
पोखरा /मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज पोखरामा पक्राउ परेका छन् । पछिल्लो समय निर्वाचन आयोगलाई गम्भिर आरोप लगाउँदै आएका प्रसाईंमाथि सरकारी वेवसाइटहरु ह्याक गरेर डाटा चोरी गर्नेसम्मको आरोप लागेपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।
निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका थिए । प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।
प्रसाईंलाई आज पक्राउ गरिएको र काठमाडौं पठाउने तयारी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए । प्रसाईंलाई पक्राउ गरी पठाउन भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कास्की प्रहरीलाई पत्र पठाएको थियो । प्रसाईँले नागरिक बचाउ अभियानका नाममा देशभर कार्यक्रम गर्दै हिँड्ने गरेका थिए भने पछिल्लो समय राजावादी अभियानमा पनि हिँडिरहेका छन् । साथै पछिल्लो समय सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको विरुद्धमा अभिव्यक्ति दिँदै आइरहेका छन् भने चुनाव बहिस्कार गर्ने भन्दै अभियान चलाइरहेका छन् ।
निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन भन्दै पत्र काटेपछि प्रसाईँको सरकारी टाढा चोरी गर्ने योजना बुनेको अर्को अडियो पनि सार्वजनिक भएको थियो ।





