बागलुङ/भर्खर १८ बर्षको अल्लारे युवा । बागलुङदेखि महेन्द्रनगरमा रहेका काका भेट्न जानुपर्ने काम थियो । २०४७ सालको कुरा हो, कागजमा लेखिदिएको ठेगानाको भरमा उनी भारतको बाटो नेपालगञ्ज हुँदै महेन्द्रनगर जान निस्केका थिए ।
घरबाट हिंडेको एकसातापछि नेपालगञ्ज पुग्दा उनी लुटपाटमा परे । भएको सबै पैसा चोरी भएपछि उनी बेखर्ची भए । खान पनि पाएनन् । भोकभोकै परेकोले मागेर खानुपर्ने बाध्यता भयो । उनको साथमा भएको पैसा सबै चोरले लुटेर लगे ।
उनको हातमा रहेको सीप भने लुटिएको थिएन । त्यही सीपले उनलाई बिरानो ठाउँमा बचायो । भित्तेलेखन र क्यानभास जानेकोले बिरानो ठाउँमा पनि काम गरेर आफ्नो परिचय दिए । त्यसले उनलाई गन्तव्यमा पनि पु¥यायो, लुटिएको पैसा पनि फिर्ता आयो । बागलुङ नगरपालिका वडा नं. ३ स्थित हल्लनचोकका ५४ बर्षिय राजु बोहोराको यो कथा धेरै लामो छ ।
बेखर्ची भएको बेला राजुले पैसाका लागि काम खोजे पाएनन् । काम नपाएपछि हार्डवेयर पसलको भित्ते लेखन गरिदिएपछि मात्रै नेपालगञ्जका व्यपारीले उनलाई पत्याए । त्यतिबेला भित्तेलेखन गर्ने मानिस अभावमा त्यहाँका पसलले बोर्ड राख्न पाएका थिएनन् । राजुले आर्कषक बोर्ड र प्रचार सामाग्री बनाइदिए । साहुले खुसी भएर खानेबस्ने खर्च बाहेक ३ हजार ५ सय नगद दिएपछि उनी गन्तव्यमा पुग्न सफल भएका थिए ।
बागलुङ बजारको हल्लनचोकमा रहेको छाप्रोमा बोर्ड लेख्दै उनले आफ्नो जीवनका कथाहरु पोख्न थाले । ‘म सँग सीप नभएको भए धेरै पटक भोकै मर्ने थिएँ’ उनले भने, ‘हातमा सीप नभएसम्म घरबाट ननिस्कनु ।’ यो अर्ति उनले छोराछोरी देखि छिमेकीलाईपनि दिने गरेका छन् ।
त्यसी सीपको कारण उनी हरेक दिन काममा व्यस्त बन्न पाएका छन् । बिहान उठ्न नपाउँदै सरकारी कार्यालयदेखि व्यक्ति र व्यवसायीका फोन आउन थाल्छन् । हतार हतार आएर पसल खोल्छन् । त्यसपछि शुरु हुन्छ उनको कुचि र रंगको दैनिकी ।
बोहोरा दैनिक १६ घण्टा सम्म काम गर्छन् । कुची र रंग समातेपछि उनले खाना खाने समय पनि बिर्सन्छन् । लगातार काम गरेर सकेपछि मात्रै आराम गर्छन् । कहिले त रंगको बाल्टी बोकेर फिल्डमा जानुपर्ने काम आइलाग्छ । धेरैजसो घरमै बसेर गर्छन् । कतिपय काममा बाँस बोकेर भ¥याङ बनाउन पनि जान्नुपर्छ । जोखिम मोलेर रंग लगाइसक्दा उनी आनन्द मान्छन् । सरकारी कार्यालयको बोर्ड लेखन, भित्तेलेखन र बिद्यालयको शैक्षिक सामाग्रीको लेखन सहज काम हो । प्रवेशद्वार, भीरपहरामा लेखन र अग्ला भगनमा रंग लगाउने र चित्र बनाउने काम जटिल हुन्छ ।
त्यस बाहेक तस्बिरमा फ्रेम बनाउने, क्यानभासमा चित्र उतार्ने, प्रोटेट र ल्याण्डस्केप दुवैमा उनी उत्तिकै दक्षता राख्छन् । दक्षता मात्र हैन, उनले दुवै क्षेत्रमा मेहेनत गरेर कलाबाटै जीवन पनि चलाएका छन् । रंग र कुचीकै काममा उनी निरन्तर लागिरहेका छन् । पोखरा स्थित ‘फिस्टेल ड्रिमपार्क’ पनि उनैले लेखेका हुन् । जुन बोर्ड हवाइजहाजबाट मात्र देखिन्छ । जहाँ एउटा अक्षर लेख्न ४ लीटर इनामेल खर्च भएको थियो ।
