पोखरा/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ को चुनावबाट आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी दोहो¥याएका छन् ।
हिजो हामीलाई हेपेर कही पनि जित्दैन भन्नेहरु आज ४ दलबीच कडा प्रतिस्पर्धा भइरहेको सबैले स्वीकारेको उनको भनाई थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिँदै प्रचण्डले भने, ‘अबको १५ दिनमा नेकपाले टप्यो भन्ने दिन आउँदैछ । त्यसपछि चुनावममा हामी नै पहिलो दल बन्नेवाला छौ,’ पोखरामा बुधबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।
पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको र त्यसलाई केहीले महत्वाकांक्षी भने पनि त्यो समाजवादतर्फको यात्रा तय गर्नका निम्ति भएको उनको भनाई थियो । ‘हामी हिजोका ठाउँमा छैनौँ, नयाँ ठाउँमा आइसक्यौँ,’ उनले भने, ‘समाजको तल्लो वर्गका आवाज उठाउँदै समाजवादी यात्रा तय गर्ने दिशामा अगाडि बढीसक्यौँ ।’ नेकपाले मंगलबारमात्र सार्वजनिक गरेको घोषणापत्रले भ्रष्टाचार, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई समेटेको उनले बताए ।
देशभर नेकपाको माहौल बनेको जिकिर गर्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न चाहिँ सिकाउन उनले कार्यकर्तालाई निर्देशन दिए । सूर्यभन्दा कति हो कति माथि हुन्छ तारा, त्यो लिइसक्यौँ भन्दै प्रचण्डले जीतका निम्ति योपटक पार्टीले ठूला सभा सम्मेलन गर्नका निम्ति पैसा खर्च नगर्ने बरु घरघर र टोलटोलमा गएर आफ्ना कुरा भन्ने तथा सूचना प्रविधिको प्रयोगलाई बढी जोड दिने प्रचार रणनीति तय गरिएको पनि बताए । ‘ठूला सम्मेलन सभा गरेर, लाखौँ खर्च गरेर भोट पाउने जमाना गयो । टोल–टोल र घरघरमा गएर आफ्नो कुरा बताउनुहोला,’ उनले भने, ‘आईटीमा हामी बुर्जुवा र साम्राज्यवादीसँग प्रतिस्पर्धा गर्न त सक्दैनौँ तर मिसइन्फर्मेसनलाई काउन्टर गर्ने र आफ्ना राम्रा कुरा पोष्ट र शेयर गर्न नछाड्नुहोला। खाली बसेर भएन, पोस्ट गरिराख्नुप¥यो ।’
उनले पार्टीले डिजिटल प्रचारका निम्ति पेरिसडाँडामा टिम नै तयार गरेको र हिजो सभा सम्मेलनमा गरिने खर्च अहिले सूचना प्रविधिमा लगाएको पनि बताए ।
नेकपा र नेतृत्वको सहजीकरणले अहिलेको निर्वाचन संभव भएको उनको दावी थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा विध्वंसबाट उत्पन्न असहज र असाधारण परिस्थितका कारण बाध्यात्मक निर्वाचन रहेको उनको भनाई थियो । ‘असहज परिस्थितिको निकास जनतामा गएर मात्र हुनसक्छ भनेर हामीले सहजीकरण, अपिल र अडान लिएका हौ’, उनले भने, ‘राजनीतिक दल, नागरिक समाज र जनता सबै निर्वाचन प्रक्रियामा सामेल भएकाले अहिलेको निर्वाचन संभव भएको हो ।’ उनले अहिले पनि कतिपयनिर्वाचन सार्न पाए हुन्थ्यो भन्ने पनि रहेका तर, सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग, राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिका कुरा सुन्दा निर्वाचन सर्ने कुराको द्विविधामा नपरी पुरा तागतका साथ निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।
नेकपाले १६४ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार चुनावी मैदानमा उतारेको प्रसंग निकाल्दै निर्वाचनमा कसैसंग पनि तालमेल र समीकरण नहुने उनले बताए । अहिले नयाँ र पुराना पार्टी भन्ने गरिएको प्रसंगमा प्रचण्डले कात्तिक १९ मा स्थापना भएको नेकपा नै सबैभन्दा नयाँ, बिचार, एजेन्डा, भिजन र मिसन भएको नयाँ पार्टी रहेको बताए ।
नेकपा संयोजक प्रचण्डले बुधबार नै पर्वत, म्याग्दी र बागलुङका पार्टी कार्यकर्तालाई निर्वाचनबारे प्रशिक्षण दिएका थिए ।





