पोखरा/तनहुँकी ४६ वर्षकी फत्त कुमारी गुरुङ माइत बस्न थालेको १४ वर्ष बढि भयो । स्याङ्जा कोल्मा ज्यामिरे विवाह भएर गएकी उनको श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनहुँ १२ शुक्लागण्डकी नगरपालिका १२ जसपुर गाउँ आइन् । अहिले उनी घरधन्दा सँगै बुबा, आमा र दाइको सेवा गर्न व्यस्त छिन् ।
छोरीसँगै माइत आएकी उनको परिवारमा तीन जना विरामी छन् जो हिँड्डुल गर्न समेत सक्दैनन् । १४ वर्षअघि फत्त कुमारीको जीवनमा धेरै बज्रपात आयो । अहिले उनी मर्नु न बाच्नको दोसाँधमा छिन् । फत्त कुमारीको झै दाजु ५२ वर्षका ध्रुब बहादुर गुरुङको पनि पारिवारिक बेमेल भयो । वैदेशिक रोजगारबाट फर्किएर पोखरामा परिवारसँगै बस्दै आएका धु्रुब १४ वर्षअघि अचानक ढलेका थिए । उनको टाउको को नशाको समस्याले ढल्दा काठमाडौंमा उपचारका लागि लगियो एकातिर पारिवारिक बेमेल अर्कातिर अचेत । ध्रुबको उपचारमा उनले कमाएको मात्रै सकिएन घरको जायजेथा सबै सकियो तर, निको भएनन् । घरको आर्थिक अवस्था कमजोर हुन थाल्यो उपचार गराउने स्थिति नभएपछि उनलाई घर ल्याइयो । त्यसको ७ वर्षपछि उनका ७६ वर्षिय बुबा अक्कल बहादुर गुरुङ पनि अचानक ढले । उनीहरु दुबै उच्च रक्तचापका कारण ढलेका थिए । आर्थिक अभावकै कारण अक्कल बहादुरको उपचार गराउन नसक्दा अहिले उनीपनि विस्तारामै छन् ।

त्यसको दुई वर्षपछि आमा खिमकुमारी गुरुङको पनि टाउकोमा रगत जमेका कारण मानसिक रुपमा रोगी भइन् । उनी पनि अब सामान्य छैनन् । घरमा तीन जना शारीरिक र मानसिक रुपले अहिले रोगी हुँदा उनलाई घर धान्नै मुस्किल भएको छ ।
सामाजिक सञ्जाल टिकटकको प्रयोग गरेर उनी कहिले को सँग त कहिले को सँग आर्थिक सहयोग मागिरहेकी हुन्छिन् । आफ्नो परिवारको अवस्था प्रत्यक्ष देखाउँदै उनी सहयोगका लागि अपिल समेत गरिरहन्छिन् ।
जसोतसो घर धानेकी उनलाई श्रीमानले छाडेको भन्दा बढि पीडा परिवारको उपचार गराउन नसकेकोमा छ । विस्तारामै दिशा पिसाब गर्ने अवस्था भएकाले च्वाट्ट छाडेर समेत हिड्न मिलेको छैन् । सुरुमा दाई, त्यसपछि बुबा अनि आमा विरामी परेका कारण घरको अवस्था निकै नाजुक भइसकेको छ ।
‘दाई परिवारसँगै पोखरामा बस्नुहुन्थ्यो । अचानक ढलेपछि न्यूरो अस्पताल लगियो । उपचार गराउँदा हाम्रो केही रहेन । यो घरपनि धितोमा छ । दाई विरामी हुँदा सम्म बुबा आमा ठीक हुनुहुन्थ्यो । अब गाउँठाउँमा यस्तै त हो एउटा आउँछ तेरो छोरा म¥यो लिएर आइज भन्छ अर्को आउँछ के भन्छ त्यस्तै कुरा गर्दा आमा समेत समस्यामा परिन् । समस्या आमालाई पहिला नै थियो हामीले वास्ता नै गरेनौं । दाइको पिरले गर्दा आमालाई झन टाउकोमा असर गरेको छ’ रुँदै फत्त कुमारीले भनिन् ।

बुबा र दाईले ओछ्यान छाड्नै सक्दैनन् । आमा भने अहिले अलिअलि भएपनि हिँड्डुल गर्न सक्ने उनले सुनाइन् । उनका अनुसार बुबा अक्कल बहादुरको उपचार गराउन सके अझै हिँड्डुल गर्न सक्छन् । उनी भन्छिन्, ‘बाबा त राम्रै हुनुहुन्थ्यो मेरो उपाय केही लागेन । आफन्तहरूसँग माग्दा पनि दिएन हस्पिटलमा हुँदाखेरि । त्यत्तिकै लिएर आएको मैले त । औषधि खुवाउने रकम समेत अभाव छ । देश विदेशमा भएका नेपालीहरुको आर्थिक सहयोगले नै चलिरहेको छ ।’
विरामी तिनै जनाको दिमागी हालत ठीक नभएकाले कहिले शान्त बस्ने गरेका छन् भने कहिले झगडामात्र गर्छन् । जसपुर गाउँमा दिनको दुई पटक मात्रै गाडी पुग्छ । विहान बजार झर्ने र बेलुका गाउँ चढ्ने गाडी रहेको छ । उपचारका लागि आर्थिक सहयोग भएमा बुबा र दाइलाई हिँड्डुल गर्न सक्ने बनाउन सकिने उनी सुनाउँछिन् ।





