स्याङ्जा/स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानमा सचेतनाका विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको हो ।
अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले लैङ्गिक हिंसा अन्त्यको लागि सबै तह र क्षेत्रको एकिकृत प्रयास आवश्यक रहेको बताए । उनले समाजमा सचेतनासँगै कानूनी उपचारबाट लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने बताए ।
अभियानमा अनलाइन माध्यमबाट “लैङ्गिक हिंसा र यसको अन्त्य” शिर्षकमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु बीच कविता प्रतियोगिता, सामाजिक नारी आवाजको दोस्रो अंक प्रकाशन, गायन र पञ्चेबाजाको संगीतमार्फत महिला अधिकारको लागि महिलाबीच पञ्चेबाजा प्रतियोगिता, सचेतना भिडियो प्रदर्शन, विद्यार्थीलाई इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग जस्ता विभिन्न १६ वटा कार्यक्रम गर्न लागिएको एकिकृत सेवा कार्यालय स्याङ्जा प्रमुख जीवन पौडेलले जानकारी दिए ।
समाजमा हिंसाका घटना धेरै भएता पनि बाहिर उजागर हुन नकस्दा महिलाहरु पीडित बनेको जिल्ला अस्पताल एकद्धार संकट व्यवस्थापन प्रणाली प्रमुख गीता न्यौपानेले बताइन् । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको ऐक्यबद्धताको लागि हस्ताक्षर अभियान पनि गरिएको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिला माथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिला माथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।





