पोखरा/ गण्डकी प्रदेश सभाका सांसदहरुले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा समवेदना प्रकट गर्दै घाईतेको स्वास्थ्य लाभको कामना पनि उनीहरुले गरे ।
सांसद गणेशमान गुरुङले जेन जी आन्दोलनपछि मुलुकको ‘पोलिटिकल कोर्स चेन्ज’ भएको बताए । हामी कहाँ थियौ र कहाँ आइपुग्यौ भन्दै उनले यस विषयमा सदनमा विशेष समयको व्यवस्था गरी सबै माननियले छलफmल गर्न पाउनु पर्ने माग पनि गरे । अर्का सांसद देवका पहारी त्रिपाठीले उक्त दिनको दुखद घटनामा ठूलो मानवीय र भौतिक क्षति भएकाले मर्महात भएको बताइन् । सुशासन भ्रष्टाचारविरुद्ध र सामाजिक संजाल खुलाउनु पर्ने माग लिएर जेनजीको आव्हानमा भएको सो प्रदर्शनमा लामो समयदेखि देशलाई अस्थिरतामा धकेल्न देशी र विदेशी घुसपैठ भएका कारण यति ठूलो क्षति भएको भन्दै उनले प्रदर्शनलाई हिंसात्मक बनाउने देखि आगजनी र तोडफोड गर्ने कामको छानविन गरी कानूनी कारवाही र लगानीको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।
सांसद नन्दकला दमै नेपालीले अकल्पनीय घटनाले स्तब्ध बनाएको र देशी विदेशी घुसपैठबाट अन्जानमा ज्यान गुमाएको बताइन । पूर्वमन्त्री एवं सांसद फणिन्द्र देवकोटाले कानुन सबैको लागि बराबर भएको बताए । एकथरी २३ गते र अर्कोथरी २४ गतेका घटनामा संलग्नलााई कारवाही गर्नुपर्छ भनिरहेको प्रसंग उल्लेख गर्दै उनले २३ गते ठूला भन्ने नेताहरुको अहमता र घमण्डले दमन र मानवीय क्षति भएको र २४ गते राज्यमाथि घुसपैठ भएर ठूलो क्षति भएको भन्दै यस्तो जघन्य अपराधको छानविन र कारवाही गर्नुपर्ने बताए । सांसद बेदबहादुर गुरुङले सांघातिक आतंककारी हमलाबाट मानवीय र भौतिक क्षति भएको भन्दै यस्तो कार्यमा संलग्नलाई निष्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन माग र असंवैधानिक रुपमा विघठन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरे । सांसद भक्तबहादुर कुँवरले भदौ २३ र २४ का घटनामा सबै माननीयले बोल्ने वातावरण मिलाउन माग गर्दै पोखरा बागलुङ सडक जीर्ण हुदै गएर दुर्घटनाको जोखिम बढाएकाले मर्मतका लागि ध्यानाकर्षण गराए ।
सांसद भीमबहादुर कार्कीले जेन जी आन्दोलनका कारण देश आक्रान्त भएकाले यसको छिटो निकास निकाल्नु पर्ने बताए । भूमी सम्बन्धी समस्या अहिले अन्यौलपूर्ण रहेकाले यसको समाधानमा अहिलेको सररकाले वातावरण मिलाउनु पर्ने बताए । अर्का सांसद रेशमबहादुृुर जुग्जालीले भदौ २३ र २४ को आन्दोलनको सकरात्मक र नकरात्मक विषयमा छलफल गर्ने वातावरण यस सदनमा बनाइयोस भन्ने माग गरे । साथै म्याग्दीको मालिका–४ स्थित ओखरबोट मावि बाढीपहिरोका कारण स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेकाले पठनपाठन हुन नसेकेको भन्दै विपत कोषमार्फत स्थानान्त्तरण गरी पठनपाठनको व्यवस्था मिलाउन मा गरे । यसैगरी सांसद लिलबहादुर थापा मगरले जेनजी आन्दोलनको निष्पक्ष छानविनको माग गरे । प्रदेश र देशकै महत्वपूर्ण रेकर्डहरु ध्वस्त भएकाले प्रदेश स्तरबाट सत्यतथ्य पत्ता लगाउन छानविन गर्नुपर्नेमा जोड दिए । सांसद श्यामराजा महतले जेनजी आन्दोलन सही भए पनि त्यसलाई हाइज्याक गरिएको भन्दै हाइज्याक गर्नेलाई कारवाहीको माग गरे । उनले प्रतिनिधि सभा पुनस्थापना गरेर जेन जीका माग पुरा गर्नुपर्नेमा जोड दिए । यसैगरी सांसद हरिबहादुर भण्डारीले जेन जी आन्दोलनपछि पछि प्रदेश सरकार जनताको घरदैलो र आँगनमा भेटीनु पर्नेमा त्यसतो नभएको बताए । उनले प्रदेश अस्पताल व्यवस्थापन समिति र दक्ष जनशक्तिविहीन भएको बताए । उनले अस्पतालको अवस्था बुझेर व्यवस्थापन समिति गठन गरी सेवा प्रवाहमा सहज गर्नुपर्नेमा जोड दिए । सांसद सुनीता थापाले जेनजी आन्दोलनले गम्भिर रुपमा सोच्न बाध्य पारेको भन्दै विद्रोह विनासका लागि नभई परिवर्तनका लागि उठेको चेतना रहेको बताइन । उनले २४ गतेको आन्दोलन किन हिंसात्मक बन्यो भन्नेतर्फ पनि सोच्नु पर्नेमा जोड दिइन् ।
सांसद सीताकुमारी सुन्दासले बैमौसमी वर्षाका कारण किसानले काटेर राखेको धान भिजेर उम्रिएर ठूलो क्षति भएको भन्दै सरकारले क्षतिपूर्ति दिएर सरकारको अनुभूति दिलाउन माग गरिन । अर्की सांसद सुशिला सिंखडाले पनि बेमौसमी वर्षाले किसानको वर्षभरीको मेहनत जोखिममा परेकाले क्षतिग्रस्त क्षेत्रको अनुगमन र यथार्थ प्रतिवेदन बनाई विना पूर्वाग्रह क्षतिपूर्तिको माग गरिन् । सांसद कल्पना तिवारीले स्याङजाको वालिङ नगर अस्पतालको स्तरोन्नति गर्नुपर्ने बताइन भने, सांसद प्रकाश बरालले लामो समयदेखि नर्सहरु आन्दोलित भएका कारण निजी अस्पतालमा सेवाग्राहीले सेवा नपाएको बताए । सेवाग्रहीले हजार र लाखमा बिल तिर्नुपर्ने, तर नर्सले भने न्यून पारिश्रमिक पाउने भएकाले श्रम शोषण भएको भन्दै उनले यसको समाधान छिटो हुनुपर्नेमा जोड दिए ।





