पोखरा/शुक्रबारदेखी पोखरामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता सुरु भयो । प्रतियोगिताको उद्घाटन सत्रमा समग्र खेलाडीको तर्फबाट गण्डकी प्रदेशका टिम क्याप्टेन सञ्जुविक्रम शाहीले शपथ लिए ।
राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान हरिहजुर थापालगायत राष्ट्रिय टोलीका सदस्य हुँदा हुँदै घरेलु टोली गण्डकीका कप्तान सञ्जुलाई सो मञ्च दिइयो । उनको कप्तानीमा उत्रिएको गण्डकीले पहिलो खेलमा एपिएफसँग ३–१ सेटको हार चाख्यो । खेल सकिएपछि खेलाडीहरु आफु बसेको होटलतर्फ लागे ।
शनिबार गण्डकीले मालदिभ्स विरुद्ध कोर्टमा उत्रियो । गण्डकीको टिम कप्तान सञ्जु र मिडल ब्लकर विश्वास खेलमा देखिएनन् । कप्तान र मिडल ब्लकरविना गण्डकीले मालदिभ्स विरुद्ध खेल खेल्यो र ३–० को जित निकाल्यो ।
गण्डकीका कप्तान शाही र अधिकारी अनुपस्थितिको कारण उनीहरु अर्को खेल खेल्न जानु रहेको छ । यसबारेमा न त प्रशिक्षकर्लाइ केहि थाहा थियो न त भलिबल संघलाई नै । यसबारेमा सबै चकित परे । खेलाडीलाई भने उनीहरु २ जना दुबई गएको जानकारी थियो । उनीहरुले प्रशिक्षकलाई जानकारी गराए तर आधिकारिक कुरा नआएकाले प्रशिक्षकलेसमेत मालदिभ्सविरुद्धको खेलमा सहभागी हुने आशा गरे पनि अचानक सामाजिक सञ्जालमा उनीहरु दुबई प्रस्थान गरेको फोटो सार्वजानिक भयो ।
केही समय अघिमात्रै गण्डकी प्रदेश भलिबल संघले टाइगरकपमा सहभागि गराउनका लागि आम भलिबल प्रेमीलाई सहयोगको अपिल गरेको थियो । तर, सञ्जु र विश्वास खेल भावना विपरित सुटुक्क विदेशीएका हुन् । यस विषयमा आफु जानकार नभएको र सामाजिक सञ्जालबाट मात्रै विदेश गएको थाहा पाएको प्रशिक्षक रमेश केसी बताउँछन् । ‘खेल खेलेर हिजो नै गएका रहेछन् । कता गएको कुनै जानकारी नै थिएन म भलिबल कोर्टमै थिए । होटलबाट कसैलाइ नभनी गएछन्,’ उनले भने ।
यस्तै गण्डकी प्रदेश भलिबल संघले शनिबार आकस्मिक बैठक डाक्यो । तर, महासचिव टलसिंह थापाको उपस्थिति नभएपछि बैठक तुहियो । दुई खेलाडी जानुमा उनको भूमिका भएको हुन सक्ने भलिबलकर्मीहरुको आशंका छ । संघका अध्यक्ष नवीन गुरुङले भाइटल पोष्टको पदाधिकारी उपस्थिति नभएपछि बैठक नभएको बताएपछि महासचिव नै रहेको पुष्टि भयो । अध्यक्ष गुरुङका अनुसार कप्तानले न त प्रशिक्षकलाई जानकारी गराए न त संघलाई नै ।
‘दुबई गएको भन्ने खबर थाहा पायौँ । हामीले तत्कालै बैठक डाकेर के गर्ने भन्ने छलफल ग¥यौं तर भाइटल पोष्टका एक पदाधिकारी नआएपछि आजलाई (शुक्रबार) भएन भोलि बस्ने निर्णय गरेका छौं,’ उनले भने, ‘हामीले अब कारवाही गर्छौँ । अनौपचारिक छलफल भयो । भोलि माइन्युट गर्ने काम गर्छौँ ।’ सञ्जु यस अघिसमेत पटक पटक अनुशासनको कारवाहिमा पर्दै आएका खेलाडी हुन् । तर, गण्डकी प्रदेशले उनलाइ पछिल्लो समय टिम कप्तानको भूमिका दिएको थियो ।
टिम र समग्र गण्डकीका समर्थकलाई धोका दिँदै सञ्जु र विश्वास एनआरएन भलिबल कप खेल्न पुगेका हुन् । प्रतियोगिता डाइरेक्टर याम गुरुङले यस बारेमा आफूहरुलाई केही थाहा नभएको बताएका छन् । गण्डकी प्रदेशको टिममा सञ्जु र विश्वासको नाम रहेको र उनीहरुको स्थानमा अन्य खेलाडी आएमा मात्र कारवाही हुने बताए ।
‘गण्डकीको टिममा सञ्जुविक्रम शाह र विश्वास अधिकारीको नाम छ । त्योभन्दा बढि हामीलाई केही थाहा छैन् । यदि उनीहरु नखेलेको खण्डमा त्यहाँ अन्य खेलाडीले खेल्न पाउने छैनन् । त्यो बेलामा मात्रै हामीले कारवाही गर्न मिल्छ ,बाँकी कुरा संघ र प्रशिक्षकको हातमा छ,’ उनले भने ।
कप्तान विनाको गण्डकीको सानदार जित
शनिबार गण्डकीले सानदार जित हासिल गरेको छ । कप्तान विना उत्रिएको गण्डकीले उत्कृष्ट प्रदर्शनी गर्दै मालदिभ्सको टिमलाई ३–० को सेटमा हराउन सफल भएको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–१४ को जित निकाल्यो । तेस्रो सेटमा २५–२१ ले हराउँदै पहिलो जित निकालेको हो ।
यस्तै पर्वत भलिबल संघले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराएको छ । अत्यन्तै रोमाञ्चक बनेको खेलमा पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ को जित निकालेको पर्वतले तेस्रो र चौथो सेट लगातार गुमायो । उक्त सेट पुलिसले २५–२१ र २५–१८ आफ्नो पक्षमा पारेको थियो । खेल निर्णायक पाँचौ सेट अन्ततः पर्वतले १५–१३ ले आफ्नो पक्षमा पर्दै पहिलो जित दर्ता गराएको हो ।
त्यसअघि भएको महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । भने एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।





