तस्विर : टेका समूह नेपाल
मुस्ताङ/विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन विद्यालय कक्षाकोठाभन्दा बाहिर पुगेर पनि पढ्नु जरुरी छ । मुस्ताङका छ वटा विद्यालयहरुका विद्यार्थीहरुले कक्षाकोठाभन्दा बाहिर पुगेर सिर्जनात्मक गतिविधिबाट हिउँ चितुवा संरक्षणलाई बुझ्ने प्रयत्न गरेका छन् । स्नो लेपर्ड स्काउट्स मनिटरिङ क्याम्पमा विद्यार्थीहरुले यस्तो गतिविधिमा संलग्न भएका हुन् ।
नेपालमा पाइने जंगली बिराला प्रजातिहरु मध्ये सबैभन्दा सुन्दर र आकर्षक मानिन्छ हिउँ चितुवा । नेपालसहित दक्षिण र मध्य एशियाका १२ वटा देशहरुका हिमाली क्षेत्रमा मात्र हिउँ चितुवाको वासस्थान रहेको छ । हिउँ चितुवा यसै कारण पनि दुर्लभ प्रजातिमा पर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्ष सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हिउँ चितुवाको अनुमानित संख्या ३९७ रहेको छ ।
हिउँ चितुवा संरक्षणका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट थुप्रै प्रयासहरु हुँदै आइरहेको छ । ती मध्ये विगत पाँचवर्षदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका विभिन्न पाँचवटा पालिकाहरुमा सञ्चालन हुँदै आइरहेको ‘समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम’ एउटा रहेको छ । सोहि कार्यक्रम अन्तरगत विभिन्न १२ वटा विद्यालयहरुमा कक्षा ६, ७ र ८ मा अध्ययन् गर्ने बालबालिकाहरुका लागि बर्सेनी चित्र र नाटक कार्यशाला सम्पन्न गरिंदै आइएको छ । यी कार्यशालाहरुमा हिउँ चितुवा र समुदायबीच सहअस्तित्वको भावना विकास गराउन, हिउँ चितुवाको वासस्थान संरक्षण, हिउँ चितुवासँग जोडिएको समुदायको आर्थिक उपार्जन, हिउँ चितुवा सरक्षणका विषयलाई सिर्जनात्मक रुपमा अभिव्यक्त गराइन्छ ।
हिउँ चितुवा बन्दै र बनाउँदै
मुस्ताङ ढाकमारका १४ वर्षीय तेन्जिङ पासाङ गुरुङ कक्षा ८ मा पढ्दैछन् । गाउँमा सानैदेखि हिउँ चितुवाका कथा, हिउँ चितुवा बारेका किस्साहरु सुन्दै उनी हुर्किए । उनले आफ्नो विद्यालयमा पढाई भइरहेको हिउँ चितुवा संरक्षण शिक्षा पुस्तकबाट हिउँ चितुवाकाबारेमा पढेका छन् । केही वर्षअघि उनले आफ्नै गाउँमा हिउँ चितुवा देखेका थिए । उनले हिउँ चितुवा गाउँमा कसरी आइपुग्यो भनेर आफ्ना बाआमालाई सोधेका थिए । जसमा उनको बा ले हिउँ चितुवा पानी पिउन आएको होला भनेर बुझाउन खोजे भने आमाले बाटो बिराएर आएको होला भनेर जवाफ दिइन् । हिउँ चितुवा आफ्नै आँखाले देख्दा उनलाई डर लागेन, उल्टै खुसी महसुस गरे । मुस्ताङमा पछिल्लो क्रममा हिउँ चितुवा गाउँमा आउने, गोठमा भेडा, च्याङग्रा खाने क्रम बढेको छ । जसले एकातर्फ समुदाय र हिउँचितुवाबीच द्वन्द्व निम्तने खतरा छ भने अर्को तर्फ लोपोन्मुख वन्यजन्तुमा पर्ने हिउँचितुवाको संरक्षणको आवश्यकता बढेको छ ।
तेन्जिङले यहि घटना विद्यालयका आफ्ना साथीहरुलाई पनि सुनाए । पछि यहि घटनाले उनलाइ हिउँ चितुवा सम्बन्धी नाटक आफ्नो विद्यालयमा देखाउन, हिउँ चितुवाको अभिनय गर्न प्रेरित ग¥यो । मुस्ताङको खिङ्गा, मुक्तिनाथ र थोराङफेदिमा अगष्ट २९ र ३० मा भएको हिउँ चितुवा सम्बन्धी कार्यशालामा तेन्जिङले हिउँ चितुवाको अभिनय गरेका थिए । तेन्जिङ सहित मुस्ताङका ६ वटा विद्यालयहरुका ३० जनाभन्दा बढी विद्यार्थी हिउँ चितुवाको संरक्षणका लागि नाटकमा सहभागी भएका थिए भने १२ जना विद्यार्थीहरुले हिउँ चितुवा, यसको आहारा र वासस्थानका बारेमा चित्रहरु कोरेका थिए । नाटकमा कोही हिउँ चितुवा बने त कोहिले कागज, ढुंगामा हिउँ चितुवा बनाए । रंगकर्मी तथा नाटक प्रशिक्षक राजु खतिवडा भन्छन्, ‘बालबालिकाहरुले टेक्स्ट भन्दा भिज्युअल नै बढि सम्झने गर्छन् । नाटक प्रशिक्षण कार्यशालामा सिकेको पाठहरु हेरेर आफू पनि सहभागी हुनुपर्छ । ‘यस्तो प्रशिक्षणबाट बालबालिकाहरुले यस क्षेत्रमा नाटकको माध्यमबाट हिउँ चितुवा संरक्षणको महत्व बुझ्न पाएका छन् ।’, खतिवडा भन्छन् ।
