बागलुङ/नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं. २ मा पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बिहीबार बसेको पार्टी कमिटि बैठकले टंक कार्कीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटिको सह–संयोजकमा रामबहादुर थापा रहेका छन् । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा निर्वाचन परिचालन कमिटी सदस्य बुलबहादुर केसी, एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री र नेकपा एमाले पूर्व वडा कमिटी अध्यक्ष होम बहादुर थापाले मन्तव्य राखेका थिए ।
त्यस्तै नेकपा एमालेले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन अपिल गरेको छ । अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको प्रतिस्पर्धा भएको बताउँदै मुलुकको समृद्धि र विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा पार्टीले जोड दिएको छ ।





