सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

दूध दिइन्जेल खान्छन्, थाकेपछि गोठबाट लखेट्छन

दूध दिइन्जेल खान्छन्, थाकेपछि गोठबाट लखेट्छन

पोखरा महानगपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट पराल र खुराक खरिदको लागि ७ लाख ५० हजार र प्ुष्करिणी परोपकार गोकुलधाम पार्क निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८२, आइतबार

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार ३३ वडामा फैलिएको पोखराको जनसंख्या ५ लाख १३ हजार ४ सय ७ रहेको छ । उपत्यकामा अहिले पनि कृषिमा आश्रित जनसंख्या ५० प्रतिशतको हाराहारीमा छ । गाई र भैंसीपालनको परम्परागत पेशा अपनाउनेहरुको संख्या पनि कम छैन । पोखरा महानगपालिकाले गरेको एक सर्वेक्षण अनुसार ७० वटा गाई र २ सय ७ वटा भैंसी फार्ममा गरी कुल १९ हजार ४ सय ४५ गाई र १४ हजार ५ सय ७ वटा भैंसी रहेका छन् । महानगरले ४ सय ४ जना सक्रिय कृषकलाई उत्पादनको परिणाम अनुसार विशिष्ठदेखि व्यवसाय उन्मुख कृषकको रुपमा वर्गीकरणसमेत गरेको छ । कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार हाल यो संख्या बढेको छ । यो त पोखरामा पशुपालन गर्ने किसानको कुरा भयो !

कसरी आउँछन् सडकमा चौपाय ?
भैंसीमा समस्या छैन । बुढो हुँदा वा थारो रह्यो भने कटाइमा दिन मिल्छ । तर,नेपालको कानुनले गाई काट्न बर्जित गरेको छ । गाई बुढो भयो वा थारो रह्यो भने चाहिँ किसानलाई समस्या ! घाँस–पराल,ढुटो–चोकर खुवाएर थारो र बुढो गाई कसले पालोस् ! दूध दिइञ्जेल घरमै बाँध्ने र दूध दिन छाडेपछि गाईलाई बाटोमा छाड्ने निर्दयी सहरिया किसानहरुको प्रवृत्ति हो । बाच्छीसम्म भोलि ब्याउला भन्ने हुन्छ । जर्सी र होलिस्टिनलगायतका गाईको बहर पनि जोत्न काम लाग्दैन । न जोत्न मिल्ने न पाडोजस्तो कटाइमा दिन मिल्ने ! दूध आफूले खानुप¥यो,बाच्छालाई किन खुवाउने ? त्यसैले निर्दयी पशुपालकहरु बहर जन्मनासाथ बढी दूध खुवाएर (ओभरफिडिङ) मार्ने र वा जन्मनासाथ घाममा लगेर छाड्ने गर्छन् । मनमा ‘हरि’ हुनेहरु पनि बहर हुर्केपछि दाम्लो फुकाएर सडकमै पठाउँछन् । मालिकले माया मारेपछि ती चौपाय सडकमा आइपुग्छन् । प्लाष्टिक र बाटोमा फालिएका कागज र फोहोर खान बाध्य बन्छन् । सडकमा छाडिएका चौपायहरु रातको समयमा ओभानो ठाउँमा बस्न खोज्छन् । सडकको बीच भाग अरुतिरभन्दा ओभानो हुन्छ । रातको समयमा चल्ने सवारीले ती चौपायलाई ठक्कर दिँदा कति ठाउँको ठाउँ ठहरै हुन्छन् भने कति चाहिँ अधकल्चो शरीर लिएर बाँच्न अभिषप्त बन्छन् । यो हरेक सहरमा देखिने दृष्य हो । देशकै समस्या हो । हो,सडकमा छाडिएका गाई र देखिने दुःखद अवस्थाले भागवत्वाचकको परिचय बनाएका स्वामी कमलनयन गौतमलाई पोल्यो । उनको मनमा गौसेवाको भाव पलायो ।

‘पूजा गर्ने गाईको हालत देखेर मन खायो, कतै राखेर सेवा गर्नुपर्छ भन्ने सोच पलायो र यही सोचले गोकुलधाम जन्म्यो,’स्वामी कमलनयनले थपे,‘त्यसमा पोखरा महानगरपालिकाले पनि हामीलाई साथ दियो ।’

करिब ३ वर्षअघिसम्म पोखराको सडकमा गाईको हुल देखिनु सामान्य थियो । सडकमा हिँडेका गाईको बथानसँग ठोक्किएर दुर्घटना पनि उत्तिकै हुने । पर्यटकी नगरीको परिचय पाएको पोखरामा दैनिकजसो हुने दुर्घटना न्यूनीकरण र छाडा चौपाय व्यवस्थापन महानगरको टाउको दुखाइ थियो । महानगरको अगुवाइमा कयौंपटक छाडा चौपाय समातेर नजिकको जंगलमा लगेर छाड्ने काम पनि भयो । तर,अहँ संख्या घटेन । कान्जी हाउसको व्यवस्थाले पनि समस्या टरेन । मेयर धनराज आचार्यले उपाय खोजिरहेका थिए । त्यस्तैमा स्वामी कमलनयनले गोकुलधामको अवधारणा अगाडि ल्याए । महानगरलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।

