बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

परिवारका तीन सदस्यको उपचारका लागि सहयोग खोज्दै फत्त कुमारी

परिवारका तीन सदस्यको उपचारका लागि सहयोग खोज्दै फत्त कुमारी

छोरीसँगै माइत आएकी उनको परिवारमा तीन जना विरामी छन् जो हिँड्डुल गर्न समेत सक्दैनन् । १४ वर्षअघि फत्त कुमारीको जीवनमा धेरै बज्रपात आयो । अहिले उनी मर्नु न बाच्नको दोसाँधमा छिन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

पोखरा/तनहुँकी ४६ वर्षकी फत्त कुमारी गुरुङ माइत बस्न थालेको १४ वर्ष बढि भयो । स्याङ्जा कोल्मा ज्यामिरे विवाह भएर गएकी उनको श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनहुँ १२ शुक्लागण्डकी नगरपालिका १२ जसपुर गाउँ आइन् । अहिले उनी घरधन्दा सँगै बुबा, आमा र दाइको सेवा गर्न व्यस्त छिन् ।

छोरीसँगै माइत आएकी उनको परिवारमा तीन जना विरामी छन् जो हिँड्डुल गर्न समेत सक्दैनन् । १४ वर्षअघि फत्त कुमारीको जीवनमा धेरै बज्रपात आयो । अहिले उनी मर्नु न बाच्नको दोसाँधमा छिन् । फत्त कुमारीको झै दाजु ५२ वर्षका ध्रुब बहादुर गुरुङको पनि पारिवारिक बेमेल भयो । वैदेशिक रोजगारबाट फर्किएर पोखरामा परिवारसँगै बस्दै आएका धु्रुब १४ वर्षअघि अचानक ढलेका थिए । उनको टाउको को नशाको समस्याले ढल्दा काठमाडौंमा उपचारका लागि लगियो एकातिर पारिवारिक बेमेल अर्कातिर अचेत । ध्रुबको उपचारमा उनले कमाएको मात्रै सकिएन घरको जायजेथा सबै सकियो तर, निको भएनन् । घरको आर्थिक अवस्था कमजोर हुन थाल्यो उपचार गराउने स्थिति नभएपछि उनलाई घर ल्याइयो । त्यसको ७ वर्षपछि उनका ७६ वर्षिय बुबा अक्कल बहादुर गुरुङ पनि अचानक ढले । उनीहरु दुबै उच्च रक्तचापका कारण ढलेका थिए । आर्थिक अभावकै कारण अक्कल बहादुरको उपचार गराउन नसक्दा अहिले उनीपनि विस्तारामै छन् ।

त्यसको दुई वर्षपछि आमा खिमकुमारी गुरुङको पनि टाउकोमा रगत जमेका कारण मानसिक रुपमा रोगी भइन् । उनी पनि अब सामान्य छैनन् । घरमा तीन जना शारीरिक र मानसिक रुपले अहिले रोगी हुँदा उनलाई घर धान्नै मुस्किल भएको छ ।
सामाजिक सञ्जाल टिकटकको प्रयोग गरेर उनी कहिले को सँग त कहिले को सँग आर्थिक सहयोग मागिरहेकी हुन्छिन् । आफ्नो परिवारको अवस्था प्रत्यक्ष देखाउँदै उनी सहयोगका लागि अपिल समेत गरिरहन्छिन् ।

जसोतसो घर धानेकी उनलाई श्रीमानले छाडेको भन्दा बढि पीडा परिवारको उपचार गराउन नसकेकोमा छ । विस्तारामै दिशा पिसाब गर्ने अवस्था भएकाले च्वाट्ट छाडेर समेत हिड्न मिलेको छैन् । सुरुमा दाई, त्यसपछि बुबा अनि आमा विरामी परेका कारण घरको अवस्था निकै नाजुक भइसकेको छ ।

‘दाई परिवारसँगै पोखरामा बस्नुहुन्थ्यो । अचानक ढलेपछि न्यूरो अस्पताल लगियो । उपचार गराउँदा हाम्रो केही रहेन । यो घरपनि धितोमा छ । दाई विरामी हुँदा सम्म बुबा आमा ठीक हुनुहुन्थ्यो । अब गाउँठाउँमा यस्तै त हो एउटा आउँछ तेरो छोरा म¥यो लिएर आइज भन्छ अर्को आउँछ के भन्छ त्यस्तै कुरा गर्दा आमा समेत समस्यामा परिन् । समस्या आमालाई पहिला नै थियो हामीले वास्ता नै गरेनौं । दाइको पिरले गर्दा आमालाई झन टाउकोमा असर गरेको छ’ रुँदै फत्त कुमारीले भनिन् ।

बुबा र दाईले ओछ्यान छाड्नै सक्दैनन् । आमा भने अहिले अलिअलि भएपनि हिँड्डुल गर्न सक्ने उनले सुनाइन् । उनका अनुसार बुबा अक्कल बहादुरको उपचार गराउन सके अझै हिँड्डुल गर्न सक्छन् । उनी भन्छिन्, ‘बाबा त राम्रै हुनुहुन्थ्यो मेरो उपाय केही लागेन । आफन्तहरूसँग माग्दा पनि दिएन हस्पिटलमा हुँदाखेरि । त्यत्तिकै लिएर आएको मैले त । औषधि खुवाउने रकम समेत अभाव छ । देश विदेशमा भएका नेपालीहरुको आर्थिक सहयोगले नै चलिरहेको छ ।’

विरामी तिनै जनाको दिमागी हालत ठीक नभएकाले कहिले शान्त बस्ने गरेका छन् भने कहिले झगडामात्र गर्छन् । जसपुर गाउँमा दिनको दुई पटक मात्रै गाडी पुग्छ । विहान बजार झर्ने र बेलुका गाउँ चढ्ने गाडी रहेको छ । उपचारका लागि आर्थिक सहयोग भएमा बुबा र दाइलाई हिँड्डुल गर्न सक्ने बनाउन सकिने उनी सुनाउँछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->