सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अस्ताउदो सूर्यलाई दिइयो अर्घ (तस्वीरमा छठ)

अस्ताउदो सूर्यलाई दिइयो अर्घ (तस्वीरमा छठ)


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार
ललितपुरस्थित बागमती नदी किनारमा छठ मनाउँदै।

काठमाडौं / छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको हो।

छठ पर्वका अवसरमा देशका विभिन्न स्थानका साथै काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएका छन्। छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
तस्वीरमा छठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->