बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक


  • ढाेरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

पर्वत/जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्राविका शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ । तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन् । पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक सीप नभए पनि उनले शिक्षण प्रविधिको प्रयोग गर्न चासो राख्छन् ।

नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिवार जलजला गाउँपालिकामा शिक्षकहरूको लागि आयोजना भएको शिक्षणमा ए.आई.को प्रयोगसम्बन्धी प्रशिक्षणमा सहभागी भएका उनले ए.आई.टुल्सको प्रयोगका बारेमा सिके । अनिवार्य अवकाश नजिकिँदै गर्दा पनि श्रेष्ठको जिज्ञासा भने नयाँ प्रविधितर्फ नै केन्द्रित देखिन्थ्यो। आफ्ना विद्यार्थीहरूलाई कसरी अझ सरल, रमाइलो र प्रभावकारी तरिकाले सिकाउन सकिन्छ भन्ने चिन्तन उनको अनुहारमा प्रस्ट झल्किन्थ्यो ।

परम्परागत शिक्षण पद्धतिको तुलनामा ए.आई.को प्रयोगले उनी दङ्ग देखिन्थे । श्रेष्ठ जस्तै अरू धेरै शिक्षकहरुले पनि शिक्षण सिकाई क्रियाकलापमा कृत्रिम बौद्धिमताको प्रयोगको बारेमा सिके । शिक्षणमा ए.आई.को प्रयोग बढाउन कक्षाकोठासम्म यो सीप विस्तार गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । जसमा जिल्लाका सात ओटै स्थानीय तहबाट प्रतिनिधि शिक्षकहरू सहभागी भएर कृत्रिम बौद्धिमताको प्रयोगका बारेमा प्रशिक्षण दिइएको छ ।

जिल्लाका करिब ५० जना शिक्षकहरूको सहभागिता रहेको तालिममा ए.आई.को प्रयोगबाट विद्यार्थीको सृजनशीलता कसरी बढाउन सकिन्छ ? गृहकार्यलाई कसरी रोचक बनाउन सकिन्छ ? र प्रविधिको दुरुपयोगबाट जोगिन के–कस्ता सावधानी अपनाउनुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । सहभागी शिक्षकहरूले आफूले सिकेको सीप विद्यालयसम्म लैजाने प्रतिबद्धता जनाएका छन् । शनिबारको तालिममा सहभागी भएका शिक्षकहरुले आफ्नो स्थानीय तहमा पुगेर अन्य साथीहरूलाई प्रशिक्षण गरेर हरेक विद्यालयमा सीप विस्तार गर्नेछन् ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले शिक्षणमा प्रविधिको प्रयोगले सिकाइ उपलब्धिमा ठोस सुधार आउने भएकोले तालिम महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँगै विद्यार्थीहरू अघि बढिरहेको अवस्थामा शिक्षकहरू पनि परिवर्तनसँगै हिँड्नुपर्ने उनको भनाइ छ । ‘विद्यालय र कक्षाकोठा प्रविधिमैत्री बन्दै गइरहेका छन्, अब शिक्षकहरू पनि प्रविधिको सहयात्री बन्नुपर्छ,’ उनले भने ।

नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाले सामुदायिक विद्यालयहरूमा प्रविधिको पहुँच बढाउन अझै राज्यको भूमिका आवश्यक रहेको बताए । कम्प्युटर शिक्षकको दरबन्दी अभाव, उपकरणको कमी जस्ता समस्या समाधान नगरेसम्म प्रविधिमैत्री शिक्षण चुनौतीपूर्ण हुने उनको धारणा छ । तालिममा सहभागी शिक्षकहरूका लागि यो कार्यक्रम सीप सिक्ने अवसर मात्र नभई शिक्षणप्रतिको दृष्टिकोण परिवर्तन गर्ने माध्यम बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->