हल्लनचोकको ‘बिबि आर्टस्’मा भेटिने ५३ बर्षिय राजु बोहरा जिल्लाको उत्कृष्ट र सबैभन्दा धेरै मानिसले रुचाएका चित्रकार हुन् । जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालय मात्र नभइ गाउँगाउँमा रहेका हुलाक, गाउँपालिका, नगरपालिकाका बोर्डदेखि स्वास्थ्यचौकी, प्रहरी चौकी र इलाका प्रशासनमा पनि उनकै खोजी हुन्छ । जिल्लाका ८० प्रतिशत सरकारी कार्यालयले उनको खोजी गर्छन् । ‘जिल्ला समन्वय समिति, स्थानीय तह, विद्यालय, स्वास्थ्यचौकी र हुलाक लगायतको काम त मलाई नै आउने गरेको छ’ उनले भने, ‘जाँगर छउन्जेल हात खाली राख्नुपरेको छैन ।’ हातको सीप छउन्जेल भोकै मर्न पनि नपर्ने उनले बताए ।
उनले बोर्ड लेखन गर्दा २ हजार १ सयदेखि १५ हजार सम्मको बनाएको बताए । घर र पर्खाल रंग्याउने र चित्र बनाउने काममा भने वर्गफीट र चित्रको संख्याको आधारमा मूल्यांकन गरिन्छ । कतिपयले तोकिएको बजेटमा काम गर्न लगाउँछन् । तर राजुले मेहेनतको मूल्य पाउने अवस्था भए जस्तो काम पनि आँट्ने गरेका छन् ।
बाबुको योगदान र जोखिम मोलेर पनि काम गरेकोले उनको नाम चलेको छ । बाबु बलबहादुर बोहोरा शिक्षक र व्यानरमा अक्षर लेख्ने काम गर्थे । पर्वतको फलेवास घर भएपनि राजुका बाबु बलबहादुर बागलुङ सदरमुकाम स्थित कालीका कन्या माबिमा पढाउने शिक्षक थिए । हजुरबुबा सर्बजीत खानेपानीको प्लम्बर काम गर्थे । दुवैजनाले भित्ते लेखन जानेका थिए । बलबहादुरको पेशा शिक्षणमा मात्र सिमित थिएन । बिहान बेलुकी जिल्लाका बिद्यालयको बोर्ड लेख्ने काम गर्थे । त्यसको नाम थियो ‘बिबि आर्टस्’ । बाबुले गरेको काम देखेर राजुले बच्चा उमेरमा पनि रंग र कुचीमै खेल्थे । सानै देखि लागेको बानी भएर होला, उनले जीवनमा कुचीलाइ बिर्सन सकेनन् ।
उनले नै छोरा राजुलाई यो काम सिकाए । बाबुले बाल्यकालमा सिकाएको सीपले भोकाउँदा खान दिएको छ । बाटो खर्च नभएर अलपत्र पर्दा सहायता मिलेको छ । रंग लगाउने काम पाएकै कारण राजा महाराजाको सवारीमा पनि उनले रोजगारी पाएको बताए । जुन सहर घुम्न गए त्यहीं बसेर उनले आर्ट गरेको स्मरण गर्छन् ।
बाबुबाट सिकेको सीप भएकोले उनले अहिले पनि बाबुको नाउँमा स्थापित ‘बिबि आर्टस्’लाई आफ्नो पेशा बनाएका छन् । शुरुमा व्यानर लेखनबाट उदाएका राजु अहिले सबैखालको लेखनमा दक्ष छन् । उनले लेखनमा नजानेको केही छैन । लेखन मात्र हैन, हलुका सवारीदेखि हेवी सवारी साधन पनि उनले चलाउने गर्छन् । काष्ठकला पनि जानेका छन् । साना टुक्रा जोडेर आर्कषक घर लगायतका आर्कषक सामाग्री पनि बनाएर बेच्छन् ।
जोखिम मोलेर उनले ७ तले घरको भित्तामा डोरीमा झुण्डीएर काम गर्छन् । झुण्डीएर काम गर्दा उल्लो लेखन पनि गर्न जानेका छन् । ‘अरुले सुल्टो मात्र काम जानेका छन् मैले डोरीमा झुण्डीएर उल्टोबाट पनि चित्र कोर्न सक्छु’ बोहोराले भने, ‘काम जानेपछि सजिलै लाग्न थालेको छ ।’ झुण्डीएर गर्ने काम जोखिमको भने हुने उनले बताए ।
गलकोट नगरपालिकाको स्वागतद्वार बनाउँदा एउटा बाँसको भरमा अग्लो गेटमा डोरीमा झुण्डीएर एक्लै काम गरेको उनी सम्झन्छन् । अहिले पनि जिल्लाको प्रवेशद्वार रहेको मालढुंगा गेट पनि अरुले रंगरोगन गर्न हिम्मत नगरेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । ‘बाबुको पालामा पनि बिबि आर्टस्ले रंग लगाएको भन्ने थाहा पाएपछि उनकै छोरा बोलायौ’ थापाले भने, ‘जोखिम मोलेर पनि राम्रो काम गर्ने रहेछन् ।’ उनको कामबाट सबै कार्यालय र व्यवसायी समेत सन्तुष्ट भएका छन् । काम देखेर धेरैले उनको प्रसंसा समेत गर्न थालेका छन् ।
