बागलुङ/मानवसेवा आश्रमको भवन निर्माण र अक्षयकोषका लागि आयोजित श्रीमद्भागत ज्ञानविज्ञान महायज्ञमा बागलुङ नगरपालिका वडा नं. ८ सिगानाबासीले संस्थागत रुपमा सहयोग गरेका छन् । उनीहरुले वडा कार्यालय, वडा भित्रका सामाजिक संस्था र व्यक्तिसमेत एकैपटक आएर दान गरेका हुन् ।
सोमबार आयोजित कार्यक्रममा सिगानाबासीले पञ्चेबाजासहित आएर महायज्ञमा आर्कषण समेत बढाएका थिए । वडा अध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा आएका स्थानीयले महायज्ञमा भजनकृतनसहित आम नागरिकको ध्यान खिचेका छन् । उनीहरुको सहयोगलाई एकीकृत गरेर सोमबार १६ लाख बढी सहयोग जुटेको सिगानास्थित भगवती आधारभूत विद्यालयका अध्यक्ष गोबिन्द प्रसाद गौतमले बताए ।
वडा कार्यालयकोतर्फबाट ५ लाख ११ हजार रुपियाँ सहयोग भएको वडा अध्यक्ष कार्कीले बताए । उनले उक्त रकमलाई आश्रमको एक कोठा निर्माणमा योगदान गर्ने प्रयोजन स्वरुप सहयोग भएको जानकारी दिए ।
त्यस बाहेक बानपा ८ का सिगाना मावि र बौंडेचौर मावि गरी दुई माध्यामिक विद्यालय र तीन प्रावि गरी ५ विद्यालय, दुई सामुदायिक वन उपभोक्ता समिति, सिगानास्थित मातृभूमि सिकाइ केन्द्र र सिगानामा क्रियाशिल १८ वटा आमा समूहले समेत सहयोग गरेका हुन् । आमा समूहले मासिक रुपमा संकलन गर्ने बचतबाट आश्रमलाई सहयोग गरेका हुन् ।
आश्रममा सडकमा अलपत्र भेटिने तथा आश्रयविहिन नागरिक राख्ने भएकोले सहयोगको हात बढाएको स्थानीयबासीले जानकारी दिए । महायज्ञमा १० करोड रकम संकलन गर्ने लक्ष्य छ । महायज्ञ शुरु भएको दुइ दिनमै १ करोड रुपियाँ संकलन भैसकेको छ भने पछिल्ला दिनको हिसाब आउन बाँकी रहेको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।
महायज्ञ कात्तिक २८ गतेसम्म संचालन हुनेछ । महायज्ञमा नियमित कथा प्रवचनसहित भजनकृतन, योग शिविर, विद्यार्थीका लागि उत्प्रेरणात्मक कार्यक्रम समेत संचालनमा छ ।





