पोखरा/तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका ३ वटा क्षेत्रमध्ये २ वटामा उम्मेदवार टुंगो लगाएको छ । कास्की क्षेत्र नम्बर १ मा लेखक गनेस (खडकराज) पौडेल र क्षेत्र नम्बर २ मा पूर्वपत्रकार उत्तमप्रसाद पौडेलको नाम टुंगो लागेको छ ।
क्षेत्र नं. ३ को भने निर्णय भइनसकेको रास्वपाका नेताहरुले बताएका छन । यहाँबाट कास्की सभापति यदुनाथ अधिकारी र बिना गुरुङमध्ये एकले टिकट पाउने चर्चा छ ।
कास्की क्षेत्र नं. १ का उमेदवार गनेस बालेन समूहबाट टिकट पाएका हुन । पौडेलले ०७९ को निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । अटेरी अभियान चलाएका उनले तीनहजार ३० मत प्राप्त गरेका थिए ।
उता काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेनले पनि स्वतन्त्र नै उम्मेदवारी दिएर जितेका थिए । यी दुवै स्वतन्त्र उमेदवार बिच चुनाव चिन्ह के लिने भन्नेमा सल्लाह भएको थियो । सहमतिमा नै पछि यी दुवैले चुनाव चिन्ह ‘लौरो’ लिएका थिए ।लौरो अभियानबाट थप नजिक बनेका बालेन पोखरा आउँदा वडा नं. १४ मा रहेको पौडेलको घरमा जाने गर्दथे । पौडेल लेखकसमेत हुन् ।यो क्षेत्रमा एमालेले एमालेले कास्की अध्यक्ष बैनबहादुर अधिकारीलाई उठाएको छ भने नेकपाबाट केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले टिकट हात पारेका छन् । कांग्रेसको उम्मेदवार टुंगिएका छैनन ।
कास्की १ बाट यसअघिका समानुपातिक सांसद शिव नेपाली, यसअघिका उम्मेदवार राजु राइलगायतका आकांक्षी थिए । कास्की क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेको निकट पत्रकार उत्तमले टिकट हात पारेका हुन । न्युज २४ हुँदै ग्यालेक्सी टेलिभिजनमा रविले काम गर्दा गण्डकीबाट उत्तम उनकै टिममा थिए । पछि उनी पत्रकारिता छाडेर रास्वपा प्रवेश गरेका हुन् ।
यसअघि यो क्षेत्रबाट स्व नेता रविन्द्र अधिकारी, त्यसपछि उनकी धर्मपत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् । यसअघि यो क्षेत्रमा रास्वपा दोस्रो र कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका उम्मेदवार तेस्रो भएका थिए ।यहाँ नेकपाबाट किरण थापा ‘आमोद’ले टिकट पाएका छन् भने एमालेले पूर्वमेयर तथा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई टिकट दिएको छ रयो क्षेत्रमा रास्वपाबाट यसअघिका उम्मेदवार माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसीलगायतका आकांक्षी थिए ।





