बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पञ्चासेमा छरियो शतबीज (तस्बिरहरु)

पञ्चासेमा छरियो शतबीज (तस्बिरहरु)

उत्तरपट्टि लस्करै उभिएका हिमचुचुरा हेर्दा त्यहाँ पुग्ने जोकोहीलाई शीतल हुन्छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८२, बुधबार

पोखरा/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थलमा रहेको २ हजार ५ सय १७ मिटरसम्मको उचाइँमा रहेको छ पञ्चासे । जैविक विविधता, सांस्कृतिक मौलिकता र प्राकृतिक सौन्दर्यले पञ्चासे निकै धनी छ ।

आँखैसामु देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृंखलाकाे दृश्य यसकाे थप आकर्षण हो । मौसम खुलेको दिन उत्तरपट्टि लस्करै उभिएका यी हिमचुचुरा हेर्दा त्यहाँ पुग्ने जोकोहीलाई शीतल हुन्छ । पञ्चासेको डाँडैमा छ सिद्धबाबा मन्दिर । ढुंगा खोपेर सन्त–महात्माहरूलाई ध्यान बस्न बनाइएको गुफा छ । भ्युटावर छ । बुद्धस्तूपा छ । र, त्यसको केही माथि गुरुङ हिल छ । पञ्चकोसी ताल, जहाँ बाराही मन्दिर पनि छ । ताल वरपर र डाँडामा रहेको सिद्धबाबा मन्दिरमा बालाचतुर्दशीका दिन शतबीज छर्ने मेला लाग्छ । बुधवार पनि यहाँ हजारौ भक्तजन शतबीज छर्न पुगे ।

ताल जंगल बीचमा रहेको छ र मुहान तथा पानीको निकास देखिदैन । यो स्थलमा प्राचीन च्यावन ऋषि र पौराणिक कालमा पाँच पाण्डवले तपस्या गरेको किंवदन्ती सुनिन्छ । पञ्चासेमा दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन । खानबस्नका लागि होटल तथा लज र होमस्टे पनि छन् । पञ्चासेलाई आधार बनाई यहाँबाट पाँच मुख्य खोला बगेका छन् । देश तथा विदेशी पर्यटकका लागि प्रसिद्ध फेवातालको मुहान हर्पनखोला, रती, जहरे, आँधीखोला र सेतीखोला । पञ्चासे क्षेत्र ५ हजार ५ सय ५० हेक्टरमा फैलिएको ठूलो वनक्षेत्रले ढाकिएको छ । पञ्चासे क्षेत्रमा एकसय भन्दा बढी प्रजातिका सुनाखरीलगायत हजारभन्दा बढी प्रकारका जैविक विविधता रहेको बताइन्छ ।

तस्बिरहरु : लालप्रसाद शर्मा

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->