बागलुङ/तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकम यहाँको एक महिला समूहले मानवसेवा आश्रममा सहयोग गरेको छ ।
बागलुङको विभिन्न स्थानमा घर भइ सदरमुकाम आएर बसेका देउराली आमा समूहले देउसी भैलोबाट संकलित १ लाख ५ सय ५५ रुपैयाँ मानवसेवा आश्रम, बागलुङ शाखालाई हस्तान्तरण गरेका हुन् । समूहकी अध्यक्ष सरिता थापा, उपाध्यक्ष गौरी रोका, सचिव खगीसरा थापा सहितको टोली पुगेर आश्रम संचालक लक्ष्मी बास्कोटा र व्यवस्थापक विपना तामाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
देउसी भैलोमा संकलित रकमबाट केही संस्थागत विकासमा खर्च गरेको र बाँकी रकम सामाजिक कामका लागि दिइएको थापाले जानकारी दिइन् । आश्रममा दैनिक आउने खर्च जोहो गर्न धौधौ भैरहेको बेला समूहले सहयोग गरेको हो । देउसीभैलो खेल्दा समूहले यो संकेत गरेको थिएन । तर रकम संकलन भैसकेपछि समूह उक्त निर्णय गरेको थियो ।
आश्रममा अहिले ९ बालबालिकासहित ६६ जना आश्रित छन् । यहाँ दैनिक खानेबस्ने व्यवस्थापनमा धेरै खर्च आउने गरेको छ । त्यसका लागि दानमुठी संकलन भैरहेको छ । पछिल्लो समय कतिपयले जन्मदिन, विवाह उत्सव लगायतका पर्वमा पनि आश्रमलाई सहयोग गर्ने चलन बसेको छ ।
आश्रम व्यवस्थापनका लागि आगामी साता अर्थात् कात्तिक २१ देखि २८ गतेसम्म आश्रम निर्माणस्थल निरयघाटमा श्रीमदभागवत ज्ञान विज्ञान महायज्ञ संचालन हुँदैछ । १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञका लागि झण्डै ५० लाख बढी रकम सहयोग जुटिसकेको आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले बताइन् ।
संकलित रकमलाई अक्षयकोष बनाएर बढीमा २ सय जनासम्म आश्रितलाई राख्ने तयारी गरिएको छ । नेपाललाई नै सडक मानव मुक्त बनाउने लक्ष्यसहित महायज्ञ थालिएको हो ।
तिहारमा दर्जनबढी संस्थाहरुले देउसीभैलो खेलेका थिए । अन्य संस्थाले संस्थागत हितमा मात्र रकम खर्च गरेका छन् भने देउराली आमा समूहले मात्र यो सहयोग दिएको हो । यो समूहका महिलाले पञ्चेबाजा समेत बजाउने गर्छन् । भैलोमा पनि उनीहरुले मौलिक संस्कृति र पञ्चेबाजा बजाएका थिए । आश्रमको महायज्ञ अघि गरिने कलश यात्रामा पनि उनीहरुले पञ्चेबाजा बजाएर साथ दिने बताएका छन् ।





