
पोखरा/भदौ २४ गते कास्की कारागार फोडेर भागेका मध्ये अझै दुई सय दुई कैदी फरार भए । पोखरामा विध्वंस च्याउँदै साँझपख कारागारबाट सबै कैदी फरार भए । फरार मध्ये ६० प्रतिशतभन्दा बढि फिर्ता (पक्राउसहित) भए । २३ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध उत्रिएका जेन जी पुस्ताको आन्दोलनमा राज्यको तर्फबाट बर्बर दमन हुँदा १९ जनाले ज्यान गुमाए । त्यसैको आक्रोशमा भदौ २४ गते जेन जी पुस्ता झन आक्रोशित बने । २४ गते शान्तिपूर्ण आन्दोलनले एकाएक विध्वंस मच्यायो ।
सरकारी कार्यालय, नेताका घर, व्यवसाय मात्र नभइ सुरक्षा निकायकै कार्यालयमाथि समेत प्रहार भयो । आगजानी गरे । सोही क्रममा पोखरामा पनि ठूलो आक्रमण भयो । कास्की प्रहरीको मुख्य कार्यालयसहित वडा, इकाइ र विटहरुमा आगजानी र हतियार लुटपाट भए ।
आन्दोलनका दिन कारागार कार्यालय कास्कीमा सात सय ७३ कैदी थिए । चार सय २० जना कैदी राख्ने क्षमता भएको कास्की कारागारमा पुरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरि दुई वटा र महिलाका लागि छुट्टै ब्लक रहेको छ । त्यहाँ विभिन्न मुद्धाका कैदी थिए । २४ गते राती सबै कैदी फरार भए । अहिले पनि दुई सय दुई जना स्वदेशी र १३ जना विदेशी कैदी फरारको सूचीमा छन् । नेपाली कैदी कोही पक्राउ परिरहेका छन् तर, विदेशी कैदी भने फरार रहेका छन् । फरार मध्ये सबैभन्दा बढि बलात्कार (जबरजस्ती करणी) मुद्धामा सजाय भोगेकाहरु छन् । असोज २८ सम्म फरार मध्ये चार–पाँच जना कैदी अहिले पक्राउ परेका छन् भने १३ विदेशी कैदी अझै फरार छन् । कारागार कार्यालय कास्कीको तथ्यांकअनुसार असोज २८ गतेसम्म कुल दुई सय २१ नेपाली कैदी फरार भएका थिए । यस्तै १३ विदेशी कैदी फरार भएका थिए । २२१ मध्ये ८३ जना कैदी बलात्कार मुद्धाका छन् । यस्तै १३ विदेशी मध्ये १० बलात्कार मुद्धाका छन् ।
बलात्कार र कर्तव्य ज्यान मुद्धाका फरार कैदीका कारण सबैभन्दा बढी डरत्रास फैलिएको छ । अझ बलात्कार मुद्धाले पिडित महिलाहरुलाई थप पिडा थपेको छ । त्यसमा पनि हाडनाता भएको मुद्धाका फरार कैदीका कारण संरक्षणमा रहेका किशोरी तथा बालिकामा मानसिक असर समेत गरेको छ ।
कोपिला नेपालकी कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी विना शिलवालले करणी मुद्धामा महिलामाथि ठूलो मानसिक समस्या आएको अवस्थामा जेन जी आन्दोलनका दिन करणी मुद्धाका फरार कैदीका कारण डर त्रास झन बढेको बताइन् ।
जेन जी आन्दोलन पछि निकै भयावह अवस्था रहेको उनले बताइन । कैदीबन्दी भाग्नु राज्यका लागि नै असुरक्षको अवस्था र नागरिकका लागि डरत्रासको अवस्था हुनु स्वभाविक रहेको र त्यसमा पनि यौन जन्य दुव्र्यवाहार, बलात्कार, हाडनाताका मुद्धाका व्यक्ति छुट्नु भनेको किशोरीका लागि जोखिमपूर्ण अवस्था रहेको सुनाइन् ।
उनले कोपिला नेपालमा संरक्षणमा रहेका बालिकामाथि यौनजन्य दुव्र्यवहार गर्ने पिडकहरु फरार रहेको अवस्थाले पिडित बालिका मात्रै नभइ संरक्षण दिने संस्था नै सुरक्षित नभएको बताइन् । ‘पिडकहरु भागेको अवस्थामा हामी संरक्षण दिने संस्थानै असुरक्षित महसुस गरिरहेको अवस्थामा नानीहरु (पिडित बालिका) झन असुरक्षित भएको महसुस भएको छ’ उनले भनिन् ।
