पोखरा/ नेपाली कांग्रेसका नेता रामजी पौडेल (बादल) को हत्यामा दोषी ठहरिएका रविन केसी कास्की कारागार चलान भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएकोे केसीलाई कास्की प्रहरीले बुधवार पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो ।
कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीका अनुसार बुधवार साँझ पक्राउ परेका केसीलाई विहीबार जिल्ला अदालत कास्कीमा बुझाइएको र त्यसपछि कास्की कारागार चलान गरिएको हो । सर्वोच्च अदालतले बादल हत्यामा संलग्न केसीसहित ४ जनालाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
२०७२ साउन २८ गतेको राती साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीचको आन्तरिक विवादमा रामजी पौडेलको हत्या भएको थियो । तत्कालीन समयमा नेपाल तरुण दलका केन्द्रीय सदस्य रहेका पौडेललाई योजनाबद्ध रूपमा हत्या गरिएको अदालतको ठहर छ । न्यायाधीशद्वय डाक्टर कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले १७ चैत २०८१ मा केसीसहित प्रकाश गुरुङ, विश्वास गौतम र राजु रानाभाटलाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने फैसला गरेको थियो । सर्वोच्चले उच्च अदालत पोखराको यसअघिको फैसलालाई आंशिक उल्ट्याउँदै यो हत्या ‘योजनाबद्ध र संगठित’ भएको तथा संवेदनशील अंगमा प्रहार गरी शव लुकाउन खोजिएको उल्लेख गरेको छ ।
तत्कालीन समयमा कांग्रेसको आन्तरिक गुटबन्दी र क्षेत्रीय अधिवेशनका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा बादलको ज्यान गएको थियो । हत्यापछि लामो समयसम्म पोखरा र लेखनाथ क्षेत्र तनावग्रस्त बनेको थियो भने पीडित परिवारले न्यायका लागि लामो कानुनी लडाइँ लडेका थिए । जिल्ला अदालतले सुरुमा दोषी ठहर गरे पनि उच्च अदालतले कतिपय अभियुक्तलाई कम सजाय र सफाइ दिएको थियो । केसी पक्राउ परेसँगै अन्य दोषीहरूको खोजी कार्य र कानुनी प्रक्रियालाई थप तीव्र पारिएको प्रहरीले जनाएको छ ।





