शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

कालीगण्डकीका आधा दर्जन पुलको निर्माण सुस्त

कालीगण्डकीका आधा दर्जन पुलको निर्माण सुस्त

चीन र भारतलाई जोड्ने गण्डकी र लुम्बिनीको संगम नदी कालीगण्डकीमाथि निर्माणाधीन पुल १४ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । पटक–पटक म्याद थप गर्दै निर्माण कम्पनीहरुले काम गरिरहेका छन् तर पुल कहिले सकिन्छ भन्ने निधो छैन ।


  • अर्जुन काफ्ले
  • माघ ४ २०८२, आइतबार

स्याङ्जा/समयमै काम भएको भए यतिबेला कालीगण्डकी नदीमाथि कयौं पुलहरु बनिसकेका हुन्थे । बन्नेमात्र हैन,कतिपयमा त पुनर्निर्माण नै भइरहेको हुन्थ्यो । तर, चीन र भारतलाई जोड्ने गण्डकी र लुम्बिनीको संगम नदी कालीगण्डकीमाथि निर्माणाधीन पुल १४ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । पटक–पटक म्याद थप गर्दै निर्माण कम्पनीहरुले काम गरिरहेका छन् तर पुल कहिले सकिन्छ भन्ने निधो छैन ।

पाँचवटा पाल्पा जोड्ने र दुईवटा गुल्मी जोड्ने पुलहरु यो नियतिबाट गुज्रेका छन् । त्यसमा भौतिक पूर्वाधार मन्त्रालयको पुल सेक्टरले निर्माण गरेका पाँच र पाल्पा सडकले निर्माण गरेको एउटा पुल रहेको छ । चापाकोट नगरपालिका– ८ दामाचौर, स्याङजा र राममुर –६ लुम्बिनी प्रदेश हँुदै भारतीय सिमा सुस्ता जोड्ने ट्रस पुलको १४ वर्षमा ८० प्रतिशतमात्र काम सकिएको छ ।

२०६८ साल असार २६ गते एमएस इलाइट एसबीए जेबी कपन काठमाडौंले तीन वर्षमा काम सक्ने गरी सो पुल निर्माणको सम्झौता गरेको थियो । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँ ६० पैसामा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । तर, पछि १८१ दशमलब ६९ मिटर लम्बाइरहेको पुलको डिजाइन नै फेल भयो । बेस फाउण्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिलर राखेर नदीको मध्यभागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार काम भएन । निर्माण प्रक्रिया रोकियो । १४ वर्षमा पाँच पटकसम्म म्याद थप्दा पनि काम पूरा भएको छैन ।

यस्तै २०७४ मंसिर २२ गते एमएस सपना/महादेव खिम्ती/ हीरा जेभीले तीन वर्षमा काम सक्ने गरेर सम्झौता गरेको बाँसटारी पुलकोआठ वर्षमा ४० प्रतिशतमात्र काम सकिएको छ । दुई सय मिटर लम्बाइरहेको यो पुलसमेत चार स्पानको रहेको छ । २४ करोड ६० लाख १८ हजार तीन सय रुपैयाँ लागतमा निर्माण कम्पनीले सभ्झौता गरेको यो पुल पाँचचोटी म्याद थप भैसकेको छ । कालीगण्डकी नदी राम्दीमा निर्माण सुरु भएकोदेशकै एकमात्र नमूना पुलको हालसम्म ८० प्रतिशत काम सकिएको छ । थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल टयुब आर्क ब्रिज हो ।

नेपालकै पहिलो र एक स्पानमात्र रहेको रामनदी यो मोटरेबल पुल १२० मिटर लम्बाइको छ । यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिज भन्दा २७ मिटर बढी लम्बाइको छ । २०७९ असार ३० गते तीन वर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले यो निर्माणको जिम्मा पाएको थियो । २७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँमा पुल निर्माणको लागिसम्झौता भएको हो । यो पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यसभन्दा अगाडिको ११ मेट्रिक टन भार क्षमताको रहेको थियो ।

यस्तै कालीगण्डकी नदीमा बेल्टारी पुल सम्झौताको दुई वर्ष सकिँदा जम्मा ५० प्रतिशत काम भएको छ । निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्निकल जेभीले तीन वर्षमा सक्ने गरेर २०७७ साल भदौ १ गते निर्माण सम्झौता गरेको थियो । १२० मिटर लम्बाइभएको यो पुल १५ करोड ३९ लाख २८ हजार ६८० रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो ।

यस्तै सेतीबेनी मोटरेवल पुलको म्याद सकिएको दुई वर्षमा तीस प्रतिशत काम सकिएको छ । एक सय मिटर लम्बाइ भएको यो पुल सेतिबेनीबाट स्याङजा र गुल्मी जोड्ने पुल हो । र्यामजीनी/राजेश्वरीले ११ करोड ८६ लाख ४५ हजार ९७० रुपैयाँमा २०७८ असार ३१ गते दुई वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो । यो पुलको निर्माण कम्पनीले तेस्रो पटक २०८३ भदौ १८ गते सम्म म्याद थपेको छ ।

यस्तै चिउरीबोट अरबेनी पुल म्याद गुज्रेको डेढ वर्षमा ३० प्रतिशत मात्र काम सकेको छ । इलाइट/र्यामजीनी/राजेश्वरीले १८ करोड ६८ लाख ७० हजार ७९० रुपियाँमा तीन वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो । १८० मिटर लम्बाइभएको पुल २०८३ असार ३० गते सम्म सक्ने गरेर दोस्रो पटक म्याद थपेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->