सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जापानको ओत्सुकीसँग सहकार्य गर्दै पोखरा महानगर

जापानको ओत्सुकीसँग सहकार्य गर्दै पोखरा महानगर

सो समझदारी पत्रमा पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायमप्रति प्रतिबद्ध रहने गरी सहकार्य गर्ने उल्लेख छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८२, बुधबार

पोखरा/पोखराका प्रमुख धनराज आचार्य तथा जापानको ओत्सुकी नगरका प्रमुख काबायसीबीच द्विपक्षीय सहयोग आदान–प्रदानको सहमति जुटेको छ । मंगलबार भएको भेटमा दुई नगरका मेयरबीच अनुभव आदानप्रदानका साथै पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफलसमेत भएको छ ।

सो अवसरमा बोल्दै पोखराका मेयर आचार्यले पोखराजस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान पोखराको विकासका लागि सहयोगी हुने बताए ।

सो अवसरमा ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगरबीचमा भएको पर्वतीय नगर मित्रताको समझदारी पत्र नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए । सो समझदारी पत्रमा पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायमप्रति प्रतिबद्ध रहने गरी सहकार्य गर्ने उल्लेख छ ।

आफूलाई पोखरा निकै सुन्दर लागेको ओत्सुकी नगरका प्रमुख कोबायसीको भनाइ छ । प्राकृतिक रूपमा पोखरा र ओत्सुकीको भूगोल र वातावरणीय पक्ष एकै खालको रहेको उनले बताए । पोखरासँग सम्बन्ध स्थापनाका लागि आफू इच्छुक रहेको पनि उनको भनाइ छ ।

टोलीमा ओत्सुकी नगरका प्रमुख सहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानून विभागका प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल जापान फेन्डसीप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओकाको सहभागिता रहेको थियो ।

पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानून अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपानेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->