पोखरा/८३ वर्षीय चित्रबहादुर केसी यसपटक चुनावी मैदानमा छैनन । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसी आफ्नै शैलीको प्रस्तुतिका कारण राष्ट्रिय राजनीतिको चर्चामा रहने व्यक्ति हुन् । बागलुङ १ लाई आधार बनाएर संसदीय निर्वाचनमा होमिने केसी यसपटक भने समानुपातिकतर्फ खस–आर्य क्लष्टरको १ नम्बरमा बसेका छन ।
२०७९ को निर्वाचनमा कांग्रेससहितको गठबन्धनबाट विजयी भएका केसीले त्यसअघिका चुनावमा भने कांग्रेसलाई नै हराएर सांसद बनेका थिए ।२०५६, २०६४ मा तत्कालीन बागलुङ २ तथा २०७० मा समानुपातिक, २०७९ मा निर्वाचित भएर केसीको संसदीय राजनीति अघि नै बढिरह्यो ।
संघीयताको विरोध गर्ने जनमोर्चाबाट उनै केसीका उत्तराधिकारी बनेर यसपटक मैदानमा छन्– कृष्ण अधिकारी ।
सबै दल एक्लाएक्लै चुनावमा होमिँदा बागलुङमा भने नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चाबीच तालमेल छ । जनमोर्चाको प्रभाव रहेको क्षेत्र १ मा नेकपाले उम्मेदवार उठाएको छैन । अधिकारीलाई सघाउने छ । नेकपा बलियो रहेको २ मा भने जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैह्रेलाई सहयोग गर्नेछ ।
केसीको विरासत धान्न मैदानमा उत्रिएका अधिकारी राजमोका पूर्वकेन्द्रीय सचिवसमेत हुन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौंबाट राजनीति सुरु गरेका अधिकारी चित्रबहादुर केसीको निजी सचिवालयमा लामो समय काम गरे । देशमा शान्ति र स्थिरता, संविधानको गतिशीलताका लागि मत माग्दै उनी उम्मेदवारसम्म पुगिरहेका छन ।सदनमा जनताका वास्तविक मुद्दालाई पु¥याउने दाबी उनको छ ।
विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका हिराबहादुर केसीलाई एमालेले तेश्रोपटक मैदानमा उतारेको छ । तेश्रोपटकमा उनी हारको ह्याट्रिकलाई जोगाउँदै जीत निकाल्न चाहन्छन् । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनेका केसी जिल्लाको पार्टी राजनीतिमा दुई कार्यकाल अध्यक्ष भइसकेका हुन् । पार्टी राजनीतिमा सफलता मिलेतापनि संसदीय चुनावमा भने उनले बाजी मार्न सकेका छैनन् ।
यसपटक पुराना दलसहित नयाँको चुनौतीबिच उनी सफल हुन चाहन्छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए । यसपटक भने आफुले जित निकाल्नेमा उनी विश्वस्त छन् र त्यही उत्साहका साथ चुनावी मैदानमा अग्रपंक्तिमा रहेका छन् ।
मतदातासँग शिर झुकाएर आशीर्वाद लिँदै केसी गाउँगाउँमा भेटघाटमा व्यस्त छन । लगातार पराजित भएतापनि यसपटक मतदाताको सहानुभूति रहेको हुँदा केसीले जित्ने एमाले कार्यकर्ता बताउँछन् ।
‘घरदैलोमा पुग्दा बुढाबुढी बाआमादेखि युवासम्म सवै हिराको पछि लागेका छन्,’ एमाले निर्वाचन परिचालन समितिका सदस्य सचिव गणेश थापा भन्छन्, ‘यसपटक साँच्चिकै हिराप्रति जनस्तरमा नै माहोल सिर्जना भएको छ । यो उत्साहलाई मतदानको दिनसम्म कायम राख्यौं भने अत्याधिक मतसहित विजयी हुनेछौं ।’
कांग्रेसका भीम श्रीष पनि विद्यार्थी राजनीतिबाट उदाएका हुन । त्रिभुवन विश्वविद्यालयमा २०६२ सालमा स्ववियु सभापति बनेका थापा जैमिनी नगरपालिका १० राङ्खानीका हुन ।
त्रिविको स्ववियुमा उनी चार पटकसम्म रहे । जुनसुकै निर्वाचनमा ‘म्यान अफ दी इलेक्सन’ भए । दुई कार्यकाल सदस्य, उपसभापति र सभापति बन्दा नेविसंघको तर्फबाट एक्लै निर्वाचन जित्ने र प्यानल भन्दा सयौं मत बढी ल्याएर जित्ने नेताको रुपमा चिनिन्छन् ।
उनी कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्रिकेट संघ क्यानका केन्द्रीय रेफ्रीसमेत रहेका श्रीष स्ववियु सभापति भएकै बेला कीर्तिपुरमा क्रिकेट रंगाशाला बनेको हो ।
नेपाली कांग्रेस फेरिएको, परिस्कृत बनेको नवीन सोचका साथ अघि बढेको भन्दै उनी मतदातासामु पुगिरहेका छन् । कांग्रेसलाई पहिलो पार्टी बनाएर देशलाई स्थिरतातर्फ लैजान र मुलुकको समृद्धिको लागि मतदान गर्न उनको आग्रह छ ।
बागलुङ १ मा रास्वपाबाट राजेन्द्र शर्मा उमेदवार बन्न चाहन्थे । तर, पार्टीले सुशील खड्कालाई उमेदवार बनाएपछि उनी उज्यालो नेपाल पार्टीको टिकट लिएर पनि रास्वपामा नै क्रियाशिल छन् ।
रास्वपामा असन्तुष्टि देखिएतापनि उमेदवार बनेका खड्का भने मतदातासामु पुगिरहेका छन । अघिल्लोपटक तेश्रो बनेको रास्वपा यसपटक भने जीत निकाल्न चाहन्छ । खड्का अमेरिकामा इन्जिनियरिङ पढेर फर्किएका हुन् । बागलुङ नगरपालिका–३ गुठी निवासी खड्का राजनीतिमा नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा उत्रेका हुन् ।
रास्वपाबाट समानुपातिक सूचीमा रहेका कलाकार प्रकाश सपूत पनि खड्कासँगै घरदैलोमा छन् ।परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता लिएर उनी मतदातासामु पुगिरहेका छन् ।
भ्रष्टाचार, कुशासन र कुरीति रहित पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि रास्वपालाई मतदान गर्न उनको आग्रह छ ।
यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले कल्याण विक्रम आचार्यलाई अघि सारेको छ ।
नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।
बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । ४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट उमेदवार बनेको चित्रबहादुर केसीले २१ हजार ४६४ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८४५ मत ल्याएका थिए ।
रास्वपाका खिमानन्द कँडेलले ९ हजार १९१ मत ल्याउँदा अन्य दलले तीन अंक कटाउन सकेका थिएनन ।
समानुपातिकतर्फ यो क्षेत्रमा १६ हजार ४९३ मत ल्याउँदै पहिलो दल बनेको थियो । दोश्रोमा एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७ र जनमोर्चाले चार हजार ९८६ मत ल्याएको थियो । तत्कालीन माओवादी केन्द्रले दुई हजार ८५७, राप्रपाले एकहजार २९ र नेकपा एसले ४८२ मत ल्याएको थियो ।





