पोखरा/कास्की प्रहरीले जेन–जी आन्दोलनको क्रममा लुटिएको चाइनिज पेस्तोलसहित एक नाबालकलाई पक्राउ गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा बगर चौकीमा आगजनी,तोडफोड र लुटपाटमा संलग्न भएको तस्वीर र भिडियोको आधारमा अनुसन्धान गर्ने क्रममा पोखरा ४,गैह्रापाटन डेरा गरी बस्ने १६ वर्षीय नाबालकलाई म्यागाजिन नभएको टाइप २४ पेस्तोलसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार ती बालकको स्थायी घर भने पोखरा ३१ हो । नेपालको कानुन अनुसार नाबालक अपराधमा संलग्न हुँदा परिचय गोप्य राखिन्छ । प्रहरीले पनि ती बालकको परिचय गोप्य राखेको छ भने उनको घरमा को–को छन् र के काममा संलग्न छन् भन्नेबारे थप अनुसन्धान हुँदै गरेको जानकारी दिएको छ । पक्राउ परेका नाबालकलाई आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसूरमा अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको पनि कास्की प्रहरीको भनाइ छ ।
बालबालिकामा नैतिक शिक्षाको अभाव हुँदा उनीहरु अपराधिक गतिविधिमा संलग्न हुँदै आइरहेको बालअधिकारकर्मीहरु बताउछन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेकी अधिकारकर्मी विना सिलवालले बालबालिकाले ‘रोल मोडल’ नपाउँदा नकरात्मक असर गरिरहेको बताइन् ।
बालबालिकाहरु बढी जिज्ञासु र छिट्टै वहकावमा आउने उमेर हुने हुँदा उक्त समयमा उनका लागि रोल मोडलको आवश्यकता पर्ने भए पनि नैतिकता सिक्न तथा आदर्श व्यक्ति नपाएको पनि उनको भनाइ छ । सिनेमाले पनि बालमस्तिष्कमा प्रभाव पारेको हुनसक्ने उनको आँकलन छ ।
‘बाल मनोविज्ञान हेर्दा उनीहरुले रोल मोडल अभिभावक पाएका छैनन् । उनीहरुका लागि आदर्श व्यक्ति पनि छैनन् । घर होस वा विद्यालय जहाँ पनि भ्रष्टाचार, अनियमितताका कुरा सुनिरहेका छन्,’उनले भनिन्,‘बालबालिकालाई सिकाउने अभिभावक नै नैतिक भएका छैनन् । हाम्रो समाजमा अभिभावकले नै उनीहरुलाई आक्रामक बन्न सिकाउने गरेका छन् ।’ बालबालिकाले सामाजिक मूल्य– मान्यता र संस्कार सिक्न नपाउँदा नकरात्मक कुरामा बढी लाग्ने गरेको उनको भनाइ छ । जेन–जी आन्दोलनको क्रममा आफ्ना साथिहरुको मृत्यु र घाइते भएको प्रत्येक्ष वा सामाजिक सञ्जालबाट देखेपछि उनीहरु उग्र भएका हुन् ।
अहिले हरेक बालबालिका सामाजिक सञ्जालको पहँचमा रहेको र सामाजिक सञ्जालमा खालि अनियमितता,भ्रष्टाचारलगायतका कुरा मात्रै आउँदा उनीहरुको बालमनोविज्ञानमै ठूलो असर गरिरहेको बताइन् ।
अर्का बाल अधिकारकर्मी शंकर नेपालीले पनि सकरात्मक कुरा सिक्नुपर्ने उमेरमा नकरात्मक कुरा सिक्दै गएकाले बालबालिकाको मानसिकतामा नकरात्मक प्रभाव परेको बताए । उनले अभिभावक, विद्यालय, समाज र राज्यले आफ्नो दायित्व पूरा नगर्दा अपराधिक गतिविधिमा क्रियाशिल देखिएको बताए ।
‘अहिले सिक्नुपर्ने उमेरमा नकरात्मक कुराहरु सिकिरहेका छन् । उनीहरुको बाल मस्तिस्कमै त्यस्तो असर गरिरहेको छ । यसमा परिवारदेखि राज्यसम्मले आफ्नो दायित्व पूरा गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘हरेक बालबालिका सामाजिक सञ्जालको पहुँचमा छन् त्यसले पनि ठूलो असर गरिरहेको छ । सामाजिक सञ्जालमा नकरात्मक कुरा बढी आउँदा बाल मानसिकमा असर गरेको देख्छौं ।’
यस्तै बाल सुधारगृह सञ्चालन गर्दै आइरहेका कृष्ण श्रेष्ठले पछिल्लो समय हरेक व्यक्ति भाइरल हुने प्रचलन बढ्दा बालबालिकामा त्यसले ठूलो असर गरेको बताए । उनले जेन –जी आनदोलनमा बालबालिकादेखि युवा सबै भाइरल हुने नाममा विवेक गुमाउँदै आपराधिक कार्यमा समेत संलग्न भएको अनुमान लगाए ।





