गोरखा/ गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार शिलान्यास गरेका छन् ।
गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो । स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको कूल लागत ७ करोड ५९ लाख ३० हजार रहने पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । उनका अनुसार पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको छ । दुई वर्षमा काम सक्ने गरी यही असार २२ गते सम्झौता भएको हो । पुलको कूल लम्बाई ६० मिटर र चौडाई ८.४० मिटर रहने छ ।
पुल बनेसँगै सो सडकखण्डमा बाह्रै महिना सवारी आवागमन सहज हुने अपेक्षा छ । विशेष गरी शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीय पुलबाट बढी लाभान्वित हुनेछन् । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सहज हुने भन्दै स्थानीय खुशी छन् । पुल शिलन्यासपछि बोल्दै मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताए । कामको प्रगति आधारमा रकम भुक्तानी हुने भन्दै उनले भने, ‘काम समयमै सक्नुपर्यो, बजेटका कारण काम रोकिँदैन ।’





