म्याग्दी/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल सिफारिस गरिएको छ । भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन पछि बनेको अन्तरिमसरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै म्याग्दीमा निर्वाचतको तयारी थालिएको हो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनसँगै मतदानस्थल समेत निर्धारण गरी प्रस्ताव गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले म्याग्दीमा ८२ वटा मतदानस्थल सर्वसम्मतिले तोकेर सिफारिस गरेको निर्वाचन अधिकृत विमल गौतमले बताए । ‘निर्वाचनको तयारी सुरू भएको छ, मतदाता संख्याको आधारमा पछि मतदान केन्द्रको संख्या निर्धारण हुने छ’ प्रमुख गौतमले भने । म्याग्दीमा वि.स २०७९ सालमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए ।
प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीका ६स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका एक हजार ६ सय मतदाता घटाएर ८४ हजार पाँच सय २० जना कायम भएको छ । आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली संकलन गरिने छ ।
यस्तैम्याग्दीमा बुधबारसम्म पाँच सय ५४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दैनिक ३० देखि ८० जनासम्म नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । थपिएका मतदातामा पुरूष ३५० र महिला २०४ जना रहेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए । नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत धमाधम आउन थालेको निर्वाचन अधिकृत गौतमको भनाई छ । नयाँ मतदाता नामावली संकलनसँगै हालसम्म २८ मतदाताको त्रुटि सच्चाइएको छ भने ठाँउसारी ४६ जनाको गरिएको छ ।





