पोखरा / पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
व्यवस्थापन सङ्कायबाट ३ हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट २ हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ ।
दीक्षान्त समारोहमा ६ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सँगालेकी चाँदनी जोशी मुख्य अतिथिका रूपमा सहभागी हुनेछिन् । उनी नेपाल सरकारको पूर्व सहसचिव र ‘युएन वुमन’ को दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा १८ वर्ष सेवा गरेकी प्रतिष्ठित व्यक्तित्व हुन् । २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयमा हाल ३७ हजार ५ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालयहरु (५ आंगिक, ३ संयुक्त आंगिक र ५८ सम्बन्धनप्राप्त) मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।





