पोखरा/ पोखरा महानगरपालिकाले विहीबार साँझदेखि फोहोर संकलन हुने जनाएको छ । फोहोर संकलनका लागि महानगरको गाडी आउने र गाडी नआउँदासम्म धैर्यतासाथ पर्खन महानगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् ।
शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहरमैला उठाइने र आइतबारपछि जथाभावी सार्वजनिक स्थानमा फोहर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । ‘सिसी क्यामेराबाट पहिचान भएको अवस्थामा पनि न्यूनतम ५,००० देखि अधिकतम १,००,००० सम्म जरिवाना तिर्नु पर्नेछ’, उनले लेखेका छन्, ‘जरिवाना तिर्ने व्यक्तिको नाम राष्ट्रिय पत्रिका तथा महानगरको पेज र वेबसाइटमा समेत प्रकाशन गरिनेछ ।’ महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको उनको भनाई छ ।
धेरै दिनदेखि सङ्कलन भएको फोहर भएकाले सुरुका १/२ दिन केही बढी चाप हुन सक्ने भएकाले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विसर्जन नगर्न उनले अनुरोध गरेका छन् । फोहर सङ्कलन गाडीको रुट र समयतालिका पुनः प्रकाशन गरिने भन्दै उनले नगरवासीसमक्ष सहयोगको अपेक्षा पनि गरेका छन ।
पछिल्लो समय विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर तत्कालका लागि अल्पकालीन व्यवस्थापन गर्न लागिएको हो । फोहोर व्यवस्थापन भइरहेको लामेआहाल ल्याण्डफिल साइड भरिएपछि फोहोर व्यवस्थापनका लागि दर्जनौँ सम्भावित स्थानहरूको खोजी गरिए पनि विभिन्न कारणले टुङ्गोमा पुग्न नसकेको महानगरले जनाएको छ ।





