बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले भूमण्डलीकरणमा परिवर्तन भएको वातावरणमा आयुर्वेद औषधीको महत्व बढेको बताएका छन् । उनले आयुर्वेदलाई अब उपचार पद्दतीको मुल धार बनाउनुपर्ने समेत बताए ।
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदस्थापन गराउँदै उनले आयुर्वेद नै भरपर्दो र दिगो उपचार पद्दती भएको बताए । ‘अहिले तत्काल उपचार सेवाका लागि एलोपेथिक उपचार आयो, त्यो आवस्यक पनि छ तर, आयुर्वेद उपचार पद्दती हाम्रो आधार हो’ उनले भने, ‘विश्वव्यापी रुपमा आयुर्वेदको माग बढ्दै गएको छ ।’ संसारका अन्य धेरै देशमा पनि आयुर्वेदको महत्व बढीरहेको उनको भनाइ छ ।
मन्त्री पाठकले धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताललाई स्तरोन्नती गरेर चौबिस घण्टे सेवा, अपरेशन लगायतका उपचार सेवा दिने व्यवस्थापन गरिएको बताए । हाल धौलागिरि आयुर्वेद अस्पताललाई पनि २५ शैयाको बनाइएको, ३० जना दरबन्दीको व्यवस्थापन गरिएको र चिकित्सक सेवा दिने व्यवस्था भएको उनले बताए । ‘ओएनएम स्विकृत भएको छ, दरबन्दी पनि वृद्दि भैसकेको छ, अब आवस्यक भवन बनउन जग्गा प्राप्तीको काम थाल्नुपर्ने छ’ पाठकले भने, ‘नयाँ व्यवस्थापन समितिले जग्गाको खोजी गर्न शुरु गरोस्, हामी सघाउँछौं ।’ उनले स्थानीय तहको सहकार्यमा जग्गाको व्यवस्थापन गरेर अस्पतालको थप भवन बनाउने पनि उनले बताए ।
गण्डकी प्रदेश सरकारले बागलुङ नगरपालिका वडा नं. ४ का तेजबहादुर कुँवर ‘सन्तोष’को अध्यक्षतामा पार्वती खड्का अधिकारी र सन्दिप कँडेल सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिमा अन्य पद भने पदेन सदस्य रहने व्यवस्था छ । झण्डै २ वर्षदेखि यहाँ समिति खाली थियो ।
मन्त्री पाठक, गण्डकी प्रदेशसभाका सदस्य दिपेन्द्रबहादुर थापा र बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बुधबार व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्दै पदस्थापन समेत गराए ।
कार्यक्रममा मन्त्री पाठकले गण्डकी प्रदेशका अस्पतालको आयश्रोत बढाउने काममा लाग्न पनि आग्रह गरे । हाल गण्डकीका अस्पतालहरुको आय ६९ करोड र खर्च ५९ करोड रहेकोले केही रकम बचतमै रहेको भन्दै उनले अझै आन्तरिक आय बढाउन सकेमा उपचार सेवालाई पनि प्रभावकारी बनाउने, कोषमार्फत विपन्नहरुलाई सेवा दिने र अस्पतालको क्षमता बढाउने काममा लगानी गर्न सकिने बताए ।
‘मनाङ र मुस्ताङका अस्पताल बाहेकले आम्दानी राम्रो गर्छन्, त्यो रकम बढाएर आन्तरिक व्यवस्थापनमा लगाउन सकिन्छ’ पाठकले भने, ‘कार्यविधिमार्फत अस्पताल सुदृढीकरण गर्न पहल गरिनेछ ।’ मन्त्री पाठकले स्थानीय सरकाले चलाएका आधारभूत अस्पताललाई समेत त्यो कोषबाट सहयोग गरिने बताए । हाल धौलागिरि प्रादेशिक अस्पताललाई भने बिशेषज्ञ सेवाबाट विशिष्टीकृत बनाउन लागिएको समेत उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य दिपेन्द्रबहादुर थापाले जडिुटी संकलन र प्रशोधनको उद्योग खोल्ने प्रयास गर्दा वन ऐन लगायतका कामले अगाडि बढ्न नसकेको बताए । उनले धौलागिरि क्षेत्रमा आयुर्वेद र जडिवुटीको महत्व बढी भएरपनि राज्यको ध्यान आर्कषण गर्न कठिन भएको बताए । नगर प्रमुख श्रेष्ठले आर्युवेद उपचार पद्दती केवल उपचार मात्र नभइ मानसिक र आचरण सुधारमा लाग्न प्रेरित गर्ने बताए । कार्यक्रममा धौलागिरि प्रादेशिक अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले आयुर्वेद र एलोपेथिक उपचार पद्दतीलाई सँगै लैजानुपर्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कुँवर ‘सन्तोष’को अध्यक्षता, मेडिकल सुपरीटेण्डेन्ट डा. शरद पन्थीको स्वागत र अर्का डा. कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । पदभार ग्रहणपछि कुँवरले अस्पताललाई सबैको सहकार्यमा अब्बल बनाउने प्रयत्न गर्ने बताए ।





