बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रिएजेन्ट अभावमा एचआइभी संक्रमितको भाइरल लोड गर्ने मेशिन बेकामे

रिएजेन्ट अभावमा एचआइभी संक्रमितको भाइरल लोड गर्ने मेशिन बेकामे

क्षेत्रीय अस्पतालबाट १ हजार ५ सय ७२ जनाले एआरटी सेवा लिइरहेका छन्


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

पोखरा/रिएजेन्ट अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेशिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ ।

भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा एचआइभी भाइरसको मात्रा पत्ता लगाउन प्रयोग हुने मेशिन हो । उक्त परीक्षणका लागि सम्बन्धित भाइरल लोड मेशिनकै रिएजेन्ट आवस्यक पर्छ । तर हाल जडित कम्पनीको मेशिनले रिएजेन्ट उत्पादन गर्न छाडेपछि मेशीन झन्डै एक वर्षदेखि बेकामे भएको हो ।

नयाँ मेशिन ल्याउन करोडौ लाग्ने भएपछि अस्पतालले सेवाग्राहीलाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ । प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाई हुने भएकाले सेवाग्राही मर्कामा परेका छन् । ‘अस्पतालभित्रै भाइरल लोड मेशिन प्रयोग हुँदा काम छिटो हुने गथ्र्यो,’ एआरटी सेवामा सहयोग गर्दै आएको एड्स हेल्थकेयर फाउन्डेशन (एएचएफ) गण्डकी प्रदेशकी कार्यक्रम संयोजक विद्या कोइरालाले भनिन् ।

२०६३ मा यस अस्पतालमा एआरटी सेवा सुरु भएकोमा एएचएफले २०७२ देखि सहयोग गर्दै आएको छ । एचआइभी संक्रमितको उपचार यही एआरटीमार्फत गरिन्छ । यो थेरापीले एचआइभी भाइरसलाई दवाउन र रोगको प्रगतिको गति रोक्न मद्धत पु¥याउँछ । एन्टिरेट्रोभाइरल औषधीहरुको संयोजन समेत रहेको एआरटीले एचआइभी भाइरसको प्रतिलिपी बनाउन पनि रोक्छ । ‘एआरटीको मुख्य उद्देश्य भनेको एचआइभी भाइरसको मात्रा घटाउनु हो ताकि शरिरको प्रतिरक्षा प्रणाली बलियो रहन सकोस्,’पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा.शरदचन्द्र बरालले भने, ‘एचआइभी भाइरसको बृद्धि नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन, भाइरसको प्रगति रोक्न, एचआइभीसंग सम्बन्धित रोगहरुको जोखिम घटाउन र जीवनको गुणस्तर सुधार्न एआरटी अनिवार्य छ ।’ एचआइभी संक्रमितले नियमित रुपमा औषधि सेवन गरेमा उसको आयू सामान्य मानिस बराबर हुने उनले बताए । यसका लागि एआरटी औषधीहरु दैनिकरुपमा लिनुपर्ने, नियमित जाँच गराइ चिकित्सकको सल्लाह बमोजिम औषधी लिनुपर्ने भन्दै उनले एआरटी खादैमा एचआइभी निको नहुने र यो औषधि बाचुन्जेल खानुपर्ने बताए । एचआइभीको परीक्षण स्वास्थ्य संस्थामा निशुल्क हुन्छ ।

नोभेम्बरको अन्तिमसम्ममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १ हजार ५ सय ७२ जनाले एआरटी सेवा लिइरहेका छन् । त्यसमा १४ वर्षसम्मका बालक ११ र बालिका १६ जना गरी २७ जना रहेका छन् । यसैगरी १५ वर्ष भन्दा माथिका ८ सय १९ जना पुरुष र ७ सय २१ जना महिला गरी १ हजार ५ सय ४० जना र ५ जना तेस्रो लिङ्गी रहेका डा. बरालले बताए । यो संख्या गण्डकी प्रदेशभरीको आधाभन्दा बढी हो । प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौलाका अनुसार गण्डकी प्रदेशभरी ३ हजार ६६ जना एआरटीमा उपचाररत छन् । त्यसमा १ हजार ५ सय ७ जना महिला र १ हजार ५ सय ५० पुरुष र यौनिक अल्पसंख्यक ९ जना रहेका र उमेर समुह अन्तर्गत १५ वर्ष मुनिका ६४ जना र १५ वर्षमाथिका ३ हजार २ जना छन् । प्रदेशभरीका ११ अस्पतालमा एआरटी केन्द्र रहेका बसौलाले बताए । तर, अधिकांश सेवा लिन पोखरा नै आउन चाहन्छन् । तथ्यांक अनुसार सबैभन्दा बढी ४० देखि ४९ वर्ष समुहका व्यक्तिहरु एचआइभी संक्रमित छन् ।

एआरटीमा चिकित्सक परामर्श, संक्रमितको नियमित फ्लोअप, कण्डम वितरण, जोखिममा रहेको समुदायको पहिचान, परीक्षण र उपचार, भाइरल लोड र सिटी४ परीक्षण, क्षयरोगको स्क्रिनिङ, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, लगायत सेवा उपलब्ध हुन्छन् । साथै एएचएफको सहयोगमा खाद्यान्न र पोषण, औषधि सहयोग, गरीब परिवारलाई यातायात खर्चलगायत सेवा पनि दिइन्छ । ‘नेपाल सरकारले तोकेको जोखिमयुक्त समुदायमा गएर परामर्श दिने र शंकास्पदको परीक्षण पनि गर्ने गर्छौँ,’संयोजक कोइराला भन्छिन, ‘एचआइभीसहित यौनजन्य अन्य सेवा पनि दिदै आएका छौ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रेमराज पंगेनीले भाइरल लोड गर्ने मेशिन नहुँदा परीक्षणका लागि काठमाडौं पठाउने गरेको जानकारी दिए । ‘हामीसँग सिबि फोर छ । यसले कोष हेर्ने गर्छ । तर, भाइरल लोड मेसिन भने छैन त्यसका लागि काठमाडौं नै जानुपर्छ,’ उनले भने ।

एआरटीको सम्पर्कमा आएका कतिपय संक्रमितहरु नियमित नआउने, हराउने, नियमित औषधि सेवन नगर्नेजस्ता समस्या पनि रहेका छन । साथै बजारमा सजिलै औषधि नपाइने, रियजेन्ट र किटको खरीदमा कठिनाइतथा बहुवर्षीय खरीद योजनाको अभाव, एआरटी परामर्शकर्ताको स्थायी दरबन्दी अभाव, सामाजिक, आर्थिक अवस्था र भेदभावको कायमै रहँदा एचआइभी संक्रमितहरु खुलेर नआउनेलगायत चुनौती पनि सेवामा देखिएका छन् ।

नेपालमा महिला यौनकर्मी र उनीहरुका ग्राहक, सुइबाट लागुऔषधि प्रयोगकर्ताहरु, आप्रवासी कामदार र उनीहरुका परिवार, समलिङ्गी पुरुष र तेस्रो लिङ्गीहरु एचआइभीको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->