बागलुङ /बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मंचमा बसेर जिल्लाको बिकासको मार्गचित्र बताएका छन् । उनीहरुले बिकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिवद्दता जनाए । बागलुङ जेसीजले मंगलवार आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम मार्फत उनीहरुले आफ्नो दलको एजेण्डा र आँफूले गर्ने काम बारे पनि बताएका हुन् । उनीहरुले जेनजी आन्दोलन पछिको परिवर्तनलाई पनि स्विकारेर काम गर्ने बताए ।
नेपाली कांग्रेसका उमेदवार भीमबहादुर श्रीषले प्रोजेक्ट गर्भनेन्स मार्फत सुशासन, आइटी दशक मार्फत रोजगारी सिर्जना र पर्यटन सर्किट बनाउने बताए । उनले किसानको समस्या समाधानकालागि बाँदर नियन्त्रण योजना र दलीतले उत्पादन गरेको दूध लगायतको बस्तुको बजारीकरणमा समेत काम गर्ने बताए । त्रिभूवन विश्व विद्यालयको पूर्व स्ववियु सभापति रहेका श्रीषले नीति निर्माण र बिकासका योजनामा समान रुपमा अगुवाई गर्ने प्रतिवद्दता जनाए ।
नेकपा (एमाले)का नेता हिराबहादुर केसीले सुशासन र स्थानीय बिकास मार्फत समृद्दिको बाटोमा हिडाउने बताए । उनले राष्ट्रियताको पक्षमा अडिग रहने, जनताको सुखदुःखमा साथ दिने समेत धारणा राखे । धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति भएदेखिनै समाज र देश परिवर्तनको काममा लागेकोले निर्वाचन जित्दा र हार्दापनि निरन्तर नागरिकको काममै लागेको उनको धारणा थियो । अहिले पनि जिल्लाको बिकासको एजेण्डामा अगुवाई गरेरै जान तयार रहेको उनले बताए ।

रास्वपाका नेता सुशिल खड्काले हरित बिकास मार्फत रोजगारी सिर्जना गर्ने प्रतिवद्दता जनाए । उनले यस अघि गरेको हिमाल सफाइको अभियान र वातावरणको क्षेत्रमा पनि युवालाई रोजगारी दिने, अलपत्र बिकासलाई गति दिन अगुवाई गर्ने बताए । उनले पुराना दलले काम नगरेकोले भ्रष्टाचार बढेको समेत टिप्पणी गरे ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवार कृष्ण अधिकारीले सुशासनका लागि निगरानी नै पहिलो जिम्मेवारी बन्ने बताए । राप्रपाका कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाकालागि अगुवाई गर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले जनयुद्दका लक्ष्य पुरा गर्ने काममा लाग्ने बताए । उनले कृषी विग्रेड बनाउने कुरामा जोड दिए ।
प्रगतीशिल लोकतान्त्रिक पार्टीका नेता चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्द गर्ने र बिकास र सुशासनमा काम गर्ने बताए । मानवताबादी पार्टीका नेता भक्तबहादुर बिकले न्यायका लागि लड्ने बताए ।
बागलुङ जेसीजले आयोजना गरेको कार्यक्रममा स्थानीयले एउटै मंचमा बसेर सबै दलका नेतालाई प्रश्नसोध्ने मौका पनि पाएका थिए । लामो कसरतपछि जेसीजले यो कार्यक्रम गरेको अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् । कार्यक्रम धौलागिरी एफएमका सम्पादक ताराप्रसाद शर्माको संचालन र उपाध्यक्ष स्विकृति भारीको स्वागतमा सम्पन्न भएको थियो ।





