आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मानवसेवा आश्रम धार्मिक र पर्यटकीय क्षेत्रको पुल बन्नेछ : अध्यक्ष ढकाल

मानवसेवा आश्रम धार्मिक र पर्यटकीय क्षेत्रको पुल बन्नेछ : अध्यक्ष ढकाल

श्रीमदभागवत ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कालीगण्डकीको सभ्यताले आश्रम जस्तो मानवसेवामा पनि सबैलाई जोडेको बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

बागलुङ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मानवसेवा आश्रमको निर्माणले बागलुङको धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा थप योगदान पुग्ने बताएका छन् । धार्मिक र पर्यटकीय क्षेत्रको पुलको रुपमा पनि आश्रम स्थापित हुने उनले बताए ।

ढकालले मानवीय रुपमा आश्रमको महत्व एकातर्फ भएपनि आश्रमले आम नागरिकप्रति समेत सहयोगी भावना विकास गर्ने बताए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङमा व्यवसायको संभावना बढाएको र यो क्षेत्रमा मानवीय विकास पनि बढेको उनको धारणा छ । मुक्तिनाथ, दामोदरकुण्डदेखि कालीगण्डकी सभ्यताले मानव सेवा आश्रमलाई पनि जोडेको उनको भनाइ थियो ।

शुक्रबारदेखि शुरु भएको श्रीमदभागवत ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै ढकालले कालीगण्डकीको सभ्यताले आश्रम जस्तो मानवसेवामा पनि सबैलाई जोडेको बताए ।

मानवसेवा आश्रमले निर्माणाधिन भवन पुरा गर्ने र १० करोडको अक्षयकोष बनाउने लक्ष्यले महायज्ञ आयोजना गरेको छ । यो महायज्ञलाई धार्मिक, सामाजिक र मानवीयताको एकतासँग पनि स्थानीयले जोडेर हेरेका छन् । साथै, आश्रम निर्माण गरेर सडक मानवरहित देश बनाउने महाअभियानलाई पनि योगदान पुग्ने विश्वास लिइएको छ ।

१३ वर्षअघि हेटौडाबाट शुरु भएको आश्रमको अभियान अहिले २७ जिल्लामा पुगेको छ । देशलाई नै सडक मानवरहित बनाउने अभियान बोकेका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले महायज्ञमा देखिएको सहभागिताले उत्साह थपेको बताए । उनले सबै नागरिक सभ्य र जिम्मेवार भएमा आश्रमहरु नचाहिने भन्दै घरघरमा आफ्ना आमाबाबुलाई संरक्षण गरेर राख्ने सद्बुद्दि सबैमा आउनुपर्ने पनि बताए । केहीगरी सडकमा आइपुगेका जो–कोहीलाई राज्यले संरक्षण गर्नुपर्ने दायित्व समेत उनले सुझाए ।

कार्यक्रममा जनप्रतिनिधिहरु, समाजसेवी, राजनीतिक दलका अगुवा समेत सहभागि थिए । महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन् । त्यस बाहेक हरेक दिन योग साधना, भजनकृतन र विभिन्न कार्यक्रम समेत संचालन हुने महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए ।

महायज्ञ संचालन पुर्व नै अलिहेसम्म १ करोड बढी रकम बोलकबोल भैसकेको छ । कतिपयले भवनको कोठा बनाइदिने गरी प्रतिवद्दता जनाएका छन् भने कतिपयले नगद सहयोग गरिसकेका छन् । शुक्रबार बिहान धौलागिरि बहुमुखी क्याम्पसबाट शुरु भएको कलस यात्रा निरयघाट पुगेर मुल समारोहमा परिणत भएको थियो ।

कलशयात्रामा धार्मिक संस्था, सामाजिक संस्था, रेडक्रस, लायन्स, रोटरीक्लब, जेसीज, क्याम्पस तथा विद्यालयसहित जातीय धार्मिक समूहले झाकीसहित सहभािग थिए । लाखे, सालैज्यो, भजन लगायतका गीत संगीत, देउराली आमा समूहको पञ्चेबाजाले महायज्ञलाई रौनक थपेको छ । कात्तिक २८ गतेसम्म महायज्ञ संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->