पोखरा १४ को बाच्छेबुडुवा अघिल्लो वर्षसम्म फोहोर फाल्ने ठाउँ थियो । जापानी सहयोग नियोग जाइकाको सहयोगमा निर्माण भएको ल्याण्डफिल साइट पोखरा एयरपोर्टको संचालनसँगै बन्द हुँदै थियो । सहरभन्दा पर र सेती नदीको किनारमा रहेको सो ठाउँमा कमलनयनले पुष्करिणी गोकुलधाम बसाउने निधो गरे । महानगरले सहयोगको हात अगाडि बढायो । सहरका सडकमा रहेका छाडा चौपायलाई समातेर त्यहीँ पठाउन थालियो ।

‘हामी छाडा चौपायको समस्याले दिक्क थियौँ, हरेक वर्ष सडकमा छाडा गाईगोरु बढ्दै जाने, त्यसकै कारण दुर्घटना हुने समस्या निदान हाम्रो दायित्व थियो नै, हामीले प्रयत्न नगरेको पनि हैन तर गोकुलधाम नै संचालन गर्छु भनेर कोही अगाडि बढेपछि हामीलाई हल्का भयो,’मेयर आचार्यले भने,‘गोकुलधामको स्थापनापछि अहिले पोखराको सडकमा तपाईंले छाडा चौपाय देख्नुहुन्न । भेटिए पनि हामी तत्काल धाममा पठाउँछौँ । अहिले हामीले गरेको काम देशकै नमूनाको रुपमा स्थापित भयो कि भन्ने मलाई लागेको छ ।’ अहिले पुष्करिणी गोकुधाममा कसरी ३ सय २० भन्दा बढी बुढा गाईगोरु र बाच्छाबाच्छी रहेका छन् । त्यत्रा गाईगोरुलाई के खुवाइन्छ ? धाम कसरी संचालन हुन्छ ? हामी यहाँ त्यसको चर्चा गर्दैछौं ।

मेयर आचार्यका अनुसार पोखरा महानगरले चौपाय व्यवस्थापनका निम्ति गोकुलधामलाई भौतिक निर्माण तथा पराल र खुराकमा सघाउँदै आएको छ । पोखरा महानगपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट पराल र खुराक खरिदको लागि ७ लाख ५० हजार र प्ुष्करिणी परोपकार गोकुलधाम पार्क निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसो त, गोकुलधाम संचालनको लागि दाताहरुबाट पनि सहयोग जुटाइएको छ । २०८० सालको पुस २४ देखि माघ ४ गतेसम्म स्वामी कमलनयनकै अगुवाइमा आयोजित महायज्ञबाट करिब ५८ लाख रुपैयाँ संकलन गरिएएको थियो । यदाकदा,दाताहरुबाट पनि गौमाताको सेवाका निम्ति केही रकम प्राप्त हुँदै आएको स्वामी कमलनयनको भनाइ छ । पुष्करिणी परोपकार गोकुलधाम पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा सञ्चालित रहेको पनि स्वामी कमलनयनको भनाइ छ । स्वामी कमलनयन सो महासंघको संस्थापक हुन् ।

स्वामी कमलनयनका अनुसार गोकुलधामका कर्मचारी एवं महानगर प्रहरीहरुले सडकमा छाडिएका छाडा गाईगोरु त्यहाँ पु¥याउँछन् । कतिपयले सिधै त्यहीँ लगेर छाड्छन् । कतिपय दुहुना गाईसमेत सडकमा भेटिन्छन् । गोकुलधाममा ती सबैको व्यवस्थापन गरिन्छ । ससाना बाच्छाबाच्छी दुहुना गाई, रोगी गाईगोरुका लागि अलग अलग राखेर हेरचाह गरिन्छ । उनका अनुसार महानगरपालिकाले पोखरा १४ बाच्छे बुढुवामा विगतको ल्याण्डफिलसाईडसँगै करिव ३५ रोपनी क्षेत्रफल चरन क्षेत्रको रुपमा र १० रोपनी क्षेत्रफलमा तारबारसहित छाना र गाइगोरु बस्ने स्थलको रुपमा विकास गरिएको छ । गौशालामा रहेका चौपायाबाट प्राप्त हुने गोबर र गहुँतलार्ई प्रशोधन गर्ने, गाईको दूधको परिकार बनाउनुका साथै समग्र उक्त क्षेत्रलाई नै एक दर्शनीय पर्यटकीय स्थल बनाउने योजनाको साथ काम भइरहेको उनले बताए । दैनिक १० हजारको हाराहारीमा खर्च हुने धाममा २५ जना कर्मचारी रहेको पनि उनको भनाइ छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार पोखरा महागनरले सडकमा अहिले पनि फाट्टफुट्ट छाडा चौपाया देखिने गरेको र त्यस्तो नहोस् भन्नाका लागि पशु चौपायलाई किसानकहाँ नै पुगेर नम्बर लगाउने तयारी भएको पनि सुनाए ।

‘कतिपय अवस्थामा बाहिरी जिल्लाबाट पनि चौपाय खेदेर पोखरा पठाउने गरिएको पाइयो । सडकमा चौपाय नहोस् भन्नाका खातिर हामीले यहाँका किसानकै घरमा पुगेर त्यसलाई नम्बर लगाउने काम सुरु गरेका छौँ, त्यस्तो अवस्थामा कसको घरबाट कुन चौपाय सडकमा छाडियो भन्ने जानकारी हुन्छ र कारवाहीको दायरमा ल्याउन पनि सकिन्छ भन्ने हाम्रो बुझाइ छ,’उनले भने,‘अहिले चाहिँ सडकमा चौपायकै कारण दुर्घटना भएको सुन्नमा आएको छैन । हामीले चुपचाप गरेको कामले परिणाम दिएको छ, खुुसी यसैमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->