यतिधेरै सफलता पाउन उनले जीवनमा धेरै दुःख पनि पाएका छन् । दुःख पाउने मात्र नभइ जीवन नै जोखिममा पनि पारेका छन् । दर्जनबढी देश घुमेर १३ बर्ष बेपत्ता भएका राजु घर फर्केर फेरी लेखन पेशाबाटै फेरी स्थापित भएका हुन् । पैसा कमाउने उद्देश्यले भौतारिंदा उनी मलेसियाकोे जेलमा पनि परे । ५ बर्ष जेल र ७ बर्ष कामकै खोजीमा बिदेशमा भौंतारिंदा घर परिवारले आस मारेका थिए ।
‘गाउँलेले मरिसक्यो होला भनेर सुनाउँथे, मैले भने छोरी च्यापेर कहिले घर, कहिले माइत गरेर कुरेरै बसें’ बोहोराकी पत्नि बिष्णुले भनिन्, ‘नपत्याउने गरी १३ बर्षमा फर्केर आउनु भयो ।’ २०६५ सालमा नेपाल फर्केपछि भने बोहोराले पुन कुची र रंगकै सहारामा जीवन बिताएका छन् । १२ वर्षसम्म खबर नपाइ बिदेशमा जेल बस्ने, काममा भौंतारिने अबस्था आइपर्दा पत्नि बिष्णुलाई छिमेकीले राजु मरिसकेको भन्न समेत भ्याए । तर बिष्णुले माइती घरमा पुगेर पनि राजुलाई पर्खेर बसिन् ।
नेपाल फर्केपछि पुरानै पेशाबाट छोटो समयमा उनले राम्रो कमाइ गरेर ९ रोपनी खेत जोडेका छन् । दुइवटा घडेरी र एउटा घर बनाउन सफल भए । छोरी रबिनाको बिबाह गराए । छोरा रबिनलाई पढाएका छन् । बोहोराको मेहेनत देखेर धेरै संस्थाले बोलाएरै काम दिन्छन् भने पाका पुरानाले बाबुको नामले राजुको खोजी गर्दै आउँछन् । छोराछोरी पढाउने देखि घरखर्च पनि कुचीबाटै चलेको छ भन्छन् बोहोरा ।
नेपालको सुर्खेत, नेपालगञ्ज, कैलाली, बीरगञ्ज र पोखरा तथा पर्वतको कुश्मामा पुगेर पनि उनले कुचीकै कामकाम गरेको सुनाए । राजुले भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, इन्डोनेसिया लगायतका देशमा रोजगारी खोज्न पुगे । धेरै पैसा कमाउने आसमा जेल सम्मको सजाए पाएपछि उनी फर्केर नेपालमै रमाएका हुन् । उनका छोरी रबिना र छोरा रबिनले सामान्य चित्र कोर्न जानेका छन् । तर पेशाको रुपमा काम गर्न खोजेनन् । ‘युवा पुस्ता त फ्लेक्स प्रिन्टमा रमाउन थालेको छ’ बोहोराले भने, ‘केही बर्षमा हातले लेख्ने पेशा र कला लोप हुने खतरा देखेको छु ।’ मेहेनत गरेर बनाएका चित्रबाट मूल्य नपाएको उनले गुनासो गरे । ‘मैले बनाएका चित्र बढीमा १५ हजारमा बेच्न बाध्य छु, काठमाण्डौ, पोखरामा भए त्यसकै ४० हजार सम्म पर्थे’ उनले भने, ‘जीवनभर नबिग्रने चित्रलाई प्रिन्टरबाट निकालेको फोटो झै मूल्यमा किन्न खोजेपछि मेहेनतको मूल्य नपरेको हो ।’ उनले कैयौं चित्र बनाएर घरमै थुपारेर राखेको बताए । लेखन क्षेत्रमा अब्बल भएकोले गण्डकी प्रदेश स्तरीय चित्रकलामा उनी पुरस्कृत र सम्मानित भएका छन् ।
केही चित्र लगेर राजधानीमा हुने प्रर्दशनीमा पुग्ने चाहना उनले राखेका छन् । तर भित्ते लेखनले फुर्सन नपाएपछि त्यसतर्फ जान नपाएको बताए । उनको कलाबारे थाहा पाएपछि स्थानीय तहका प्रमुखहरुले काम दिने र प्रवद्र्धन गर्ने योजना बनाएको सुनाए । ‘यस्तो मेहेनत गर्नेलाई काम दिएर भएपनि साथ दिनुपर्छ’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘उत्कृष्ट आर्टहरु सार्वजनिक स्थानमा राख्ने गरी व्यवस्थापन गर्न सकिन्छ ।’ यस्तो व्यवस्थापन गर्दा कलाकारको कलाले मूल्य पाउने अबस्था बनने श्रेष्ठले बताए ।




