुग्न एक घण्टा छोटो भएको छ’ स्थानीय कुलबहादुर छन्तयालले भने, ‘पुल नहुँदा बालबालिका लड्ने, चोटपटक लाग्ने र जगलमा अलपत्र पर्ने समस्या थियो ।’ तर पुरानो संरक्षणमा भने कसैले चासो नराखेको उनको भनाइ छ । गाउ“पालिकाले तीनबर्ष अघि उक्त पुल बनाएको हो । खोला छेउका साना पुलहरु उपयोग बिहिन भएपछि संरक्षण गर्न नसकिएको अध्यक्ष जोकलाल बुढाले बताए ।
काठेखोला, दरमखोला, ठेउले खोला र गौंदीखोलाका अधिकांस पुलपनि जीर्ण भएपछि लठ्ठा मात्रै झुण्डीएको भेटिन्छन् । कतिपय स्थानमा मर्मत नगरेकोले जीर्ण पुलमा स्थानीयले आउजाउ गरिरहेका छन् । मध्यपहाडी लोकमार्गले बागलुङको १ सय ४२ किमी खण्ड चिरेपछि दर्जनौं पुलहरु लोपै भएको बडिगाड ५ का रामप्रसाद घिमिरेले बताए । वडा नं.७ भीमगिठे खोलाको पुल भने पुरानै लठ्ठा संरक्षण गरेर हेर्न लायक बनाएर राखेका छन् । ‘पुरानो कला जोगाउने र नयाँ पुस्तालाई सिकाउने काममा लगानी भएको छैन’ उनले भने ।
दशक देखि कालीगण्डकी नदी, दरमखोला र बडिगाडखोलामा अग्ला र लामा झोलुंगेपुल बनेपछि साना पुलको अस्तित्व मेटिन थालेको हो । बागलुङमै छिमेकी पर्वतको पाङ जोड्ने नेपालकै लामो झोलुंगे पुल बनेर संचालनमा आएको छ । पुराना संरक्षण नभएकोमा भने चासो राखिदिने कोही छैनन् ।





