काठमाण्डौं/बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र मानवताविरोधी अपराध गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।
बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमवार उनीसहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो । इजलासको अध्यक्षता गरेका न्यायाधीशले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसा सविस्तार पढेर सुनाएका थिए ।
हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । गत साता बीबीसीलाई इमेलमार्फत् पठाएको जबाफमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित क्याङ्गरू कोर्टमा सुनुवाइ भएको भन्दै त्यसलाई नौटङ्कीको सङ्ज्ञा दिएकी थिइन् ।
फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए ।
गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन् । संयुक्त राष्ट्रसङ्घको एउटा अनुमानअनुसार उक्त आन्दोलनका क्रममा १,४०० जनाको मृत्यु भएको थियो ।





