आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१ सय ३५ फिटको कलस सम्पन्न गर्न ६ महिने महायज्ञ

१ सय ३५ फिटको कलस सम्पन्न गर्न ६ महिने महायज्ञ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

बागलुङ/पञ्चकोटमा निर्माण गरिने १ सय ३५ फिट अग्लो कलस निर्माण अभियान सफल पार्न गत असार २२ गतेदेखि शुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको थियो । महायज्ञको समापन गर्दै कलस निर्माणसहित पञ्चकोटका गतिविधि संचालन गर्न काम थालिने भएको हो ।

बागलुङ नगरपालिका वडा नं. ५ को मालिकामा रहेको गण्डकी गोपाल गोबंश संरक्षण केन्द्रमा उक्त चौमासिक अखण्ड श्रीविष्णु सहश्रनाम पाठ पारायणको महापुर्णहुती तिलक प्रसाद बितरण, महाअभिषेक एवं सम्मान कार्यक्रम समेत गरिएको हो ।

२०७१ सालमा शिलान्यास भइ निर्माण प्रारम्भ भएको यो स्थानमा धेरै मठमन्दिर बनिसकेका छन् । कालीगण्डकी सभ्यताको संरक्षण गर्ने, जलसम्पदाको संरक्षणको प्रतिक स्वरुप कलस निर्माण गर्नेजस्ता काम भैरहेका छन् । राज्यको तर्फबाट आउने बजेटमा पटक पटक कटौती हुँदा धेरै निर्माण आयोजना अलपत्र परेका थिए । स्थानीयले भने पटक पटक दान दिएर यहाँ हरेक वर्ष महायज्ञ संचालन गर्नेदेखि पुर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन् ।

त्यस बाहेक सर्वसिद्दिधाम पञ्चकोट विकास परिषदमार्फत गण्डकी महासभासहित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अगुवाइमै एकै वर्षमा आधादर्जन स्थानमा महायज्ञहरु भैरहेका छन् । जसमध्ये मुक्तिनाथमा मात्रै ६ महिने महायज्ञ एवं पञ्चमहालक्ष्मी मन्दिर भक्तपुरमा बाल्मिकीय रामायण पाठसहित विभिन्न स्थानमा ४ महिनादेखि ६ महिने महायज्ञहरु भैरहेका हुन् । ती महायज्ञहरुको पनि समापन गरेर निर्माण अभियानलाई अगाडि बढाउने परिषदका संस्थापक रहेका कमलनयनाचार्यले बताए ।

उनले पञ्चकोटमा कलस निर्माणसहित गौशाला थप व्यवस्थापन गर्ने, जडिवुटी प्रशोधन केन्द्र निर्माण, मुक्तिनाथ बाबा परिक्रमा चक्रपथ निर्माण सहितको अभियानलाई १ अर्ब २५ करोड खर्च लाग्ने बताए । त्यो रकम राज्यका निकायबाट केही सहयोग जुटाउन सकेमा बाँकी स्थानीयको जोडबलमा निर्माण हुने उनले जानकारी दिए ।

चालु वर्ष पनि ८ करोड रुपैयाँको टेण्डरमा केही निर्माणको काम शुरु भएको उनले बताए । त्यस बाहेक चक्रपथका लागि १ करोड, गौश्वारा जाने सडकका लागि पनि बजेट विनियोजन भएर काम थालिएको उनले बताए । त्यस्तै संचारकोटमा पुरातत्व विभागले अध्ययन थालेको छ । यो अभियान पुरा गरेसंगै उनले नेपालभित्रै कम्तिमा १० लाख स्थानीय प्रजातीका गाई पालन गर्ने लक्ष्य राखेका छन् । त्यसका लागि राज्यले कम्तिमा १० हजार बिगाह जग्गा उपलब्ध गराउनुपर्ने उनले बताए ।

काठमाण्डौंको गौशाला नष्ट गरेर त्रिभूवन विमानस्थल बनाएपछि राज्यले गौशाला कतैपनि नबनाएको उनको भनाइ छ । उनकै अगुवाईमा मालिकामा बनेको गौशालामा ५५ गाई संरक्षित छन् भने पर्वतको धाइरिङमा थप ५८ गाई संरक्षण गरिएको छ । नवलपुरको गजेन्द्रमोक्ष धाममा भने २ सय गाई पालिएका छन् । ती गाई पाल्न स्थानीयले साथ दिएका छन् भने यो अभियानमा खटिएका धेरै ऋषि तथा पंडितले पनि साथ दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->