पोखरा/कार्यकर्ताकै तीव्र आलोचनापछि एमालेले कास्कीमा उमेदवार फेरेको छ । एमालेले यसअघि कास्की २ मा कृष्ण थापालाई उमेदवार बनाएको थियो । उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेदवार बनेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख बन्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थापाले यो क्षेत्रको टिकट हात पारेका थिए । त्यतिबेला अन्तिमपटक भन्दै उम्मेदवार बनेका थापा फेरि प्रतिनिधिसभा उम्मेदवार बन्दा एमालेभित्रै उनको तीव्र आलोचना भएको थियो ।
२०४९ सालमा उनी पोखरा नगरपालिकाको उपमेयरको उम्मेदवार थिए । थापाले ५४ सालमा पोखरा उपमहानगरपालिको मेयर बन्ने अवसर पाएका थिए । २०७४ सालको निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएर संसदीय भूमिकामा समेत पुगे । त्यति बेला आफ्नो गृहक्षेत्र छाडेर जित्न सजिलो क्षेत्रमा गएका थिए ।
प्रदेश सांसदको ५ वर्षे कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएर थापा २०७९ मा पुनः पोखरा महानगरपालिकाको मेयर बन्ने दौडमा होमिएका थिए । दीपक पौडेललाई दिइसकिएको टिकट खोसेर उनै थापा उम्मेदवार बनेका थिए ।





