पोखरा/जेनजी आन्दोलनका क्रममा आगजनीबाट गण्डकी प्रदेश सभाका सबै संरचना ध्वस्त भए । पोखरा–३ नदिपुरस्थित साविक नगर विकास प्रशिक्षण केन्द्र परिसरभित्र रहेको प्रदेश सभा सचिवालयअन्तर्गत प्रदेश सभा भवन, सचिवालयको प्रशासनिक भवन, प्रदेश सभाका विषयगत समितिका बैठक कक्ष रहेका भवन सबै जलेका छन् । यसैगरी संसदीय दलका कार्यालयहरु, पुस्तकालय भवन, संसदीय पत्रकार मञ्चको कार्यालय, स्वास्थ्य इकाई, प्रहरीहरुको आवास भवन तथा कर्मचारीहरुको आवास भवन समेत जलेर खण्डहर हुन पुगेका छन् ।
प्रदेश सभाको सोही स्थानमा करीव २५ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन बन्दै छ । त्यसैले पनि आगजनीबाट खण्डहर हुन पुगेको प्रदेश सभाका संरचना मर्मत संभार गरिएको छैन । आगजनीबाट बचेको प्रदेश मामिला तथा कानून समितिको एउटा कोठाबाट सचिवालयतर्फको प्रशासनिक काम हुँदै आएको छ । प्रदेश सभा बैठक भने कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा सुरु गरिएको छ । कात्तिक २४ गते सो हलमा प्रदेश सभा बैठक बसिसकेको छ ।
नयाँ भवन बन्न कम्तीमा पनि २ वर्ष लाग्नेछ । त्यो नबन्ने बेलासम्मका लागि प्रदेश सरकारले हालै मात्र खारेज गरेका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भवन प्रदेश सभा बैठक बस्न र सचिवालयको कार्यालयका रुपमा प्रयोग गर्ने भएको छ । प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार हाललाई अस्थायी रुपमा उक्त खारेजीमा परेको निर्देशनालयको संरचना प्रयोग गर्ने निश्चित भएको छ । ‘निर्देशनालयको हलमा प्रदेश सभा बैठक र २ तले भवनमा सचिवालय राखिने भएको छ’, पौडेलले भने, ‘मंसिर १५ गतेभित्र उक्त स्थानमा सर्ने योजनामा छौ ।’ सरकारले खारेज र मर्ज गरेका कार्यालयमध्ये सबैभन्दा उपयुक्त यही निर्देशनालय देखिएको उनले बताए ।
प्रदेश सरकारले प्रशासनिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्दै ९ वटा कार्यालय खारेज ३२ कार्यालयलाई गाभेर १७ मा सिमित र केही कर्मचारीको पद कटौति गर्ने निर्णय अनुसार यो निर्देशनालय पनि खारेजीमा परेको थियो । साउन २६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । प्रदेश सरकराले संघ सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन, अध्ययन तथा सुझाव समिति’ को प्रतिवेदनलाई कार्यान्वयन गर्दै यस्तो निर्णय गरेको थियो ।
सभामुख कृष्णप्रसाद धितालले उक्त निर्देशनालय प्रदेश सभाका लागि अस्थायी रुपमा प्रयोग गर्न दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले समेत निर्णय गरिसकेको बताए । ‘अलिअलि संरचना मिलाए मात्रैै काम चल्ने देखियो’, धितालले भने, ‘अहिलेलाई अस्थायी व्यवस्थापन मात्रै हो । नयाँ भवन बन्न समय लाग्ने भएकाले यो प्रदेश सभाको बाँकी कार्यकाल अव यतै बित्ला जस्तो छ ।’ बैठक सञ्चालनका लागि चाहिने आधारभूत संरचना सबै ध्वस्त भएपछि बिकल्प खोज्नु परेको उनले बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भाडाको घर खोज्नु भन्दा खारेजीमा परेको निर्देशनालय प्रयोगमा ल्याउनु उपयुक्त भएर नै सरकारले निर्देशनालय प्रयोग गर्न खोजेको बताए । ‘मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त भवनप्रदेश सभालाई प्रयोग गर्न दिनु भन्दै मन्त्रालयमा पत्र पनि आएको छ,’ रेग्मीले भने, ‘कृषिको अर्को तालिम केन्द्र पनि रहेकाले हामीलाई कुनै समस्या नहुने भएकाले उपलब्ध गराइनेछ ।’ गत सोमबार बसेको मन्त्रि परिषद्को बैठकले निर्देशनालय दिने निर्णय गरेको थियो । कृषि मन्त्रालयकै हलमा अस्थायी पूर्वाधार बनाएर गत सोमबार प्रदेश सभा बैठक सम्पन्न भयो । आगामी बैठक पनि सोही हलमा बस्नेछ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट गण्डकी प्रदेश सभाको भौतिक संरचना, सवारी साधन, फर्निचर लगायत उपकरण गरी १६ करोड २५ लाख ३० हजार बराबरको क्षति पुगेको छ । आगजनीबाट गण्डकी प्रदेश सभा सचिवालयको दुई तले प्रशासनिक भवन सम्पूर्ण रुपमा जलेको छ । यसैगरी गण्डकी प्रदेश सभाहलको भवन, संसदीय दलका ४ वटा कार्यालय, विषयगत समितिका ३ वटा समिति हल पूर्ण रुपमा नष्ट भएको छ । प्रदेश मामिला तथा कानुन समितिको हल तोडफोड भएको र सामाग्री लुटपाट भएको छ । पुस्तकालय भवन, स्वास्थ्य इकाईको भवन, संसदीय पत्रकार मञ्चको भवन भिवपट्टी सम्पूर्ण रुपमा जलेको र गाहो अनि छाना बाँकी रहेको प्रदेश सभाले जनाएको छ । प्रहरी युनिट रहेका दुई भवन र दुई तल्ले होस्टल भवन सम्पूर्ण रुपमा जलेर नष्ट भएको छ । यसैगरी सभामुख र उपसभामुख निवासमध्ये उपसभामुखको निवासमा सामानहरु जलेर नष्ट भएको, सभामुख निवासमा भवन तोडफोड तथा सामाग्री लुटपाट भएको, सुरक्षाकर्मी बस्ने भवनमा आगजनीभई सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको र भवन तोडफोड भएको छ ।
६ वटा चार पांग्रे, १२ वटा दुई पांग्रे सवारी साधनसबै जलेर नष्ट भएका छन् । सचिवालयमा रहेको डेक्सटप कम्प्युटर ४९ वटा, १९ ल्यापटप, घछ प्रिन्टर, ठूलो फोटोकपि मेशिन २ वटा, डिजिटल क्यामेरा ४ वटा, भिडियो क्यामेरा ५ वटा, टेलिभिजन स्क्रिन ९ वटा लगायतका सम्पूर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको सचिवालयले जनाएको छ । यसैगरी ४४ वटा यसी, ३ स्मार्ट बोर्ड, १ डिजिटल डिस्पले बोर्ड, माइक ७० वटा, अडियो मिक्सर २ वटा, सि.सि. टिभि क्यामेरा, इन्भर्टर लगायतका सम्पूर्ण विद्युतीय सामाग्री पनि नष्ट र चोरी भएका छन् । सबै कार्यालयमा रहेका सम्पूर्ण फर्निचर तथा विद्युतीय सामाग्रीहरु (टेबल, कुर्सि, दराज, पंखा, हिटर, कम्प्युटर, प्रिन्टर, पुस्तकहरु) लगायत सम्पूर्ण सामाग्रीहरु आगजनी तथा लुटपाट भई नष्ट भएको छ । फिक्सड फोन, एम्पलीफायर, सुरक्षासंग सम्बन्धित वाकथ्रु सेट, भेहिकल चेकअप मेशिन, मेटल डिटेक्टर जस्ता सुरक्षा सामाग्री पनि नष्ट भएका छन् । प्रदेश सभा स्थापना भएको आर्थिक वर्ष २०७४\०७५ देखि हालसम्मका सबै अभिलेख समेत जलेका सचिवालयले जनाएको छ ।
कास्कीमा मात्रै आन्दोलनका बेला १ सय २७ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । २ सय १९ वटा दुई पांग्रे र १ सय १० वटा चार पांग्रे गरेर ३ सय २९ सवारीमा क्षति पुगेको विवरण जिल्ला प्रशासन कार्यालय कास्कीले संकलन गरेको छ । जेनजी प्रदर्शनका क्रममा आगलागीबाट सबै भन्दा बढी क्षति हुने कार्यालयमध्ये गण्डकी प्रदेश सभा पनि एक हो ।





