बागलुङ/उमेरले नौ बर्ष पुगेकी बालिका सृष्टी अहिले मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङ, यमुना कंडेल सहितका अभिभावकले उनको स्याहार गरेर नियमित बिद्यालय पठाउने काम गर्छन् ।
आश्रम संचालक बिपना र पूर्व संचालक सुमिरा लामालाई सृष्टीले आफ्नो अभिभावक सम्झेकी छिन् । शुरुमा हुर्काउने काम गरेकोले लामालाई त सृष्टीले आमा भनेर सम्बोधन गर्छिन् । सडकमा गर्भवती र अर्धचेत अबस्थामा भेटिएकी बंगलादेशी नागरिकलाई आश्रमले उद्दार गरेपछि सृष्टी जन्मेकी थिइन् । नेपाली बोल्न नसक्ने ती महिलालाई आश्रममा मिना नाम दिइएको छ ।
छिटफुट हिन्दी र बंगाली भाषा बुझ्ने उनी यहाँ कसरी आइपुगिन् भन्ने पत्तो छैन । त्यतिमात्र हैन, अहिले सामान्य अबस्थामा पुग्दापनि उनले आफ्नो घरपरिवारको बारेमा बताउन सक्दिनन् । सडकमा अर्धचेत अबस्थामा भेटिएपछि मानवसेवा आश्रमको मेचीमहाकाली यात्राबाट उद्दार गरेर उनलाई आश्रममा राखिएको थियो ।
सृष्टी मात्र हैन यहाँ रहेको मानवसेवा आश्रममा आठजना बालबालिका आश्रित छन् । ६६ जना आश्रित मध्ये अरु बयस्क हुन् । शारिरीक र मानसिक रुपमा स्वस्थ्य रहेकोले आश्रमले विभिन्न श्रोत खोजेर ती सबै बालबालिकालाई पढाएको छ ।
१५ बर्षकी बिनुको नेतृत्वमा सबै बालबालिका बिहान पढ्छन् । पोशाक लगाएर बिद्यालय जान्छन् । फर्केर मिलेर खाजा खानेपनि उनीहरुको दैनिकी जस्तै छ । उनीहरु मध्ये अधिकांसका अभिभावक बारे पत्तो छैन । त्यसैले नामको पछाडि थर नजोडी मानव राखिएको छ ।
७ बर्ष अघि निसीखोला गाउँपालिका २ को देविस्थानबाट आश्रममा आईपुगेकी १५बर्षिय बिनु, उनकी बहिनी १३ बर्षिय कोपिला र दृष्टी बिहिन बाबु नरबहादुर पनि आश्रममा छन् । काठेखोला गाउँपालिका ३ की १७ बर्षिय शोभा बिकपनि आश्रममा हुर्कंदै छिन् । घरपरिवारको हिंसाबाट उनी आश्रम आइपुगेकी थिइन् । पारिवारिक समस्याले फालिएका, घरबार र परिवार बिहिन भएकाहरु यहाँ आइपुगेका छन् । दैनिक बिद्यालय पठाउने काममा बिपना आँफै खटिन्छिन् । आश्रमको काम बिशेषले बाहिर निस्कुनपर्दा तामाङले बालिका उमेरकै भएपनि बिनु र शोभालाई जिम्मेवार बनाएकी छिन् । उनीहरुले सबै बालबालिका संहालेर बिद्यालय पठाउने र आँफू पनि पढ्ने काम गर्छन् । उनीहरु मध्ये अधिकांसका अभिभावक छैनन् ।
आश्रित मध्ये सबैभन्दा धेरैमा मानसिक समस्या, उच्च रक्तचाप र शरिरीक अपांग समेत छ । हरेकलाई दैनिक प्रेसरको औषधी खुवाउनुपर्ने बाध्यता रहेको तामाङले बताइन् । आश्रितलाई दैनिक खाना र औषधी समेत गर्दा ठूलो खर्च निस्कन्छ । ‘मासिक १० लाख खर्चेर आश्रम संचालन भैरहेको छ’ तामाङले भनिन्, ‘सामान्य स्याहार गरेर राख्दा पनि प्रतिव्यक्ति न्युनतम मासिक १५ हजार खर्च हुने गरेको छ ।’ आश्रमले २०८२ साल भित्र नेपाललाई नै सडक मानव रहित बनाउने अभियान चलाएपछि दानमुठीको भरमा आश्रम संचालन गरिएको हो । अहिले सम्म केन्द्रीय कार्यालय हेटौडा सहित २१ जिल्लाका २७ सेवाकेन्द्र मार्पत २ हजारबढीलाई आश्रमले सेवा दिएको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । तीमध्ये २ सयबढी बालबालिका छन् ।
आश्रम चलाउन महायज्ञ
बागलुङ नगरपालिका १ को निरयघाटमा २ सय जना राख्न सकिने गरी आश्रमको भवन निर्माणाधिन छन् । अहिले सम्म ३ करोड खर्च भैसकेको भवन पुरा गर्न थप २ करोड चाहिने भएपछि महायज्ञ मार्फत रकम संकलनको लक्ष्य राखिएको हो । आगामी कात्तिक २१ देखि २८ गते सम्म संचालन गरिने महायज्ञमा १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए । उक्त रकमलाई अक्ष्यकोष बनाएर आश्रमलाई सहज संचालन गर्ने लक्ष्य राखिएको छ ।
सडकमा अलपत्र भेटिने जो कोहीलाई सूचना पाएको ५ घण्टामा उद्दार गरेर आश्रममा ल्याउने व्यवस्था गरिएको अधिकारीले बताए । आगामी चैत मसान्त भित्र देशलाइ नै सडक मानव मुक्त बनाउने लक्ष्य उनले सुनाए । गण्डकी र कर्णाली प्रदेशलाई मुक्त घोषणा गरिसकिएको छ । कात्तिक भित्र लुम्बिनी र बागमती प्रदेशलाई मुक्त बनाउने योजना छ । निर्माणाधिन भवनकालागि स्थानीयले दान दिएका छन् । बागलुङ नगरपालिकाले २ बर्षको बजेटबाट १ करोड रुपैया“ सहयोग गरेको छ ।





