सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

चुनावको पक्षमा मुख्यमन्त्री, संसद पुनस्थापनाको मागमा एमाले

चुनावको पक्षमा मुख्यमन्त्री, संसद पुनस्थापनाको मागमा एमाले

यसको अर्थ–सत्तासीन दल कांग्रेस र एमालेले जेनजी प्रदर्शनलाई दुई दृष्टिकोणबाट हेरेको प्रष्ट हुन्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८२, मंगलबार

पोखरा/भदौ २५ गतेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक त्यसको दुई महिनापछि सोमबार बस्यो । नियमित रुपमा चलिरहेको प्रदेशसभाको बैठक भदौ २५ गते बस्नुअघि प्रदेशसभा भवन नै त्यसको एकदिन अगाडि भदौ २४ को जेनजी प्रदर्शनमा ध्वस्त बन्न पुग्यो ।

प्रतिनिधीसभा विघटन भएर निर्वाचनको मिति तोकिसकिएको अवस्थामा प्रदेशसभा र सरकार भने यथावत छन । आगजनीले प्रदेशसभा भवन खरानी बनेपछि सोमबार भूमि व्यवस्था तथा कृषि मन्त्रालयको सभाहलमा कामचलाउ व्यवस्थापन गरि प्रदेशसभा बैठक चल्यो ।

कार्यसूचीमा शून्य समय र मुख्यमन्त्रीको सम्बोधनको अलावा दुई विधेयक पेश भए भने एउटा विधेयक पारित भयो ।

तोकिएको मितिभन्दा दुई महिना पछि बसेको बैठकमा सत्तासीन दुई दलबिच समान विषय भने उठान भएन ।

शून्य समयमा बोल्ने एमालेका प्रदेशसभा सदस्यहरुले जेनजी प्रदर्शनमा देशीविदेशी षड्यन्त्र भएको, आतंककारी कार्य भएको र संसद पुनस्र्थापनाको माग गरे ।

भदौ २३ भन्दापनि २४ को आन्दोलनलाई फोकस गरेका एमाले सांसदले घुसपैठ शब्दलाई बढी जोड दिए । विध्वंसमा संलग्नलाई कारवाहीको माग गरे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गनुर्् अगाडि शून्य समयमा प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले सुशासन भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल खुलाउनुपर्ने माग लिएर जेनजीको आह्वानमा भएको सो प्रदर्शनमा लामो समयदेखि देशलाई अस्थिरतामा धकेल्न देशी र विदेशी घुसपैठ भएका कारण यति ठूलो क्षति भएको बताइन् ।

एमालेकै अर्की सदस्य नन्दकला दमै नेपालीले अकल्पनीय घटनाले स्तब्ध बनाएको र देशी विदेशी घुसपैठबाट अन्जानमा ज्यान गुमाएको बताइन् ।

अर्का प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले सांघातिक आतंककारी हमलाबाट मानवीय र भौतिक क्षति भएको भन्दै यस्तो कार्यमा संलग्नलाई निष्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन माग र असंवैधानिक रुपमा विघठन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरे ।

एमालेले लगातार देशीविदेशी घुसपैठ र संसद पुनसर््थापनाको माग गरिरहँदा कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने उक्त घटनाक्रमले राजनीतिक दल र नेतृत्वलाई आत्मसमीक्षा गर्न सन्देश दिएको बताए ।

यसको अर्थ–सत्तासीन दल कांग्रेस र एमालेले जेनजी प्रदर्शनलाई दुई दृष्टिकोणबाट हेरेको प्रष्ट हुन्छ ।

मुख्यमन्त्री पाण्डेले भने, ‘हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही पारदर्शी, र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र सामाजिक एकता र सद्भाव हो । जसलाई अझै बलियो बनाउनु हम्रो दायित्व हो ।’

उनले दुई दिनको घटनाक्रमको बारेमा प्रदेशभित्र भएका क्षतिको उल्लेख गर्दै तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन प्रदेशसभा सदस्यहरुलाई आग्रह समेत गरे ।

मुख्यमन्त्री पाण्डेले युवापुस्ताको आकांक्षा र भावनालाई समेटेर लोकतान्त्रिक बाटोबाट देशको संकटको समाधान गर्नुपर्नेब बताए ।

