पोखरा/चिकित्सकहरुले स्वास्थ्य बीमाका बिरामीलाई महँगो औषधि खरिद गर्न बाध्य पारिएको पोखराका अभियानकर्मीहरुले जिकिर गरेका छन् । पोखराको ‘नीतिगत सुधारकालागि नागरिक अभियान’ (स्ट्यान्ड अप फर पोखरा)ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापनपत्र बुझाउँदै सो जिकिर गरेको हो ।
चिकित्सकहरुले औषधि सिफारिस गर्दा जेनेरिक (सामान्य) नाम प्रयोग नगरि ट्रेड नेम (ब्रान्डको नाम) लेखेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । अभियानका संयोजक गणेशबहादुर थापाको नेतृत्वमा प्रतिष्ठानका निर्देशक प्राडा प्रेमराज पंगेनीलाई बीमाको औषधिको जेनेरिक नाम प्रयोग गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
संयोजक थापाले चिकित्सकले अस्पतालकै फार्मेसीमा औषधि पाउन सकिने भएपनि सोही औषधि बाहिरबाट किन्ने गरी सिफारिस गर्ने गरेको बताए । उनले चिकित्सकले कानून र आचारसंहिताविपरीत कार्य गर्दै आइरहेकोसमेत सुनाए ।
‘चिकित्सक तथा स्वास्थ्यकर्मीले विरामीलाई औषधिको नाम सिफारिस गर्दा औषधि उत्पादन कम्पनी र उनीहरुको प्रतिनिधिको प्रभाव र आर्थिक प्रलोभनमा परि सीमित औषधि कम्पनीका महंगा औषधि मात्रै सिफारिस गर्छन्,’ उनले भने, ‘बजारमा सुलभ मुल्यका उच्च गुणस्तरका समान प्रकृतिका औषधि उलब्ध हुँदाहुँदै पनि त्यहि कम्पनीका औषधि किन्न जोडबल गर्दा विरामीले औषधि रोज्न पाएको स्वतन्त्रता गुमाएका मात्रै छैनन् प्रश्न गरे धम्काउने र तर्साउने पनि गरेका छन् ।’
उनले यसलाई ज्ञापनपत्र बुझाएको र माग मात्रै राखेको सोचेमा आगामी दिनमा चिकित्सकविरुद्ध जाहेरी दर्ता गर्ने चेतावनी दिए । उनले औषधिले एकै काम गर्ने भएतापनि निशुल्क वा सस्तोमा पाउने व्यवस्था हुँदाहुँदै चर्को शुल्क तिर्न बिरामीहरु बाध्य भएका छन् । उनका अनुसार कुनै पनि नागरिकले आफ्नो स्वास्थ्यका लागि सम्झौता नगर्ने हुँदा चिकित्सकहरुले त्यसकैको फाइदा उठाउँदै लुट्ने काम गरिरहेको बताए ।
जेनेरिक नामको सन्दर्भमा जनस्वास्थ्य सेवा ऐन, २०७५ दफा २९ को उपदफा १ मा चिकिन्सक तथा स्वास्थ्यकर्मीहरुले औषधि सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने उल्लेख छ । मेडिकल काउन्सिलको आचार संहिता र व्यावसायिक आचरणमासमेत औषधिको नाम सिफारिस गर्दा क्यापिटल अक्षरमा जेनेरिक नाम लेख्नुपर्ने प्रावधान रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रेमराज पंगेनीले चिकित्सकलाई औषधिको ट्रेड नाम नभइ जेनेरिक नाम नै लेख्नका लागि विभिन्न छलफलमा आग्रह गरेको बताएका छन् । चिकित्सकले औषधिको अमूक ब्रान्डकै नाम लेखेको स्वीकार गर्दै हेर्दा सामान्य भएपनि यसको अन्त्य गर्न सहज नहुने बताए ।
‘हामीले केही समय अघिको छलफलमा पनि जेनेरिक नाम राख्नकै लागि अनुरोध गरेका छौं । त्यो छलफल मात्रै भएको थियो । यसका लागि हामी प्रयास गर्नेछौँ,’ उनले भने । सोही क्रममा बिमाको सिस्टममा समस्या आउँदा विरामीले निकै सास्ती खेप्न बाध्य भएको उनको भनाइ छ । उनका अनुसार अस्पतालले सेवा राम्रो सँग दिएपनि केन्द्रकै बिमाको सर्भर नचलिदिदाँ सेवाग्राहीले दुःख पाउँदै आएका छन् । अस्पतालमा कार्यरत एक कर्मचारीले डाक्टरहरु डाक्टरजस्ता नभएर कुनै औषधि कम्पनीका प्रतिनिधिजस्ता भएको बताए ।
‘औषधि कम्पनीले डाक्टरलाई विदेश घुमाउँछ । घरमा चाहिने फ्रिजदेखि गाडीसम्मै दिन्छ,’उनले भने,‘अनि डाक्टरहरु त्यही कम्पनीको सेल्सम्यान बन्न पुग्छन् ।’





