पोखरा/कास्की प्रहरीले जेन–जी आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोड गरेको आरोपमा थप ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा १० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा, सोही ठाउँका ४८ वर्षीय खली भनेर चिनिने हरिबहादुर थापा, कास्कीको माछापुच्छे« गाउँपालिका ३ का २५ वर्षीय सन्तोष परियार,पोखरा २६ का ४० वर्षीय रमेश थापा र पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यू पाण्डे रहेका छन् ।
उनीहरुविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर थापाले जानकारी दिए । पक्राउ परेकामध्ये चन्द्रबहादुर थापा र अभिमन्यू पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध रहेका थिए । थापा चाहिँ रास्वपा पोखरा १० का सभापति नै थिए । पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसद मनबहादुर गुरुङको घर तोडफोडमा संलग्न भएको भिडियो बाहिरिएपछि रास्वपाले उनलाई कारवाही गरेको थियो ।
पाण्डेमाथि चाहिँ गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री तथा कांग्रेस नेता विन्दुकुमार थापाको घर जलाउन उक्साउने तथा पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाएको आरोप रहेको छ । आफूविरुद्ध मन्त्री थापाले नै किटानी जाहेरी दिएको उनले पक्राउअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । तर, त्यसलगत्तै उनले सो स्टाटस् मेटेका थिए । त्यो स्टाटस्लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अरुण गिरीले शेयर गरेका थिए भने सामाजिक सञ्जालमै पार्टीका केन्द्रीय सदस्य अर्जुन खनाललाई प्रहरीले सोधपुछको लागि भन्दै पक्राउ गरेको पनि लेखेका थिए ।





