गोरखा/ एक साता अघिको भारी हिमपातपछि मनास्लु क्षेत्र घुम्न गएका ३ विदेशी पर्यटक बेपत्ता भएका छन् । यही कात्तिक १ गते चुमनुव्री–१ को पाङबारी पिक आरोहणका लागि पुगेका २ इटालियन नागरिक बेपत्ता छन् ।
प्रहरीका अनुसार पाङबारी पिकमा फसेका ६ मध्ये ४ जनाको आइतबार उद्धार भए पनि २ जना सम्पर्कमा छैनन् । पिक आरोहणका लागि पुगेका इटालियन नागरिक ६७ वर्षीय स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले बताए । उनीहरु कात्तिक १३ गते साँझसम्म कम्पनीसँग सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नरहेको उनले बताए ।
बेपत्ता इटालियन नागरिकको खोजीका लागि सोमबार ३ जनाको पर्वतीय खोज तथा उद्धार टोली पाङबारी पिक जान लागेको छ । उद्धार टोली साम्दोसम्म हेलिकोप्टरमा आएर साम्दोबाट पिकसम्म पैदल जानेछन् । साम्दोबाट पाङबारी पिक झन्डै ५ घण्टाको पैदलयात्रापछि पुगिन्छ । ६८८७ मिटर उचाइको पाङबारी पिकको क्याम्प–१ बाट उनीहरु सम्पर्कविहीन वनेका हुन् ।
त्यस्तै मनास्लु पदमार्गअन्तर्गत चुमनुव्री–३ न्याकफेदीको पहिरोमा परी शुक्रबार बेपत्ता चेक रिपब्लिककी नागरिक ५४ वर्षीय काटेरिना रसकोभाको पनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण लार्केपास गर्न नसकेपछि उनी कात्तिक १२ गते सामागाउँबाट फर्किएकी थिइन् । शुक्रबार हिँड्ने क्रममा ढुङ्गासहितको पहिरोमा परेर उनी बेपत्ता बनेकी हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





