पोखरा/२०३५ साल चैत १ गते पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई सैनिक शासकले फाँसीमा चढायो । पाकिस्तानमा सेना हावी भएपछि त्यसले हिमाली राज्य नेपाललाई छोयो । त्रिचन्द्र कलेजका विद्यार्थीहरु सो फाँसीको विरुद्धमा पाकिस्तानी दूताबासमा ज्ञापनपत्र बुझाउन हिँडेका विद्यार्थीमाथि पञ्चायतले धरपकड ग¥यो । पञ्चायतविरुद्धको जनमत बढ्दै थियो । विद्यार्थी आन्दोलन चर्कियो र त्यो पञ्चायतविरुद्ध लक्षित भयो । आन्दोलन चर्किएपछि तत्कालीन राजा वीरेन्द्रले २०३६ साल जेठ ६ गते जनमत संग्रहको घोषणा गरे ।
जनमत संग्रहको घोषणा गर्दा तत्कालीन राजा वीरेन्द्रले भनेका थिए, ‘देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन्, सो कुरा स्पष्ट रूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालिग मताधिकारको आधारमा सम्पूर्ण नेपालीले गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौँ । यस्तो राष्ट्रिय जनमत लिइँदा दुई मुलभूत प्रश्नहरू गरिने छन् । पहिलो, के हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामयिक सुधार गर्दै जाने?अथवा, त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने?
त्यो बेला पञ्चायतसँग देशव्यापि संयन्त्र थियो । डर पनि उत्तिकै । प्रजातन्त्रवादीहरुले हरेश खाएनन् । नेपाली कांग्रेसका सभापति बीपी कोइरालादेखि शीर्ष तहका नेताहरु बहुदलको पक्षमा माहौल खडा गर्न देश दौडाहा निस्किए । जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये कुनै एक रोज्ने विकल्प दिइएको थियो । पञ्चायतको पहेँलो र बहुदलको निलो रङको निम्ति मत मागिएको थियो ।
२०३७ साल वैशाख २० गते भएको मतदानमा गण्डकीका ६ जिल्लामध्ये कास्कीले बहुदलीय व्यवस्थाको पक्षमा मत जाहेर गरिदियो । मतदानमा सहभागी ७५ हजार ३६० जनामध्ये बहुदलको पक्षमा ३९ हजार ७६९ र पञ्चायतको पक्षमा ३० हजार १२ जना उभिए। ५ हजार ५७९ मत बदर भयो । कास्कीमा १ लाख ११ हजार २२१ मतदाता थिए ।
देशभर ७१ लाख ९२ हजार ४५१ मतदाता रहेको त्यो चुनावमा ४८ लाख १३ हजार ४८६ (६६.९२५) मतदाता सहभागी भएकोमा ३ लाख ७२ हजार ६९ (७.६३५) बदर भएको जानकारी गराइएको थियो । अन्तिम नतिजा अनुसार सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा कुल २४ लाख ३३ हजार ४५२ (५४.७९५) र बहुदलीय शासन व्यवस्थाको पक्षमा कुल २० लाख ७ हजार ९६५ (४५.२१५) मत खसेको घोषणा भएको थियो ।
त्यो चुनावमा ७५ जिल्लामध्ये १९ जिल्लाले बहुदलको पक्षमा स्पष्ट बहुमत जाहेर गरेका थिए । बहुदलको पक्षमा बढी मत आएका जिल्लाहरूमा मोरङ, सुनसरी, सिरहा, उदयपुर, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रूपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेल्धुरा थिए ।
