बागलुङ/मुख्य निर्वाचन कार्यालय बागलुङको आयोजनामा जिल्लाका पत्रकार र सुरक्षा निकायका प्रमुखबीच निर्वाचन आचारसंहिता सम्बन्धी छलफल र अन्तरक्रिया सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले निर्वाचन आचारसंहितालाई सुक्ष्म अनुगमन गरिदिन पत्रकारलाई आग्रह गरिन् । उनले उजुरी आएको स्थानमा सुरक्षा निकाय र अनुगमन अधिकृतहरुले आवस्यक कारवाही गर्ने उनको भनाइ थियो । पत्रकारले स्वतन्त्र रुपमा देखेका आचारसंहिताका घटना उजागर गरिदिन उनले आग्रह गरेकी थिइन् ।
साथै सही सूचना र प्रमाणसहितका गतिविधि देखिएमा निर्वाचनले कारवाही समेत गर्न सक्ने प्रावधानबारे उनले प्रष्ट्याइन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुगमनको काम औपचारिक रुपमा शुरु भएको समेत कार्यालयले जनाएको छ । राजनीतिक दल देखि जनप्रतिनिधि सहितका हरेक क्षेत्रमा आचारसंहिता अनुगमन थालेको हो ।
माघ १२ गतेदेखि सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रक रहेको अनुगमन अधिकृत टोली गठन भएको छ । उक्त टोलीले अनुगमनलाई प्रभावकारी बनाउने योजना पनि कार्यालयले जानकारी दिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले अहिलेसम्म लिखत उजुरी नआएको बताए । ‘सोमबार एउटा मौखिक उजुरी आयो, तत्काल हामी पुग्दा माइक बोकेको देखियो’ बरालले भने, ‘तत्काल माइक नबोक्न आग्रह गरेपछि उहाँहरु मान्नुभयो ।’ त्यसबाहेक कुनै उजुरी नआएकोले शान्तिपुर्ण रुपमा प्रचार भएको बताए । उनले कुद दल वा समूहले त्यो आचारसंहिता उलंघन गरेको खुलाएनन् ।
मनोनयन दर्ताकै दिन राजनीतिक दलले बाजागाजासहित झाँकी प्रस्तुत गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले उक्त जानकारी नपाएको बतायो । मनोनयनको दिनदेखि शुरु भएको घरदैलो अभियानमा पनि दलहरुले तोकेको २५ जनाभन्दा बढी मानिस जम्मा गरेका छन् । दलहरुले वडा अधिवेशन, भेला र कोणसभा गरिरहेको सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण गरिरहेपनि निर्वाचन कार्याल्यले भने थाहा नपाएको जानकारी गराएको हो ।
आचार संहिता सम्बन्धी अन्तरक्रिया गरेर अधिकृतको कार्यालयले सबैलाई आचार संहिता पालनामा उत्तरदायी बनाइएको अधिकारीले बताइन् । उनले संचार माध्यम र पत्रकारले आचारसंहिताको दफा ३ (ण), दफा १५, २२ र २५ लाई ख्याल गर्न अधिकारीले आग्रह गरिन् । उनले जिल्लामा २० हजार रुपैयाँदेखि २९ लाख रुपैयाँ खर्च गर्नेगरी दलले प्रतिवद्दता जनाएकोले सो अनुसार खर्चको अनुगमन पनि गरिने उनले बताइन् । संचार क्षेत्रले पनि सुक्ष्म अध्ययन गरेर वास्तविकता बाहिर ल्याइदिन उनले आग्रह गरिन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रमुख कोष नियन्त्रक किसोरकुमार श्रेष्ठ, सहायक प्रजिअ नवराज बराल, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजाल र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ सहितका पत्रकारले आफ्नो धारणा राखेका थिए । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षता, सहायक निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिवक्ता पुर्णप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





