बागलुङ / नेपाली कम्युनिष्ट आन्दोलनभित्र गुरु चेला भनेर चिनिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एउटै मञ्चमा देखिएका छन् । यी दुई कम्युनिष्ट हस्ती कम्युनिष्ट आन्दोलनका वारेमा छलफल गर्न नभएर संसदीय चुनावी मोर्चामा आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिन एउटै मञ्चमा खडा भएका हुन् ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बागलुङमा नेकपा र राष्ट्रिय जनमोर्चाविच चुनावी गठबन्धन छ । यी दुई पार्टीविच भएको चुनावी गठबन्धमा निर्वाचन क्षेत्र नं. १ मा राजमोका कृष्ण प्रसाद अधिकारी र क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे अनिल निर्वाचनको मैदानमा छन् । यी दुई उम्मेदवारलाई बिजयी गराउन दुई शिर्ष नेता मोहनविक्रम र प्रचण्ड एकसाथ मञ्चमा सहभागी भए र चुनावी प्रशिक्षण चलाए ।
कार्यक्रममा यी दुवै नेताले अहिलेको चुनावी मोर्चा ऐतिहासिक भएको बताउदै यसले राजनैतिक एकताको सन्देश दिएको बताए । उनीहरुले दुई पार्टीको विचमा बागलुङमा पहिलोपटक भएको ऐतिहासिक चुनावी मोर्चामा हार्ने छुट नभएको बताउदै गठबन्धनका दुवै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशनमा दिए । प्रचण्डले क्षेत्र नं. १ मा आफ्ना कार्यकर्तालाई गिलासमा मतदान गर्न निर्देशन दिए भने मोहनविक्रमले क्षेत्र नं. २ मा तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै सवैलाई भोट मागे ।

प्रचण्डले गिलास चिन्हमा भोट माग्दै राजमोका अधिकारीलाई बिजयी गराउन आग्रह गरे भने मोहनविक्रमले तारा चिन्हमा भोट माग्दै अनिललाई जिताउन भने । कार्यक्रममा प्रचण्डले यो चुनावी एकता मात्रै नभएर राष्ट्रिय रुपमा कम्युनिष्ट एकताको सकारात्मक सन्देश भएको बताए । उनले जेन्जी आन्दोलन पवित्र उदेश्य लिएर गरिएको भएपनि २४ गतेको आन्दोलन विदेशी तत्वबाट हाइज्याक भएको आरोप लगाए । प्रचण्डले ढिलोचाडो नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेको बताए ।
जेन्जी आन्दोलनका कारण मुलुक निर्वाचनमा गएको बताउदै प्रचण्डले निर्वाचनको समय तालिकामा शंका नगर्न आग्रह गरे । तोकिएकै मितिमा निर्वाचन हुने बताउदै प्रचण्डले निर्वाचन नजिकिदै गर्दा नेपाली कम्युनिष्ट पार्टीमा जनलहर सृजना भइरहेको दावी गरे । उनले भने ‘निर्वाचनको परिणाम जनताले चाहेजस्तो हुन्छ, प्रतिकृयावादीले चाहे जस्तो हुन नेपाली जनताले दिदैनन् ।’

कार्यक्रममा महामन्त्री सिंहले बर्तमान राजनैतिक संकट टार्न निर्वाचनमा गएको उल्लेख गर्दै युवाहरुको आन्दोलन पवित्र भएपनि आन्दोलनमा घुसपैठ भएको आरोप लगाए । नेपाललाई अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको बताउँदै उनले नेपालको भविश्य जोगाउन कम्युनिष्टहरु एक हुन आवश्यक रहेकोमा जोड दिए । राष्ट्रियताको रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको उनको जिकिर थियो ।
सो अवसरमा राजमो र नेकपाका बागलुङ क्षेत्र नं. १ का साझा वाम उम्मेदवार कृष्ण प्रसाद अधिकारीको निर्वाचन प्रतिवद्धतापत्र मोहनविक्रम र प्रचण्डले संयुक्त रुपमा सार्वजनिक गरे । कार्यक्रममा साझा वाम उम्मेदवार अधिकारीले आफनो निर्वाचन प्रतिवद्धता पत्रको बारेमा बताउदै भोट मागे । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ को अध्यक्षता र राजमो बागलुङका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाको संचालनमा सम्पन्न भएको थियो ।