तत्कालीन समयमा राष्ट्रिय समाचार समितिका संवाददाता रहेका अग्रज पत्रकार नारायण कार्कीका अनुसार पोखरा आएर बीपीले ‘यो चुनाव प्रजातन्त्र र तानशाहीबीचको चुनाव भएकाले बहुदलको पक्षमा मत जाहेर गर्न आग्रह गर्दै बहुदलले कसैलाई हेपेर शासन गर्दैन’ भन्ने सन्देश प्रवाह गरेका थिए । तत्कालीन अवस्थामा धौलागिरी अञ्चलमा रहेको पर्वतमा त्यो बेला ८० हजार १६५ मतदाता थिए । त्यहाँ ४९ हजार ९०४ मत खस्दा २ हजार १२८ मत बदर भएको थियो । निर्दलीय पञ्चायतको पक्षमा ३० हजार ८३१ र बहुदलको पक्षमा १६ हजार ९४५ मत खसेको थियो ।

निर्वाचन परिणाम अनुसार जनमत संग्रहतामा गोरखामा कुल मतदाता १ लाख १४ हजार ६८६ रहेकोमा ७२ हजार ९८० मत खसेको थियो । त्यो मतमध्ये ४ हजार ८५७ मत बदर हुँदा पञ्चायतको पक्षमा ४३ हजार ५६७ र बहुदल २४ हजार ५५६ मत जाहेर भएको थियो । तनहुँमा कुल मतदाता १ लाख १० हजार ५२ रहेकोमा ६८ हजार ७८३ मत खसेको र ६ हजार ३८४ मत बदर भएको थियो । सोमध्ये पञ्चायतको पक्षमा २४ हजार १५६ र बहुदलको पक्षमा ३८ हजार २४३ मत जाहेर भएको थियो ।
लमजुङमा ७६ हजार ८९२ मतदाता रहेकोमा ५२ हजार ५६७ जनाले मतदानमा सहभागिता जनाए भने ३ हजार ७०८ मत बदर भयो । सदरमध्ये पञ्चायतको पक्षमा २४ हजार ९३९ र बहुदलको पक्षमा २३ हजार ९५० मत खस्यो । १ लाख ४८ हजार ९३९ मतदाता रहेकोे स्याङ्जाले बहुदलको पक्षमा ४१ हजार ९४१ मत जाहेर गरेको थियो । पञ्चायतको पक्षमा ४६ हजार २०५ मत खस्दा त्यहाँ १ लाख ४८ हजार ९३९ जना मतदाता थिए । तीमध्ये ९६ हजार ८७६ जना मतदानमा सरिक भएका थिए। ८ हजार ६३२ मत बदर भएको थियो ।
मनाङमा त्यो बेला ३ हजार ९६० मतदाता थिए । त्यहाँ ३ हजार ५७१ मत नै खसेको थियो भने बहुदलको पक्षमा ४९३ मतमात्र परेको थियो । मनाङबाट निर्दलीय पञ्चायतले ३ हजार ४३ मत पाउँदा ३५ मतमात्र बदर भएको थियो ।
४७ हजार ७५५ मतदाता भएको म्याग्दीमा ३३ हजार २३४ मत खस्दा १ हजार १४९ मत बदर हुनपुग्यो । सदरमध्ये पञ्चायतको पक्षमा २१ हजार ३६ र बहुदल ११ हजार ४९ मत जाहेर भयो । ७ हजार ९२४ जनसंख्या रहेको मुस्ताङले पनि पञ्चायतलाई भरथेग ग¥यो । कुल ६ हजार ८९९ मत खसेकोमा पञ्चायतको पक्षमा ५ हजार ८९८ र बहुदलको पक्षमा ६८० मत जाहेर भयो । ३२१ मत बदर भए ।
कम्युनिस्ट प्रभाव रहेको बागलुङमा १ लाख १३ हजार ४६ मतदाता हुँदा ७२ हजार २८७ जनाले मात्र निर्वाचनमा सहभागिता जनाए । तीमध्ये ५ हजार ७१२ मत बदर भयो भने पञ्चायतको पक्षमा ४५ हजार ५९ र बहुदलको पक्षमा २१ हजार ५१६ मत खस्यो । मुस्ताङका नरबहादुर शेरचन त्यो बेला सहायक सञ्चारमन्त्री थिए ।
तत्कालीन नवलपरासीले पनि निर्दलीय व्यवस्थालाई नै मतदान गरेको थियो । १ लाख २८ हजार ४५६ मतदाता रहको नवलपुरमा ९४ हजार २७६ मत खसेको थियो भने तीमध्ये ७ हजार १५९ मत बदर भएका थिए । सदरमध्ये पञ्चायतको पक्षमा ४७ हजार २७५ र बहुदलको पक्षमा ३९ हजार ८४२ मत रहेको थियो ।