‘अहिले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्र्दभमा संविधानतः हुने निर्वाचन प्रक्रियालाई सफल बनाउनु प्रदेश सरकारको पनि दात्यिव हो । यस कार्यमा सहयोग गर्नुहुन प्रदेश सरकारको तर्फबाट प्रदेश सभाका सदस्यज्यूहरु, राजनीतिक दल, नागरिक समाज, युवाहरु लगायत सबै प्रदेशवासीमा अनुरोध गर्दछु,’उनले भने ।

गण्डकीमा ५ अर्बको क्षति, तीन जनाको निधन
मुख्यमन्त्री पाण्डेले प्रदेशसभा बैठकलाई सम्बोधनका क्रममा भदौ २३ र २४ को जेनजी प्रदर्शनमा गण्डकीमा पाँच अर्बको क्षति भएको र तीन जनाले ज्यान गुमाएको तथ्यांक पेश गरे ।

क्षति विवरण पेश गर्नुअघि उनले आन्दोलनका क्रममा जीवन गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदन र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

पछिल्लो घटनाका कारण नागरिकमा उत्पन्न डरत्रास हटाएर शान्त वातावरण र कानुनी राज्यको प्रत्याभूति दिलाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

‘संघीय संसद भवन, सिंहदरवार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेश सभा भवन, प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अदालत, बिभिन्न मन्त्रालय, सरकारी कार्यालय निवास, निजी सम्पत्ति लगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय छ,’ उनले थपे,‘नागरिकमा देखिएको डर त्रास हटाएर शान्त वातावरण र कानूनी राज्यको प्रत्याभूति दिलाउनु आजको आवश्यकता हो ।’

उनले आन्दोलनका नाममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरुमाथि भएको अमानवीय आक्रमण सहित फौजदारी घटना, आक्रमण, लुटपाट, तोडफोड र चोरी डकैतीको छानविन गरि दोषीलाई कारवाहीको माग गरे ।

जेनजी आन्दोलनका क्रममा नीजि क्षेत्रमाथि भएको तोडफोड, आगजनी र लुटपाटका कारण पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दीर्घकालीन योजनामा नोक्सान पुगेको उनले बताए ।

उनले निजी क्षेत्रसँग शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न गण्डकी प्रदेश सरकार सक्रिय रहनेछ र यस विषम परिस्थितिमा उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेश गरेको क्षति विवरण अनुसार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र ३ जनाको ज्यान गयो भने सुरक्षाकर्मी र आन्दोलनरत पक्ष दुबैतर्फ गरी ७० जनाभन्दा बढि घाईते भए ।

कास्की, तनहुँ, नवलपरासी (ब.स.पु), पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा गरि ७ वटा जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको छ ।

गण्डकी प्रदेशभित्र ३६१ वटा दुईपाङ्ग्रे सवारी साधनमा आगजनी भयो भने ७ वटा तोडफोड र ३ वटा हराएको छ । १६१ वटा चारपाङग्रे सवारी साधनमा आगजनी भएको छ भने ३१ वटा तोडफोड भएको छ ।

यसबाट सरकारी भवन र सवारी साधन गरि झण्डै २ अर्ब र नीजि क्षेत्रतर्फ झण्डै ३ अर्बको क्षति भएको छ ।

क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्याङन र स्टिमेटसमेत भएको बताउँदै उनले केही संरचनाको पुन निर्माणकालागि ठेक्का प्रक्रिया समेत आह्वान भएको जानकारी दिए । ठूलो क्षति र यस्ता घटनाको परिकल्पनासमेत नभएको तथा प्रदेश सरकारको चालु वर्षको बजेट समेत आइसकेको सन्र्दभमा पुन निर्माणकालागि स्रोत जुटाउन केही समस्या सिर्जना भएको उनले बताए ।

तर, पनि प्रदेश सरकार मार्फत तत्काल सेवा सुरु गर्नुपर्ने प्रदेशका मन्त्रालय, मातहतका कार्यालय र जिल्ला प्रशासन, अदालत जस्ता नागरिकको सेवामा प्रत्यक्ष सरोकार राख्ने संघीय कार्यालयहरुलाई समेत सेवा सुचारु गर्न आवश्यक सहयोग गर्ने कार्य भइरहेको पनि उनको भनाइ थियो ।

पछिल्लो समय युवापुस्ताको माग र आन्दोलनको भावना अनुसार नै गण्डकी प्रदेश सरकारले आफ्ना नीति कार्यक्रमलाई अघि बढाउँदै आएको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->