शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जाको गल्याङस्थित शिशुकल्याण माविका तत्कालिन अध्यक्ष, प्रअ र लेखापालबिरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाको गल्याङस्थित शिशुकल्याण माविका तत्कालिन अध्यक्ष, प्रअ र लेखापालबिरुद्ध भ्रष्टाचार मुद्दा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८२, आइतबार

स्याङ्जा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको गल्याङ नगरपालिका–४ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन बनाएर विद्यालयको रकम हिनामिना गरेको आरोपमा ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरुद्ध आरोपपत्र दायर गरेको जनाएको हो ।आयोगमा परेको उजुरीका आधारमा भएको अनुसन्धानबाट तत्कालीन प्रअ लुईटेल, लेखापाल गाहा र अध्यक्ष थापाले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको पाइएको जनाइएको छ । आर्थिक वर्ष ०७८/०७९ मा विद्यालयलाई आइसीटी कार्यक्रमअन्तर्गत प्राप्त भएको ६ लाख ५० हजार रुपैयाँबाट २०७९ असार २३ गते ७ थान डेस्कटप कम्प्युटर, १ थान प्रोजेक्टर, १ थान ल्यापटप र १ थान प्रिन्टर ६ लाख ७४ हजार ४५ रुपैयाँमा खरिद गरिएको थियो ।

खरिद गरिएका सामानमध्ये २ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार पारेको अनुसन्धानबाट खुलेको छ । यसरी २ थान कम्प्युटरबापत १ लाख २३ हजार रुपैयाँ (प्रति थान ६१ हजार ५ सय रुपैयाँ), प्रोजेक्टरको ५८ हजार रुपैयाँ र प्रिन्टरको ३६ हजार रुपैयाँ गरी जम्मा २ लाख १७ हजार रुपैयाँ बराबरको विद्यालयको रकम हिनामिना गरिएको छ । यसका साथै प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६ सय ६७ रुपैयाँ २६ पैसा बराबरको चेक काटी विद्यालयको कोषबाट रकम निकालेको र सो रकम विद्यालयमा फिर्ता नगरी हिनामिना गरेको पनि देखिएको छ ।

कुल ४ लाख ७१ हजार ६ सय ६७ रुपैयाँ २६ पैसा बराबरको रकम हिनामिना तथा हानिनोक्सानी गरेको देखिएकाले उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरूविरुद्ध कानुनबमोजिमको सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->