पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सबै समक्ष अनुरोध गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अनुरोध गरेका हुन ।
जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा भई संघ सरकारले आवस्यक तयारी गरिरहेको सन्दर्भमा त्यसलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व रहेको उनले बताए । ‘निर्वाचनलाई सफल बनाउने कार्यमा सहयोग गर्नुहुन सबै प्रदेश सांसद, राजनीतिक दल र प्रदेशबासीसमक्ष अनुरोध गर्छु’ उनले भने । नेपाली समाजको विशिष्ट चरित्र सामाजिक एकता र सद्भाव रहेको र यसलाई अझ बलियो बनाउनु सबैको दायित्व रहेको भन्दै उनले युवा पुस्ताको व्यावहारिक आकांक्षा र भावनालाई समेट्दै बैधानिक र लोकतानित्रक बाटोबाट देशम आईपरेको संकटलाई दीर्घकालिन समाधानका लागि सबै एकजुट हुनु परेकोमा जोड दिए । संविधानले अधिकार मात्र नभई कर्तव्यबोध पनि देखाएको र संविधानको सफल कार्यान्वयनले मात्र राजनीतिक स्थायित्व र आर्थिक समृद्धि संभव हुन्छ भन्ने कुरा सबैले आत्मसात् गर्नुपर्ने बताए ।
भदौ २३ गतेको मानवीय क्षतिको पीडामाथि भदौ २४ मा भएको सार्वजनिक सम्पत्ती र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले स्तब्ध र मर्महात बनाएको उनले बताए । संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेश सभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री कार्यालय, अदालत, मन्त्रालय, सरकारी कार्यालय र निवास एवं निजी सम्पत्ती लगायतका संरचनामा भएको क्षति दुखनीय र निन्दनीय रहेको उनले उल्लेख गरे । नागरिकमा डर र त्रास हटाएर शान्त वातावरण र काननु राज्यको प्रत्याभूति दिलाउनु आजको आवस्यकता औल्याउँदै उनले आन्दोलनको नाममा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत राजनीतिक दलका नेतामाथि भएको अमानवीय आक्रमणप्रति खेद प्रकट गरे । फौजदारी घटना, आक्रमण लुटपाट, तोडफोड र चोरी डकैतीको सम्बन्धित निकायले निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कारवाहकिो दायरमा ल्याउन जरुरी रहेको र यो हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
पोखरालाई पर्यटनको राजनधानी घोषणा गरी आन्तरिक तथा बाह्य पर्यंटकसंगै लगानी भित्र्याउने दीर्घकालिन योजनामा आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावारण बिथोलिएको उनको भनाई थियो । हजारौ रोजगारी सिर्जना गरेका, देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दैै आएका निजी क्षेत्रसंग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न गण्डकी सरकार प्रयत्नरत रहेको उनले बताए । ‘यस विषम परिस्थितिमा उच्च मनोवलका साथ अघि बढ्न निजी क्षेत्रका साथीहरुलाई अनुरोध गर्छु’, उनले भने, ‘यो घटनाले हामी राजनीतिक दल र नेतृत्वलाई पनि गहिरो आत्मसमिक्षाको सन्देश दिएको छ । हाम्रो जिम्मेबारी भनेको जनअपेक्षा अनुसार जवाफदेही पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुननिर्माण र स्थायित्वको वाटोमा अघि बढाउनु हो ।’
जेनजी आन्दोलनका क्रममा प्रदेशमा भएको घटना र क्षतिबारे पनि उनले सदनलाई जानकारी गराए । मुख्यमन्त्री पाण्डेका अनुसार ३ को मृत्यु, सुरक्षाकर्मी र आन्दोलनरत पक्ष गरी ७० जना घाइते भएका थिए । कास्की, तनहुँ, नवलपुर पर्वत बागलुङ, म्याग्दी र स्याङजा गरी ७ जिल्लामा १३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको छ । यसैगरी ३६१ दुई पांग्रे सवारी साधनमा आगजनी, ७ वटा तोडफोड, ३ हराएका, १६१ चार पांग्रो सवारी साधनमा आगजनी, ३१ वटामा क्षति पुराइएको उनले बताए । सरकारीतर्फ २ अर्ब र निजी क्षेत्रतर्फ ३ अर्बको क्षति भएको अनुमान गरिएको उनको भनाई थियो । तनहुँमा ३२७ कैदीबन्दी फरार भएकोमा २२० जना, पर्वतमा १९ जनामा १३, म्याग्दीमा ७६ मा ७१ र कास्कीमा ७७१ जना कैदबन्दीमध्ये ४३६ जना फिर्ता आएको उनले सुनाए । कास्कीको सराङकोटस्थित बालसुधार गृहबाट १०९ जना फरार भएकोमा जना अझै फरार रहेको, प्रहरीका केही हतियार लुटिएको र विवरण आउन बाँकी रहेको उनको भनाई थियो ।
प्रदेश सरकारबाट प्रवाह हुने सेवा सूचारु भइसकेको भन्दै उनले पुननिर्माणकाका लागि स्रोत जुटाउन केही समस्या भएको बताए । पुननिर्माणलाई सामान्य क्षति भएकालाई सामान्य मर्मत गरिएको, पूर्ण क्षति नभएकालाई रेट्रोफिटीङको काम भइरहेको र पूर्ण क्षति भएका संरचनालाई सोही अनुसार काम गर्ने गरी तीन चरणमा कार्यान्वयन गर्न लागिएको मुख्यमन्त्री पाण्डेले बताए । चालु खर्च कटौती गरी पुनर्निर्माणका लागि डेढ अर्व ल्याउने व्यवस्था मिलाइएको छ । विभिन्न तहका ३०६ कर्मचारीको दरबन्दी कटौती, ३२ बाट कार्यालय र निकाय मर्ज गरेर १९ मा झारिएको उनले विवरण प्रस्तुत गरे । ‘हामीले सुरु देखिनै युवा पस्ताको माग र भावना अनुसार भ्रष्टाचारको अन्त्य, शुशासन, मितव्ययी, सरल र सहज रुपमा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएका छौ’, उनले भने, ‘आगामी दिनमा व्यवस्थित गर्दै अघि लैजान्छौ ।’ नागरिकको तीब्र बिकासको आकाक्षालाई पुरा गर्न प्रदेश सरकारको सिमिति स्रोत साधनबाट मात्र संभव नरहेको भन्दै उनले यस्तो विषम परिस्थितिमा पनि नीति, कार्यक्रम र बजेटको व्यवस्थित र सफल कार्यान्वयन गराउन सरकार प्रयत्नशील रहेको दावी गरे ।
भदौ २३ र २४ मा भएको आन्दोलनमा ज्यान गुमाउनेप्रति मुख्यमन्त्री पाण्डेले श्रद्धासुमन र पीडित परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरे । आन्दोलनमा भएको घटनाको छानविनका लागि गठन भएको आयोगले निष्पक्ष छानविन गर्ने अपेक्षा उनले गरे । देशमा उत्पन्न पछिल्लो घटनाक्रमका कारण गण्डकी प्रदेश सभा बैठक पनि प्रभावित रहदै आएको थियो । भवन ध्वस्त भएपछि भदौ २५ को बैठक स्थगीत गरिएको थियो र त्यसपछि असोज २२ गतेका लागि तय गरिएको अर्को बैठक पनि सञ्चालन हुन सकेन । पटकपटकको प्रयासपछि कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक गरिएको हो ।