कक्षा ७ मा अध्यनन् गरिरहेकी मुस्ताङकी लाक्पा गुरुङले आफ्नो घर र समुदायमा हिउँ चितुवाको बारेमा थुप्रै कथाहरु सुनेकी छिन् । हिउँ चितुवालाई प्रत्यक्ष नदेखेपनि उनले हिउँ चितुवाबारे पाठ्य पुस्तकहरुमा पढ्न पाएकी छिन् । चित्रकला कार्यशालामा लाक्पाले ढुंगामा हिउँ चितुवालाई रंगको माध्यमबाट कोरिन् । ‘हाम्रो वातावरणका लागि हिउँ चितुवाको महत्व छ, यसैलाई देखाउन ढुंगामा हिउँ चितुवालाई देखाएकी हुँ’ उनले भनिन् ।मुस्ताङ घरपझोङ गाउँपालिकामा रहेको जनहित माध्यमिक विद्यालयका शिक्षक भेषराज बास्तोलाले चित्र, नाटक जस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरुको मानसपटलमा गहिरोसँग हिउँ चितुवाबारे चेतना बढेको बताए । विद्यार्थीले पढ्ने गरेका संरक्षण शिक्षाबाट नै उनीहरुको व्यवहारमा परिवर्तन भइरहेको सुनाउँदै उनले यस्तो सिर्जनात्मक कार्यले विद्यार्थीहरुको सिकाइका लागि सहयोग हुने सुनाए ।
कला प्रशिक्षक श्वेता कार्कीले बर्सेनी आयोजना हुने हिउँ चितुवा सम्बन्धी कला कार्यशालाले बालबालिकाहरुको हिउँ चितुवा संरक्षणप्रति सकरात्मक प्रभाव पार्दै जाने सुनाइन् । टेका समूह नेपालले नै मुस्ताङमा आयोजना गरेको कला कार्यशालामा बालबालिहरुको कलाप्रतिको उत्साहित भएको बताउँदै कला शिक्षक कार्कीले हिउँचितुवाका बासस्थान, हिउँचितुवा, हाम्रो पर्यावरणमा यसको महत्वबारे बालबालिकालाई सिकाइएको बताइन् । उनले भनिन्, ‘बालबालिका चित्र बनाउन निकै उत्साहित थिए, रंगहरुको माध्यमबाट कागज र ढुंगामा उनीहरुले हिउँचितुवाको आकृतिहरु बनाए ।’
समुदायमा आधारित हिउँचितुवा संरक्षण
नेपालमा हिउँ चितुवाको अस्तित्व रहनु उच्च पहाडी क्षेत्रको स्वस्थ वातावरणको सूचकलाई जनाउनु हो । हिउँ चितुवाको राम्रो उपस्थिति हुनु उसले मारेर खाने नाउर, झारल, घोरल, कस्तूरी मृग, डाँफेलगायतका वन्यजन्तुको पनि राम्रो उपस्थित छ भन्ने बुझ्नुु हो । पर्यावरणका लागि हिउँ चितुवाको महत्व वन्यजन्तु र वनस्पतिसहितका जैविक विविधताको संरक्षण पनि हो । नेपालमा हिउँ चितुवाको संरक्षणको क्षेत्रमा समुदाय र हिउँचितुवा बीचको द्वन्द्व चुनौतीका रुपमा छ । जसका लागि समुदायका लागि पशुधन विमा योजना देखि हिउँ चितुवा बारेको सचेतना जगाउनु आवश्यक छ ।
समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको टेका समूह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारीले समुदाय र हिउँ चितुवाबीचको यही खाडललाई कम गर्ने कार्य बालबालिकाहरूले हिउँ चितुवा संरक्षण शिक्षाका माध्यमबाट गरिरहेको बताए । बालबालिकाहरूले सानै उमेरदेखि नै हिउँ चितुवाबारे बुझे आफ्नो समुदायमा र भोलि आफैंले पनि हिउँ चितुवको संरक्षणमा काम गर्न सक्ने बताए । उनले हिउँ चितुवाको वासस्थानमा नै पुगेर यस्ता कार्यशालाहरुको आयोजना गर्दा बालबालिकाहरूको सिकाइ प्रभावकारी हुनुका साथै हिउँ चितुवाको संरक्षणसम्बन्धी सचेतना पनि पुग्ने बताए ।
मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ को अध्यक्ष कर्मा घ्याच्यो गुरुङले सानै उमेरदेखि नै हिउँ चितुवाबारे बालबालिकालाई चेतना पुगे हिउँ चितुवाको संरक्षणमा ठूलो योगदान पुग्ने सुनाए । उनले भने, ‘पहिलो पटक गत वर्ष मैले हिउँचितुवा गाउँ नजिकै देखे । मुस्ताङमा गाउँ नजिकै नै हिउँचितुवाहरु देखिन थालेका छन् । त्यसैले पनि हाम्रा बालबालिका र समुदायलाई हिउँचितुवाको महत्वबारे बुझाउनु जरुरी छ ।’





