मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

आज देशभर उम्मेदवारी दर्ता हुँदै

आज देशभर उम्मेदवारी दर्ता हुँदै


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकिएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ । यसैगरी मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक बस्नुपर्नेछ । दलको उम्मेदवारको हकमा पार्टीको आधिकारिक पदाधिकारीले प्रदान गरेको मनोनयन पत्र (टिकट) पेस गर्नुपर्नेछ ।

सरकारी सेवा वा राज्यको सुविधा लिने पदमा बहाल रहेका व्यक्तिले राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । यस्तै, पेस्की लिएको भए फछ्र्योट भएको र बेरुजु भए असुल उपर गरेको प्रमाण पनि पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारले मनोनयन पत्रसाथ १० हजार रुपैयाँ धरौटी राखेको रसिद बुझाउनु पर्नेछ । महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । विपन्नको हकमा स्थानीय तहको सिफारिस आवश्यक पर्नेछ . यसैगरी, उम्मेदवारले आफ्नो चल–अचल सम्पत्तिको विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ भने आयोगले तोकेको ढाँचामा स्वघोषणा पत्र पनि भर्नुपर्नेछ ।

भिडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रस्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ ।निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->