लमजुङ / प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा ढुंगा प्रहार गर्ने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा बेशीसहर-८ बस्ने आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर-१० निवासी योगेश तामाङ रहेका छन्। प्रहरीले उनीहरूलाई हिजो साँझ पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्ने सबै २० वर्ष उमेर आसपासका छन् ।
यस घटनाबारे लमजुङ प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ। उनीहरूलाई छिट्टै सार्वजनिक गरिने लमजुङका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिए ।
राति करिब १२ बजे अध्यक्ष पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहर बजारस्थित घरमा ढुंगा प्रहार भएको थियो। घटनामा घरका झ्यालका सिसा फुटेका छन् । पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका थिए ।
घटनाप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले घोर निन्दा प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। संगठनले लोकतान्त्रिक परिवेशमा पत्रकारका नेता र परिवारमाथि भएको यस्तो आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको धक्का भएको जनाएको छ।
भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित प्रेस चौतारीले जनाएको छ ।





