पोखरा / नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
बुधबार दिनभर म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले भट्टचनलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। भट्टचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो (मंगलबार) ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।
सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले जिल्ला अदालतले सीआईबीलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको बताए।
भट्टचनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको लगायतका आरोपमा छन् ।
भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी देशभरका सहकारी संस्थामार्फत विप्रेषण कारोबार गर्दै आएकोमा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को प्रावधान विपरीत कार्य गरेको पाइएको सीआईबीले जनाएको छ ।
विनियमावलीअनुसार कम्पनीले विदेशबाट प्राप्त रकम आफैं वा आफ्ना अधिकृत प्रतिनिधिमार्फत सम्बन्धित लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर भट्टचनको कम्पनीले सहकारी संस्थामार्फत रकम भुक्तानी गराए पनि ती सहकारी संस्थालाई सोधभर्ना नगरी रकम हिनामिना गरेको अनुसन्धानमा खुलेको ब्यूरोको भनाइ छ ।
यस प्रकरणमा देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाबाट उजुरी परेपछि भट्टचनविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि सीआईबीको टोलीले भट्टचनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।
भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरका आधारमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।