सिलवालका अनुसार केही बालिकाहरुको बुबा जो हाडनाता मुद्धामा सजाय पाएका थिए ति भागेर घर पुगेर अहिले भारततर्फ गएको खबर संस्थाले प्राप्त गरेको छ । पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अन्य घरपरिवार आउने जाने गरिराखेको र सम्पर्क भइराखे पनि अहिले त्यहि गराउन पनि डरलाग्दो अवस्था भएको छ ।
आन्दोलनपछि भागेपछि संरक्षणमा रहेका थुप्रै किशोरीहरुले के हुन्छ भन्दै प्रश्न गरिरहेको उनी सुनाउछिन् । राज्यले यसमा चासो दिएर खोजी गर्नुपर्ने उनको जोड छ ।
जेनजी आनदोलन अघि दुई वटा घटनाले पिडितलाई डिप्रेसनको सिकार बनाएको उनले सुनाइन् । एक पिडितको बुबा धरौटिमा छुटेको र अर्का पिडितको बुबासँग विद्यालय पुगेको अवस्थामा दाईले जेलभित्र फोन सम्पर्क गराइदिदाँ गम्भिर असर गरेको उनले सुनाइन् ।
‘एक जना हाडनाताको धरौटीमा छुट्नुभएको थियो । त्यो छुटेको दिनदेखी ति नानीमा डिप्रेसन, एन्जाइटी र मुटुको धडकन बढ्ने समस्या देखिएको थियो । थुप्रै उपचार गरायौं सुधार आएको छैन् । अर्को मुद्धामा जेलमै भएको अवस्थामा पिडितको आफन्तले स्कुलमा गएर पिडकसँग फोन सम्पर्क गराइदिएछन दाईले’ शिलवालले भनिन्, ‘जेलमा भएको बुबा (पिडक) सँग बोलेपछि यति सिरियस डिप्रेसनमा पुगेको छ की एकदमै रमाइलो गर्नुपर्ने नानी त्यो दिनदेखी बोल्दै बोल्दैन टोलाएर मात्रै बसिरहन्छ त्यो अवस्थाहरु भएको अवस्थामा अहिले भागिसकेपछि त झन बाल मनोविज्ञानमा ठूलो असर पारेको छ ।’
अन्य व्यक्तिबाट हुने यौन दुव्र्यवहारमा डरत्रास अलिक कम हुने गरेपनि हाडनाताबाट हुने दुव्र्यवहार र त्यसमा पनि जेलबाटै भागिसकेपछि त्यहि अवस्था दोहोरिने हो की भन्ने त्रासमा रहेको आफुले प्रत्यक्ष अनुभव गरेको उनले सुनाइन् ।
बलात्कारमध्ये हाडनाताका सात जना फरार छन् । त्यसपछि भने लागुऔषधका ५१ जना रहेका छन् । कर्तव्य ज्यान मुद्धाका ११ र चोरीका २० जना कैदी फरार छन् । यस्तै सहकारी ऐन सम्बन्धि १२, बैंकिङ कसुर सम्बन्धि ६, ठगी ५ चेक अनादारका ५ सहित अन्य मुद्धाका कैदी फरार छन् ।
कारागार कार्यालय कास्कीका सूचना अधिकारी टंकनाथ पौडेलका अनुसार स्वदेशी कैदीहरु केहि समातिएपछि विदेशी कैदी भने फरार रहेका छन् । उनका अनुसार १३ मध्ये २ चिनियाँ र बाकी भारतीय कैदी हुन् । ‘कति कैदी आफै आएका छन् भने कतिलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीको खोज तथा पक्राउ कार्यदलले अनुसन्धान गरिरहेको छ तर, विदेशी कैदी भने भारततर्फ भागेको अनुमान छ’ उनले भने, ‘यहाँबाट सात सय ७३ जना कैदी भागेका थिए । पाँच सय १९ जना फिर्ता भएका छन भने ४९ कैदी अन्य कारागारमा छन् ।’
जेन–जी आन्दोलन अघिसम्म देशभरका कारागारमा ३० हजार ६४६ जना कैदीबन्दी थिए । कारागार व्यवस्था विभागका अनुसार ९ बाल सुधार गृह र २८ कारागारबाट कुल १४ हजार ५५३ जना कैदीबन्दी भागेका थिए । कैदीबन्दी हरू भाग्दै गर्दा कारागारमा तोडफोड र आगजनीका घटना पनि घटाएका थिए । जसबाट ३१ वटा कारागारमा क्षति पुगेको थियो ।
फरार कैदीबन्दी कारागार नफर्किए कारागार ऐन २०७९अनुसार थप कारबाही हुनेछ । त्यसका लागि कारागार व्यवस्था विभागले असोज २० गतेसम्मको समय दिएको थियो । त्यतिबेलासम्म पनि नफर्किए १० वर्षसम्म कैद र एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्थाअनुसार अब नर्फकिएकालाई थप कारवाही हुनेछ ।





