शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रुपान्तरणका लागि यस्ता छन् रास्वपाका सय आधार (पूर्णपाठ)

रुपान्तरणका लागि यस्ता छन् रास्वपाका सय आधार (पूर्णपाठ)

२०४६ देखिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने नीति लिइएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ खर्ब डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य राखेको छ । ७ प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारी दिने सो पार्टीको महत्वाकांक्षी योजना रहेको छ । सहकारी पीडितको पैसा फिर्तादेखि विदेशमा रहेका नेपालीका लागि डलर खाता खोल्नेसम्मका योजनाहरू यसमा समेटिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले आगामी २१ गते हुने चुनावका लागि आफ्नो वाचा पत्र सार्वजनिक गर्दै देशको आर्थिक रूपान्तरणका लागि विभिन्न योजनाहरू अघि सारेको हो । थिति बसाल्ने सङ्कल्प नारा दिइएको यस वाचा पत्रमा आर्थिक वृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

वाचा पत्रको बुँदा नम्बर २१ मा आगामी ५ देखि ७ वर्षमा नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्‍याउने उल्लेख गरिएको छ । साथै, प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने भनिएको छ । यसका लागि वार्षिक औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सङ्कल्प गरिएको छ । भने, २४ वटा असान्दर्भिक ऐन खारेज गर्ने उल्लेख छ । सीमित समय र स्रोतको अधिकतम उपयोग गर्दै निजी लगानीलाई प्रोत्साहन गर्ने विषयलाई जोड दिइएको छ । १० देखि १५ वर्षभित्र नेपाललाई न्यून-आय मुलुकको श्रेणीबाट मुक्त गराउने योजना बुँदा नम्बर १९ मा समेटिएको छ ।

२०४६ देखिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने नीति लिइएको छ । सार्वजनिक पद धारण गर्नुअघि र कार्यकाल सकिएपछि सम्पत्तिको लेखा परीक्षण गराउने भनिएको छ । जनताले तिरेको करबाट तलब-भत्ता खानेहरूले दलीय आबद्धता त्याग्नुपर्ने योजना पनि अघि सारिएको छ । राजनीतिक दलहरूलाई सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने व्यवस्था समेत गर्ने भनेर उल्लेख गरिएको छ ।

बैंकिङ र वित्तीय क्षेत्रको सुधारका लागि रास्वपाले विशेष योजनाहरू अघि सारेको छ । सहकारी र लघुवित्तलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षणमा ल्याउने योजना रहेको छ । ५० करोडभन्दा बढीको कारोबार गर्ने संस्थाहरूका लागि दोस्रो तहको नियामक गठन गर्ने उल्लेख छ । नागरिकको बचत सुरक्षित गर्न एकीकृत बचत सुरक्षा कोष स्थापना गर्ने विषय समेटिएको छ । मिटरब्याज पीडितहरूको न्यायका लागि द्रुत न्याय कार्यदल गठन गर्ने वाचा राखिएको छ ।

ऋणको पासो अन्त्य गर्न ब्याजदरलाई बेस रेटसँग जोड्ने नीति लिइएको छ । पुँजी बजारको विकासका लागि बुँदा नम्बर ३३ मा नेप्से र सिडिएससीको पुनर्संरचना गर्ने उल्लेख गरिएको छ । बुँदा नम्बर ३४ मा पेन्सन फण्ड तथा बीमा कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा प्रोत्साहन गर्ने बताइएको छ ।

पारिवारिक भारको आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने पत्रमा उल्लेख छ । राजस्व अनुसन्धान विभागलाई खारेज गर्दै राजस्व न्यायाधिकरणको संरचना सुधार गर्ने भनिएको छ ।

सार्वजनिक संस्थानहरूलाई निजी-सार्वजनिक मोडल वा रणनीतिक साझेदारीमा लैजाने योजना रहेको छ । स्वदेशी तथा विदेशी लगानीका लागि वन-स्टप सेवा र डिजिटल माध्यमबाट निःशुल्क व्यवसाय दर्ताको व्यवस्था गरिएको पत्रमा उल्लेख छ ।

सूचना प्रविधिलाई रास्वपाले आर्थिक मेरुदण्डका रूपमा अगाडि सारेको छ । बुँदा नम्बर ३६ मा सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ५ अर्ब डलरको निर्यात गर्ने योजना छ । यसबाट ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

आईटी निर्यात गर्ने कम्पनीहरूलाई आयकरमा छुट दिने उल्लेख छ । स्टार्टअपका लागि अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे सहज बनाउने योजना रहेको छ । आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रास्वपाको रहेको छ । कच्चा विद्युत् मात्र निर्यात नगरी कृत्रिम बुद्धिमत्ता र कम्प्युटेसन शक्ति निर्यात गर्ने योजना छ ।

कृषिमा पारदर्शी अनुदान र आयात प्रतिस्थापन गर्ने योजना अघि सारिएको छ । आगामी ५ वर्षमा पर्यटकको संख्या र उनीहरूको खर्च दोब्बर बनाउने घोषणा गरिएको छ । नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने उल्लेख छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वाचा गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि डलर खाताको सहज व्यवस्था गरिने भएको पत्रमा उल्लेख छ । दलित तथा उत्पीडित समुदायका परिवारका सदस्यलाई वैदेशिक रोजगारीमा जाँदा सहुलियतपूर्ण ऋण दिने कुरा पनि समेटेको छ । तर, त्यसका लागि स्थानीय तहले सिफारिस गर्नुपर्नेछ ।

कर प्रणालीमा सुधार गर्दै सबै करहरूको बोझ घटाउने उल्लेख गरिएको छ । आयकरको सीमालाई पारिवारिक भारका आधारमा पुनरावलोकन गर्ने योजना अघि सारिएको छ । शिक्षा र स्वास्थ्य खर्चलाई कर योग्य आयबाट घटाउन पाउने व्यवस्था गर्ने उल्लेख छ । साथै, भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई अन्तर्राष्ट्रिय प्राज्ञहरूको सहभागितामा अध्ययन र पुनरावलोकन गरिने उल्लेख छ ।

विगतदेखि सुस्त रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई २ वर्षभित्रै सम्पन्न गर्न नतिजामुखी कार्ययोजना लागू गर्ने पत्रमा उल्लेख छ । विविधिकृत क्षेत्रका आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा थपिने पत्रमा उल्लेख छ ।

आधुनिक श्रम बजारलाई सम्बोधन गर्न रिमोट वर्क, डिजिटल रोजगारी र सीमा-पार सेवा निर्यातलाई वैधानिक मान्यता दिइनेछ । विदेशी कम्पनीमा काम गर्ने श्रमिकको भुक्तानी र कर व्यवस्थापनलाई सहज बनाउँदै डिजिटल नोम्याडहरुका लागि उपयुक्त भिसा र बसोबासको नीति ल्याउने रास्वपाको पत्रमा उल्लेख छ ।

राष्ट्रिय योजना आयोगलाई नीति शोध र तथ्याङ्कमा केन्द्रित थिङ्क ट्याङ्कको रुपमा पुनर्संरचना गर्ने कुरा पत्रमा उल्लेख छ । समग्रमा रास्वपाले देशमा अर्थतन्त्रको आकार ठूलो बनाउने, उत्पादन वृद्धि, डिजिटल र वित्तीय सुशासनलाई आफ्नो आर्थिक एजेन्डामा समावेश गरेको देखिन्छ ।

पढ्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->